सङ्क्रमण तीव्र, स्वास्थ्यसेवा प्रभावित

नारायण अधिकारी,चितवन, ५ माघ । जिल्लाका अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक स्वास्थ्यकर्मीमा कोरोनाको सङ्क्रमण तीव्र बढेपछि सेवा प्रभावित हुँदै गएको छ । जिल्लाका चार ठूला अस्पतालमा १५० भन्दा बढी चिकित्सक स्वास्थयकर्मी सङ्क्रमित भइसकेका छन् । पालिकामा कार्यरत स्वास्थ्यकर्मी धेरै सङ्ख्यामा सङ्क्रमित भएपछि खोपलगायतका स्वास्थ्य सेवा प्रभावित हुँदै गएका हुन् । सङ्क्रमण भएर आठौं दिनमा कार्यालयमा काम गर्दै गर्नुभएका स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारी स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी सङ्क्रमित हुने दर बढ्दै गएको जनाउँदै खोप सेवा प्रभावित हुनसक्ने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “सङ्क्रमित हुने क्रम बढ्यो, नियमित सेवासँगै खोपमा काम गर्ने जनशक्ति अभाव हुन थालेको छ ।” इच्छाकामना गाउँपालिकामा कार्यरत अधिकांश स्वास्थ्यकर्मी सङ्क्रमितसँगै लक्षणदेखिएको जानकारी आफूले प्राप्त गरेको उहाँले बताउनुभयो । भरतपुरको आधारभूत स्वास्थ्य केन्द्र तोरीखेतमा रहेका दुई जनामध्ये दुवै सङ्क्रमित छन् ।
सबै पालिकाका धेरै स्वास्थ्यकर्मी सङ्क्रमित भएको प्रमुख तिवारीले बताउनुभयो । उहाँले भन्नुभयो,“यही दरमा सङ्क्रमण फैलिँदै गयो भने स्वास्थ्य सेवा प्रभावित हुन्छ ।”
जिल्लाको ठूला चार अस्पताल भरतपुर, बिपी कोइराला मेमोरियल क्यान्सर, चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेसमा कार्यरत १५० भन्दा बढी चिकित्सक स्वास्थ्यकर्मी सङ्क्रमित भएका छन् ।

भरतपुर अस्पतालमा मेडिकल सुपरिटेण्डेण्ट प्राडा कृष्णप्रसाद पौडेलसहित ४५सङ्क्रमित भएका छन् । अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले यस्तै अवस्था रहेमा नियमित सेवा सञ्चालन गर्न कठिन हुने बताउनुभयो । प्रयोगशाला, फार्मेसीलगायतका विभाग धेरै सङ्क्रमित भएपछि समय तालिका मिलाउन कठिन भएको उहाँको भनाइ छ ।
अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारी यही ढङ्गले सङ्क्रमित बढ्दै गयो भने सामान्य अवस्थाका सङ्क्रमित चिकित्सक स्वास्थ्यकर्मीले सङ्क्रमित बिरामीलाई उपचार गर्नुपर्ने अवस्था आउने बताउनुहुन्छ । उहाँले भन्नुभयो,“सबै सङ्क्रमित भए भने गर्न सक्नेले उपचार त गर्नै प¥यो नि ।”बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ४८ चिकित्सक स्वास्थ्यकर्मी सङ्क्रमित छन् । अस्पतालका सूचना अधिकारी गिरिनारायण महतोले यस पटक चिकित्सक स्वास्थ्यकर्मीमा सङ्क्रमण धेरै फैलिएको बताउनुभयो । यही गतिमा सङ्क्रमण फैलिएमा अस्पतालका नियमित सेवाको व्यवस्थापन कठिन हुनसक्ने उहाँको भनाइ छ ।

चितवन मेडिकल कलेजमा ३५ चिकित्सक, स्वास्थ्यकर्मी सङ्क्रमित भइसकेका छन् । अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिश्चन्द्र न्यौपानेले अस्पतालका चिकित्सक स्वास्थ्यकर्मी आधा सङ्क्रमित भइसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “सामान्य लक्षण भएर चिकित्सक स्वास्थ्यकर्मी काम गरिरहेका छन् । परीक्षण ग¥यो भने उनीहरुलाई पनि सङ्क्रमण देखिन सक्छ ।” यस्तै अवस्था रहेमा सङ्क्रमितले सङ्क्रमितको उपचार गर्नुको विकल्प नहुने उहाँको भनाइ छ । छोटो समयमै निको भएकाले ठूलो जटिल अवस्था नआउनेमा आफूहरु ढुक्क रहेको न्यौपाने बताउनुहुन्छ । कलेज अफ मेडिकल साइन्सेसमा २० जना चिकित्सक स्वास्थ्यकर्मी सङ्क्रमित भइसकेका छन् । दैनिक यो सङ्ख्या बढ्दो छ । जिल्लामा चिकित्सक स्वास्थ्यकर्मीको सङ्क्रमित एकीन सङ्ख्या आइसकेको छैन ।

निजी अन्य अस्पतालमा कार्यरत चिकित्सक स्वास्थ्यकर्मी सङ्क्रमित हुने सङ्ख्या पनि ठूलो रहेको बताइन्छ । परीक्षण गर्न जाने अधिकांशलाई सङ्क्रमण देखिन थालेको छ । जटिल अवस्था नभएका कारण अस्पतालमा भर्ना हुनेको सङ्ख्या भने कम छ । आजसम्म विभिन्न अस्पतालमा ४० जना सङ्क्रमित भर्ना भएका छन् ।जिल्लामा सङ्क्रमितको सङ्ख्या एक हजार १२७ पुगेको छ । अन्य बाँकी घरकै आइसोलेशनमा रहेका छन् । प्रमुख जिल्ला अधिकारी आश्मान तामाङले उच्च सावधानी अपनाएर स्वास्थ्य परीक्षणलगायतका काममा जुट्न चिकित्सक स्वास्थ्यकर्मीलाई आग्रह गरिएको बताउनुभयो । पछिल्लो समय स्वास्थ्यकर्मी चिकित्सक सङ्क्रमण हुने क्रम बढेको उहाँको भनाइ छ । हालसम्म सेवा भने अवरुद्ध नभएको उहाँको भनाइ छ । उहाँले प्रशासनले जारी गरेको आदेशलाई पालना गर्न आग्रह गर्दै सबै आ–आफ्नो ठाउँबाट सुरक्षित रहनुपर्ने बताउनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।