राष्ट्रियसभा सदस्य निर्वाचन : बिहान ९ बजेदेखि मतदान
काठमाडौँ, १२ माघ । राष्ट्रियसभा सदस्य १९ रिक्त पदका लागि आज बिहान ९ बजदेखि मतदान हुँदैछ । देशका विभिन्न प्रदेशमा कायम रहेका आठ मतदानस्थल र १४ केन्द्रमा बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । शान्ति सुरक्षा, स्वास्थ्य मापदण्डलगायत निर्वाचन व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भइसकेको आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिनुभयो । मतदाता मतदानस्थल र केन्द्र तोकिएका सहरमा पुगिसक्नुभएको छ ।
प्रदेश नं १ मा पालिका प्रमुख र उपप्रमुखका लागि प्रदेश निर्वाचन कार्यालय र प्रदेशसभा सदस्यका लागि बाली संरक्षण प्रयोगशाला विराटनगर, मधेश प्रदेशमा महेन्द्रनारायण निधि भवन र बागमती प्रदेशका लागि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सभागृह मतदानस्थल तोकिएको छ । यस्तै गण्डकी प्रदेशमा प्रदेश निर्वाचन कार्यालय पोखरा, लुम्बिनी प्रदेशका लागि कर्मचारी मिलन केन्द्र दाङ, कर्णाली प्रदेशमा प्रदेश निर्वाचन कार्यालय सुर्खेत र सुदूरपश्चिम प्रदेशका लागि प्रदेशसभा भवन धनगढीमा मतदानस्थल तोकिएको छ ।
आगामी फागुन २० गते नेकपा (एमाले)का आठ, नेकपा (एकीकृत समाजवादी) का चार, नेकपा (माओवादी केन्द्र) का चार र नेपाली कांग्रेसका तीन राष्ट्रियसभा सदस्यको पदावधि सकिने भएकाले ती रिक्त स्थानका लागि निर्वाचन हुन लागेको हो । सदस्यको पदावधि समाप्त हुन ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधान छ । नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेपाल मजदुर किसान पार्टी, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार निर्वाचन प्रतिस्पर्धामा हुनुहुन्छ । निर्वाचनमा प्रदेशसभा सदस्य तथा पालिका प्रमुख र उपप्रमुख गरी दुई हजार २५ मतदाता कायम छन् । निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ तथा पालिका प्रमुख र उपप्रमुखको मतभार १८ हुनेछ । निर्वाचनबाट सात महिला, तीन दलित, दुई अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक र सात अन्य समूहका उम्मेदवार निर्वाचित हुनुहुनेछ ।
यो पनि पढ्नुहोस…काठमाडौं, माघ १२। राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनमा रहेका पाँच दल गठबन्धन नै बनाएर उत्रिएका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एस, जसपा र राष्ट्रिय जनमोर्चाले गठबन्धन कायम राख्दै एमालेको तर्फबाट रिक्त हुने सिटमा समेत भागबन्डा गरेका हुन् ।यस्तै, प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहेको नेकपा एमालेले भने सातै प्रदेशमा आफ्ना उम्मेदवार एक्लै अघि सारेको छ । राष्ट्रिय सभामा रिक्त हुने १९ पदमध्ये आठ पद एमालेका तर्फबाट रिक्त हुँदै छ । यस्तै, एकीकृत समाजवादीका चार, माओवादी केन्द्रका चार र कांग्रेसका तीन सदस्यको पदावधि पनि सोही मितिमा सकिँदै छ ।
निर्वाचन आयोगले सात महिला, तीन दलित, दुई अपांगता भएका तथा अल्पसंख्यक र सात अन्य विभिन्न समूह गरी १९ सिटका लागि निर्वाचन गराउन लागेको हो । आयोगका अनुसार निर्वाचनमा जसमध्ये नेकपा (एमाले) बाट १९ जना, नेपाली कांग्रेसबाट ६ जना, नेकपा (माओवादी केन्द्र)बाट पाँच जना, नेकपा (एकीकृत समाजवादी)बाट पाँच जना, जनता समाजवादी पार्टी, नेपालबाट दुई जना, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दुई जना, नेपाल मजदुर किसान पार्टीबाट दुई जना, लोकतान्त्रिक समाजवादी पार्टीबाट एक जना र राष्ट्रिय जनमोर्चाबाट एक जनाको उम्मेदवार बनेका छन् । गठबन्धनमा रहेका दलबीच भएको सहमतिअनुसार एमालेले जितेका आठ सिटमा कांग्रेसले तीन, जसपाले दुई, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनमोर्चाले एक÷एक सिट पाउने गरी भागबन्डा गरिसकेका छन् ।
१९ पद रिक्त हुँदा भएको भागबन्डामा कांग्रेसको भागमा ६ सिट, माओवादी केन्द्र र नेकपा एसले पाँच÷पाँच सिट तथा जसपालाई दुई र जनमोर्चालाई एक सिट परेको हो ।गठबन्धनमा रहेका दलहरूबीच भएको सहमति कार्यान्वयन भए कांग्रेसले पुरानो सिटलाई आफ्नो पक्षमा कायम राख्दै थप तीन सिट नाफामा हुनेछ । यस्तै, माओवादी केन्द्र र नेकपा एस एक÷एक सिट नाफामा हुनेछन् भने जसपा र राष्ट्रिय जनमोर्चा सबैभन्दा बढी नाफामा पर्नेछन् ।कुल ५९ सदस्यीय हुने राष्ट्रिय सभामा हाल अध्यक्षसहित एमालेका २४, उपाध्यक्षसहित माओवादीका १४, कांग्रेसका सात, एकीकृत समाजवादीका सात, जसपाका दुई, लोकतान्त्रिक समाजवादीबाट एक, स्वतन्त्र एक र मनोनीत तीन जना सदस्य छन् । सातवटै प्रदेशका आठ मतदान स्थलमा १४ वटा केन्द्र तोकिएको छ । प्रदेश १ मा दुई र अन्य प्रदेशहरूका एक÷एकवटा मतदान स्थल रहेको ।


