माघे संक्रान्तिलाई जंगलमा वन तरुल खोज्नेकाे भिड
खोटाङ, ३० पुस/माघे संक्रान्तिका लागि खोटाङका स्थानीयवासी जंगलमा वन तरुल खाेज्न व्यस्त छन् । वन तरुल निकाल्न कुटो, कोदालो र झम्पालसहित स्थानीयकाे भिड नजिकका जंगलमा बढेकाे छ ।माघे संक्रान्तिमा घर तरुल, सखरखण्ड, इस्कुसको जरा, घिउ, चाकुलगायतका परिकार खाने प्रचलन भए पनि स्थानीयले वन तरुललाई विशेष महत्वका साथ लिने गरेको पाइन्छ । माघे संक्रान्तिका दिन ‘एक टुक्रा भए पनि वन तरुल खानुपर्छ’ भन्ने मान्यता छ । कतिपयले आफैलाई र कतिपयले बिक्रीका लागि तरुल खाेज्ने गरेका छन् ।
कुनै-कुनै घना जंगलमा पाइने वन तरुल निकाल्न निकै मिहिनेत गर्नुपर्ने हुन्छ । वन तरुलको फल जमिनको सतहबाट दुई/तीन मिटरमुनि भेटिने भएकाले गहिरो खाडल खन्नुपर्ने हुन्छ । दुई-तीन दिनअघिदेखि माघे संक्रान्तिको दिनसम्मै वन तरुल खन्ने गरेकाे र त्यसका लागि हुलका हुल स्थानीय जंगलमा पुग्ने गरेका हलेसी तुवाचुङ नगरपालिका-३ च्यास्मीटारका रहरमान राईले बताए ।
निकै मिहिनेतका साथ निकालिएको वन तरुल बिक्रीका लागि बजारमा समेत ल्याउने गरिएको छ । कतिपयले माघे संक्रान्तिभन्दा हप्ता दिनअघिदेखि नै कन्दमुल खरिद गरेर राख्ने गरेका छन् । कन्दमुलमध्ये वन तरुलको मूल्य महँगो पर्छ ।
एमाले कालीकोट अध्यक्षमा पाण्डे विजयी
सुर्खेत, ३० पुस/एमाले कालीकोटको अध्यक्षमा जसीप्रसाद पाण्डे विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी रमेशकुमार शाहीलाई ३६ मतले पराजित गर्दै पाण्डे विजयी भएका हुन् ।
नवौं जिल्ला अधिवेशनकाे शुक्रबार अन्तिम मतगणनामा पाण्डेले ३३३ मत पाएका थिए भने शाहीले २९७ मत पाएका थिए । उपाध्यक्षमा दयाराम सिंम्खडा ३८० मत ल्याएर विजयी भएका छन् भने सचिवमा टेकबहादुर बुढाले ३४४ मत ल्याएर विजयी भएका छन् भने उनका निकटम प्रतिद्वन्द्वी पार्वती सिंहले ३३२ मत ल्याइकी थिइन् ।
सहचिवमा व्यासी तिरुवा ३९० मत र मनराज शाही २६९ मत ल्याएर विजयी भएको एमाले जिल्ला निर्वाचन अधिकृत तुलाराम पाण्डेले जानकारी दिए ।


