निगमले आइओसीलाई पठायो १३ अर्ब
काठमाडौँ, १० माघ । सञ्चित बचत शून्यमा झरेपछि अप्ठ्यारोमा पुगेको नेपाल आयल निगमले सरकारसँग पैसा मागेर इन्डियन आयल कर्पोरेसन (आइओसी) लाई रु १३ अर्ब बढी भुक्तानी गरेको छ । निगमले मूल्य स्थिरीकरण कोषबाट रु एक अर्ब ८० करोड लिएर जनवरी महिनाको दोस्रो किस्तावापतको रकम आइओसीलाई भुक्तानी गरेको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो । निगमले आज आइओसीलाई रु १३ अर्ब २० करोड पठाएको छ । सञ्चित बचत शून्यमा पुगेसँगै आइओसीलाई तिर्नुपर्नेमध्ये रु एक अर्ब ८० करोड अपुग भएपछि निगमले उक्त रकम उपलब्ध गराइदिन सरकारसँग आग्रह गरेको थियो । मूल्य स्थिरीकरण कोष सञ्चालक समितिको शुक्रबारको बैठकले आइओसीलाई तिर्न अपुग रु एक अर्ब ८० करोड निगमलाई उपलब्ध गराउने निर्णय गरेको थियो ।
कोष सञ्चालक समितिको अध्यक्ष वाणिज्य तथा आपूर्ति सचिव रहने व्यवस्था छ । सरकारले पेट्रोलियम पदार्थको मूल्यमा स्थिरिता कायम गर्न विसं २०७१ मा ‘पेट्रोलियम पदार्थ तथा ग्यासको मूल्य स्थिरीकरण कोष (सञ्चालन) नियमावली’ जारी गरेको थियो ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य लगातार उकालो लाग्दा निगमको घाटा पनि चुलिँदै गएको छ । पेट्रोलियम पदार्थको खरिद मूल्य बढ्दै जाँदा मूल्य समायोजन नगर्ने हो भने निगम थप घाटामा जाने जानकारको भनाइ छ । सरकारसँग पैसा मागेर जनवरी महिनाको दोस्रो किस्ता बुझाएका निगमका अधिकारी आइओसीलाई अर्को महिनाको किस्ता कसरी बुझाउने भन्ने चिन्तामा छन् । निगमले दोस्रो किस्ताबापत आइओसीलाई २३ तारिखमा रकम बुझाउनुपर्ने भएपनि आइतबार आइओसी बन्द भएका कारण एक दिन पछि भुक्तान गरेको हो । निगमले प्रत्येक अंग्रेजी महिनाको ८ र २३ तारिखमा आइओसीलाई पेट्रोलियम पदार्थ खरिद गरेबापतको रकम भुक्तानी गर्दै आएको छ ।
यो पनि पढ्नुहोस…म्याग्दी, म्याग्दीको पौराणिक स्थल पछैमा रावण पार्क (उद्यान) निर्माण शुरुआत भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उद्यन मन्त्रालयसँगको साझेदारीमा बेनी नगरपालिकाले वडा नम्बर ५ मा उद्यान निर्माण शुरु गरेको हो ।
वडा अध्यक्ष लक्ष्मण बानियाले ठेक्का पाएका निर्माण ब्यवसायी उद्यान निर्माणका लागि परिचालन भएका जानकारी दिनुभयो । “परिकल्पना भएको एक दशकपछि रावण उद्यान योजना कार्यान्वयन शुरु भएको छ,” उहाँले भन्नुभयो “रावणको मुर्ति बनाउनेसँगै पछैमा आएर प्रारम्भिक चरणको काम शुरु गरेका छन् ।” रावण उद्यान बनाउन गत भदौमा काठमाडौको धर्मा एस कास्यप जेभीले गत सोही महिनामा रु. एक करोड ७६ लाख ७७ हजार ५६३ मा ठेक्का सम्झौता गरेको थियो ।
बेनी नगरपालिकाका इञ्जिनियर बिमलरञ्जन कार्कीका अनुसार ठेक्का प्रतिस्पर्धामा सबैभन्दा कम कबोलेको धर्मा एस कास्यप जेभीसँग सम्झौता भएको हो । “पर्यटन मन्त्रालयले रु. दुई करोड ११ लाख र नगरपालिकाले रु. एक करोड १४ लाख बिनियोजन गरेर ठेक्का आव्हान गरेका थियौ,” उहाँले भन्नुभयो “पहिलो चरणमा रावणको मुर्ति, बगैचा, बिश्राम स्थल लगायतका पुर्बाधार तयार पार्न लागिएको हो ।”निर्माण कम्पनीका इञ्जिनियर सन्तोष ओझाले काठमाडौमा रावणको मुर्ति तयार पार्ने काम भैरहेको जानकारी दिनुभयो । पछैमा उद्यानका अन्य संरचना बनाउन पनि शुरु गरेको उहाँले बताउनुभयो । विसं २०७९ पुष महिनामा रावण उद्यान निर्माण गर्ने लक्ष्य राखिएको छ । चौध रोपनी क्षेत्रफलमा फैलिएको पुलह पुलत्स्य क्षेत्रको चार रोपनीमा सो उद्यान बनाउन लागएको हो । हालको मन्दिर, हवन कुण्ड, रावणको नाबी गाडेको ठाउँलाई यथावत राखेर पुर्बाधार बनाइने भएको छ ।
रामायणको पाँचौ अध्यायमा रावणको जन्म पछैमा भएको उल्लेख छ । पुलह, पुलत्स्य र भरत ऋषिले पछैमा तपस्या गरेको रामायणमा ब्याख्या गरिएको छ । विसं २०६६ मा म्याग्दी उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष प्रमोदकुमार श्रेष्ठ लगायतले धार्मिक पर्यटकलाई लक्षित गरेर बेनीमा उद्यान बनाउने योजनाको परिकल्पना गर्नुभएको थियो । पछैमा पौराणिक महत्व झल्कने किसिमको रावणको आकर्षक मुर्ति राख्ने, बगैचा निर्माण, नाबी गाडेको लगायत ठाउँको संरक्षणका लागि पुर्बाधार र दुई सय मिटर कालोपत्रे गर्ने योजना छ । विसं २०७४ देखिनै बजेट बिनियोजन गरेपनि ठाउँको बिवाद र स्रोतको अभावमा रामायण उद्यानको योजना कार्यान्वयन हुन सकेको थिएन् । मुक्तिनाथ प्रवेशद्वार गलेश्वर, पुलाचौरको पछै, जगन्नाथ र टोड्के क्षेत्रलाई समेटेर धार्मिक कोरिडोर बनाउने योजना पनि अघि सारिएको छ । समुन्द्रि सतहदेखि दुई हजार मिटरको उचाइमा अवस्थित पछैबाट धौलागिरि, अन्नपूर्ण, निलगिरि हिमशृङ्खला, सुर्योदय, बेनी बजार लगायत म्याग्दी, पर्वत र बागलुङको मनोरम दृष्य अवलोकन गर्न सकिन्छ । बेनी बजारदेखि गाडीमा तीस मिनेट यात्रा गरेपछि पछै पुग्न सकिन्छ । बेनी अर्थुङ्गे सम्मको सडक कालोपत्रे भएको छ ।


