कोशी नदी किनार झाडीमा लगानी, वार्षिक लाखौं आम्दानी

प्रकाश तिम्सिना/सुनसरी, २ माघ । केही वर्षअघिसम्म सुनसरीको वराहक्षेत्रको वडा नम्बर-९ को प्रकाशपुर र राजाबास टोलको सप्तकोशी किनारमा सिसौ झाडी थियो । मानिस सो ठाउँमा सहज आवतजावत गर्न सक्ने अवस्था थिएन । तर समय फेरियो त्यही अनुत्पादक झाडी र बलौटे भूमि यति बेला त्यहाँका किसानको गतिलो आम्दानीको श्रोत भएको छ । उनीहरूले विशेष गरी माघे सङ्क्रान्तिमा खान प्रयोग हुने तरुल फलाएर लाखौँ आम्दानी गरेका छन् ।

देशकै ठूलो सप्तकोशी नदीको किनारमा रहेको सो ठाउँको भूमि सुख्खा र चिसो छ । वर्षायाममा नदीले ल्याएर थुपारेको बलौटे माटोमा सिसौमात्र हुने आम विश्वास रहे पनि स्थानीयले भने माटो सुहाउँदो खेती गरी आम्दानी लिने गरेका छन् । उनीहरूले अहिले उक्त ठाउँमा तरुल फलाएर एक किसान बराबर २० हजार देखि २ लाखसम्म कमाएका छन् ।

तरुल रोपेपछि एक वर्षमा मात्रै उत्पादन हुन्छ । कम चिस्यानले पनि हुने र अन्य खेतीजस्तो गोडमेल गर्नु नपर्ने भएकाले पछिल्लो समय किसानहरू तरुल खेतीमा व्यावसायिक रूपमै लागिपरेका छन् । गाउँकै एक किसानले सानो क्षेत्रफलमा तरुलबाट आम्दानी गरेपछि ६ वर्षदेखि तरुल खेतीतर्फ आकर्षित भएका हुन् । सप्तकोशी नदी नजिकै घर भएका गोपाल राईको नदी किनार आसपास १० कट्ठा जग्गामा ६ वर्ष अघि सिसौ झाडी थियो । आफ्नो नम्बरी जग्गा भए पनि नदीले कटान गरेपछि वर्षायाममा बाढीले बालुवा थुपार्ने गर्दथ्यो ।

उक्त सिसौ झाडी र बालुवा थुप्रेको जमिन उनका लागि गतिलो आम्दानीको स्रोत भएको छ । ६ वर्षअघि तरुल खेती सुरु गरेका राई अहिले लाखौँ आम्दानी लिन सक्ने भएका छन् । खनजोत गर्नु नपर्ने, जङ्गली जनावरले पनि नखाने भएकाले उनले तरुल खेती सुरु गरेका हुन् । पहिलो वर्ष ४ हजारको बिक्री गरेका राईले यो वर्ष प्रतिकेजी ४५ रुपैंयाका दरले १ लाख २५ हजारको तरुल बिक्री गरेका छन् । उनले उत्पादन गरेको तरुल देशका विभिन्न सहर इटहरी, धरान, विराटनगर तथा काठमाडौंसम्म जाने गरेको छ । व्यापारी घरमै खरिद गर्न आउने भएकाले बिक्री गर्न कुनै समस्या नरहेको राईको भनाइ छ ।

चिसो र सुख्खा माटोमा बढी फल्ने तरुल खेतीले उनको घरव्यवहार चलाउन समेत सहज भएको छ । हजारबाट थालेको तरुल खेती अहिले लाखौँमा आएको छ । राई जस्तै सोही ठाउँका बाघवीर लिम्बु पनि तरुल खेतीमा आकर्षित छन् । उनले सुरु गरेको पाँच वर्षमा २ लाख भन्दा बढीको बिक्री गरेका छन् । अन्य बाली जस्तो गोडमेल नगर्नु पर्ने, जङ्गली जनावरले नखाने भएकाले तरुल खेती तर्फ उनी हौसिएर लागेका हुन् । उनले यो वर्ष मात्रै ६५ हजारको बिक्री गरेको बताए ।

विशेष गरी वराहक्षेत्रको राजाबास, प्रकाशपुर, मधुबन, भोक्राहा नरसिंह गाउँपालिका लगायतका स्थानमा तरुल खेती हुने गरेको छ । उक्त ठाउँका दुई सय बढी घरपरिवारले अहिले तरुल खेती गर्दै आएका छन् । कोशी टप्पु वन्यजन्तु आरक्ष आसपास जङ्गली जनावरले धानबाली तथा अन्य बाली खाइदिने समस्या झेलेका उनीहरू तरुलले खेतीले भने उत्साह थपेको छ ।

भोक्राहा गाउँपालिका १ का कृषक राजेन्द्र मेहेताले केही वर्ष अघिसम्म धान खेती गर्दै आएको ४ कट्ठामा अहिले तरुल खेती गरेका छन् । यो वर्ष मात्रै उनले १ लाख ४० हजार बराबरको २५ क्युइन्टल बिक्री गरेका छन् ।थोरै मेहनतले राम्रो कमाई हुने देखेपछि उनले धान खेती छाडेका हुन् । मेहेताले तरुलको माग बजारमा बढी भए पनि उत्पादन कम हुन गरेको बताए । धानबाली कम हुने, तथा जङ्गली जनावर लाग्ने खेतबारीमा तरुल खेती गरे सोचे भन्दा राम्रो आम्दानी हुने भनाई छ । उनी अब थप तरुल खेती विस्तार गर्ने समेत तयारीमा छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।