वडाध्यक्षले स्थानीय चार टुहुरा बालबालिकाको अभिभावकत्व लिने
देउखुरी, ५ माघ । दाङकोे घोराही–४ का वडाध्यक्ष भीमबहादुर सार्कीले स्थानीय चार टुहुरा बालबालिकाको अभिभावकत्व लिने भएका छन् । वडाध्यक्ष सार्कीले बुबा–आमा गुमाएका चारै जनाको लालनपालन र शिक्षादिक्षाको जिम्मा आफुले लिने बताउनुभएको छ ।
घोराही–१९ राम्चेका १३ वर्षीय दीपक कामी, ११ वर्षीया शर्मिला कामी, ६ वर्षीय अशोक कामी र ११ महिनाकी सोनिया कामीले बुबा–आमा गुमाएपछि टुहुरा बनेका छन् । उनीहरुका बुबा मोहनलालको २०७७ फागुन १० गते कोइलाखानीमा काम गर्दा पुरिएर मृत्यु भएको थियो । विसं २०७८ मङ्सिरमा आमा शान्तिको पनि लडेर मृत्यु भयो । त्यसपछि चारैजना अभिभावकबिहीन बनेका थिए । हाल दीपक कक्षा ४, शर्मिला २ र अशोक कक्षा १ मा अध्ययनरत छन् । बुबा–आमाको मृत्युपछि उनीहरू नियमित विद्यालय जान पाउँदैनन् ।
बालबालिकाको दैनिकी कष्टकर बनेको थाहा पाएपछि घोराही–४ का वडाध्यक्ष सार्कीले आफ्नै लगानीमा लालनपालन र शिक्षादिक्षाको व्यवस्था गर्ने प्रतिबद्धता गर्नुभएको हो । मङ्गलबार टुहुरा बालबालिकाको घरमै पुगी उहाँले अन्न र न्यायो कपडा वितरण गर्नुभयो । बालबालिकाका काका भारतबाट फर्किएपछि घरको सल्लाहमा अभिभावकत्व लिने वडाध्यक्ष सार्कीले बताउनुभयो । “बालबालिकाको भविष्य अँध्यारो नहोस् भनेर घरमै राखेर पढाउने सोच बनाएको छु”, उहाँले भन्नुुभयो । चारै बालबालिकाको हाल सानीआमा चन्द्रकली विकले आफ्नै घरमा स्याहार गर्दै आउनुभएको छ ।
यो पनि पढ्नुहोस..चितवन, भरतपुर महानगरपालिकाले महानगर क्षेत्रभित्र रहेका विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । महानगरपालिकाले‘बालबालिकासँग मेयर कार्यक्रम’मार्फत न्यानो कपडा वितरण गरेको हो । बाल विकासदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो । कोभिड–१९ सङ्क्रमणको जोखिम बढेपछि विद्यार्थीको भौतिक उपस्थितिमा नभई विद्यालयमार्फत विद्यार्थीलाई दिने गरी न्यानो कपडा वितरण गरिएको हो । महानगर प्रमुख रेनु दाहालले आर्थिक अवस्था कमजोर भएका विद्यार्थी जाडो भएकै कारण विद्यालयबाट बञ्चित हुन नपरोस् भनेर तीन वर्षदेखि उक्त कार्यक्रम अघि बढाइएको बताउनुभयो ।
राप्ती र नारायणी नदी किनारमा रहेका बालबालिकालाई लक्षित गरी कार्यक्रम गरिएको र यसले सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्न थालेको उहाँको भनाइ छ । सङ्घीय सरकारको दिवाखाजा कार्यक्रम र महागरले न्यानो कपडा दिएपछि शिक्षा हासिल गर्न बालबालिकालाई सजिलो भएको दाहालको भनाइ छ । पाँच वर्षमा सामुदायिक विद्यालयमा १० हजार नयाँ विद्यार्थी सङ्ख्या थप्ने महानगरको लक्ष्य छ । हालसम्म ६ हजार नयाँ विद्यार्थी थपिएका छन् । शिक्षामा बजेट अभाव हुन नदिएको र ऐन–नियम बनाएर सामुदायिक शिक्षा सुधारमा काम गरिरहेको दाहालले बताउनुभयो ।
महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्र पौडेलले रु १२ लाख बजेट विनियोजन गरेर बोलपत्र आह्वान गरी न्यानो कपडा वितरण गरिएको जानकारी दिनुभयो । महानगरका १० आधारभूत विद्यालय छनोट गरी त्यहाँ अध्ययनरत एक हजार २२० विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो । कोरोनाको जोखिमका कारण ती विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई संयुक्तरूपमा न्यानो कपडा हस्तान्तरण गरिएको छ । विद्यालयले महानगरमा पेश गरेको तथ्याङ्क र नामका आधारमा विद्यार्थीलाई न्यानो कपडा प्रदान गरिनेछ ।


