इलाममा वृद्धा हत्या आरोपमा ३२ वर्षीय युवक पक्राउ
इलाम। इलाम नगरपालिका–१२ बान्द्रेस्थित खोल्सीमा मृत फेला परेकी ६६ वर्षीया जितमती लिम्बुको हत्या घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा इलाम नगरपालिका–११ निवासी ३२ वर्षीय त्रिभुवन भुजेल रहेका छन्।
गत असोज २१ गते साँझ जितमती खोल्सीमा मृत अवस्थामा फेला परेकी थिइन्। प्रारम्भिक अनुसन्धानका क्रममा उनको कानमा चोट देखिएको थियो भने कानमा लगाएको सुनको माडवारी र प्रयोग गर्दै आएको मोबाइल फोनसमेत हराएको पाइएको थियो।
घटनास्थलबाट करिब एक सय मिटर टाढा मोबाइलको खोल फेला परेपछि प्रहरीले घटनालाई शङ्कास्पद मानेर अनुसन्धान अघि बढाएको थियो।
प्रहरीका अनुसार अनुसन्धानका क्रममा भुजेलको संलग्नता खुलेको हो। घटनापछि फरार भएका उनी भारतको मिरिकमा लुकिछिपी बस्दै आएका थिए।
तिहार मनाउन नेपाल फर्कने क्रममा उनलाई गत कात्तिक २० गते राति सूर्योदय नगरपालिका–२ स्थित फाटकको भित्री जङ्गलको बाटोबाट प्रहरीले पक्राउ गरेको हो।
पक्राउ परेका भुजेलविरुद्ध कात्तिक २० गतेदेखि लागू हुने गरी १० दिनको म्याद थप गरिएको छ। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


