प्रदेश १ बासीले रुचाए किरात नाम
शान्तिराज राई,विराटनगर । दुईतिहाई बहुमतका साथ सोमबार प्रदेश–२ सरकारले राजधानी र नामाकरण टुङ्गो लगाएसँगै प्रदेश–१ को प्रदेश सभामाथि दबाब बढेको छ। नामाकरणको बढ्दो चर्चासँगै प्रदेश–१ को नाम किरात हुनुपर्नेमा धेरैले इच्छा व्यक्त गरेका छन्।
अजय बस्तोलाले गरेको अनलाइन मतदान (poll)मा प्रायःले किरातको पक्षमा मत दिएका छन्। प्रदेशको नयाँ नामबारे प्रदेश–१ का स्थानीयहरूले आफ्नो धारणा व्यक्त गरेका छन्।
उनले किरात, सगरमाथा, लिम्बुवान र कोशीको नाम राखेर अनलाइन मतदान गराएका थिए। दोस्रोमा सगरमाथा रूचाइएको छ। किरातले २५ सय ९९ ल्याउदा सगरमाथाले ९५५ मत लिम्बुवानले २४० र कोशिले १९ मत प्राप्त गर्यो। प्रदेशको नामकरणको सवालमा हाल किरात, सगरमाथा, लिम्बुवान र कोशी नाम सर्वाधिक चर्चामा छन्।
मुख्यमन्त्री राजेन्द्रकुमार राईले २० माघभित्र बस्ने भनिएको प्रदेशसभाको हिउँदे अधिवेशनमा सहमति जुटाएर नामाकरणको विषय छिनोफानो गर्ने तयारी रहेको बताए।



