बागलुङमा दोस्रो लामो पुल बन्ने
बलेवा, १२ माघ ।‘सिङ्गल स्पान’ प्रविधिमा एक टापुबाट अर्को टापुमा जोड्ने नेपालकै दोस्रो लामो झोलुङ्गे पुल निर्माणको प्रक्रिया यहाँ सुरु भएको छ । बागलुङको बाङ्गेचौर र पर्वतको अदुवाबारी जोड्नेगरी कालीगण्डकीमाथि ‘सिङ्गल स्पान’ प्रविधिमा संसारकै लामो (५६७ मी लामो) पुल निर्माण गरेको ‘सस्पेन्सन ब्रिज डिभिजन’ले अर्को लामो पुल निर्माणको तयारी थालेको हो । बागलुङ नगरपालिकाको निरन्तर प्रयासपछि डिभिजनले बागलुङ नगरपालिका–४ गौरीधामदेखि पर्वतको जलजला गाउँपालिका–८ नागलीबाङ जोड्ने लामो पुल निर्माणको प्रक्रिया अघि बढाएको हो । प्रारम्भिक सम्भाव्यता अध्ययन, विस्तृत परियोजना प्रतिवेदन तथा वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयार भएपछि झोलुङ्गेपुल निर्माणका लागि बोलपत्रको प्रक्रिया सुरु भएको हो ।
कालीगण्डकीमाथि ५२४ मिटर लामो र १७२ मिटर उचाइमा बन्ने पुल प्रभावित क्षेत्रमा डिभिजनका प्राविधिकहरुको समूहले स्थलगत अध्ययन गरेको छ । “हामी पुल निर्माणका लागि ठेक्का प्रक्रियामा जाँदैछौँ, प्रभावित क्षेत्रमा विवाद रहे नरहेको र परामर्शदाताले काम गर्दा स्थलगत अवलोकन गरे÷नगरेको विषयमा जानकारी लिएका छौँ,” इञ्जिनियर टोपबहादुर बानियाँले भन्नुभयो, “यो नेपालमा ‘सिङ्गल स्पान’ प्रविधिको दोस्रो लामो पुल हो ।” प्रभावित क्षेत्रका सर्वसाधारणमा उत्साह देखिएकाले बोलपत्रको प्रक्रिया तत्काल सुरु हुने उहाँले बताउनुभयो । पुल निर्माणका लागि नेपाल सरकारले रु १२ करोड विनियोजन गरेको छ । ठेक्का लागेको दुई वर्षमा पुल तयार हुनेछ । “बागलुङमा संसारकै लामो पुल तयार हामीले नै गरेकाले यो पुल तयार गर्न समस्या हुँदैन,” बानियाँले भन्नुभयोे, “प्रविधि त्यही हो, निर्माण व्यवसायीले निर्धारित समयमा काम सक्दा समयमै पुल बन्छ ।”
यो पुल निर्माणका लागि नगरपालिकाले पहल गर्दै आएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताउनुभयो । “बजेट विनियोजन भइसकेपछि पनि काममा ढिलाइ भएकाले खबरदारी गरिरहेका थियौँ,” पौडेलले भन्नुभयो, “डिभिजनको समूहले स्थलगत अध्ययन गरेकाले अब काम छिट्टै अघि बढ्छ ।” पुल निर्माण भएपछि पर्वतको जलजला गाउँपालिकाका सर्वसाधारणलाई बागलुङ बजारको पहुँचमा ल्याउन सहज हुनेछ । नागलीबाङमा उत्पादन हुने तरकारी बागलुङ बजार ल्याउन, पञ्चकोट, शालग्राम सङ्ग्रहालय र बागलुङ कालिका लगायतका ठाउँमा पर्वतका सर्वसाधारणलाई आवतजावत गर्न र बागलुङका सर्वसाधारण पर्वत जान सहज हुने बागलुङ नगरपालिका–४ का अध्यक्ष ध्रुवबहादुर केसीले बताउनुभयो । यो पुल बनेपछि घण्टौँ लाग्ने बाटो १० मिनेटमा छोटिनेछ । पर्वतको नागलीबाङका सर्वसाधारणलाई बागलुङ आउन र बागलुङबाट जलजला गाउँपालिका जानका लागि कालीगण्डकीले बनाएको खोँचमा आवतजावत गर्नुपर्ने बाध्यता छ । बागलुङको बलेवा नारायणस्थान र पर्वत सदरमुकाम कुश्मा बजार जोड्ने गरी अर्को लामो पुलको अध्ययन भइरहेको पनि नगरप्रमुख पौडेल बताउनुहुन्छ ।
यो पनि पढ्नुहोस…काठमाडौं, माघ १२। राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनमा रहेका पाँच दल गठबन्धन नै बनाएर उत्रिएका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एस, जसपा र राष्ट्रिय जनमोर्चाले गठबन्धन कायम राख्दै एमालेको तर्फबाट रिक्त हुने सिटमा समेत भागबन्डा गरेका हुन् । यस्तै, प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहेको नेकपा एमालेले भने सातै प्रदेशमा आफ्ना उम्मेदवार एक्लै अघि सारेको छ । राष्ट्रिय सभामा रिक्त हुने १९ पदमध्ये आठ पद एमालेका तर्फबाट रिक्त हुँदै छ । यस्तै, एकीकृत समाजवादीका चार, माओवादी केन्द्रका चार र कांग्रेसका तीन सदस्यको पदावधि पनि सोही मितिमा सकिँदै छ ।
निर्वाचन आयोगले सात महिला, तीन दलित, दुई अपांगता भएका तथा अल्पसंख्यक र सात अन्य विभिन्न समूह गरी १९ सिटका लागि निर्वाचन गराउन लागेको हो । आयोगका अनुसार निर्वाचनमा जसमध्ये नेकपा (एमाले) बाट १९ जना, नेपाली कांग्रेसबाट ६ जना, नेकपा (माओवादी केन्द्र)बाट पाँच जना, नेकपा (एकीकृत समाजवादी)बाट पाँच जना, जनता समाजवादी पार्टी, नेपालबाट दुई जना, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दुई जना, नेपाल मजदुर किसान पार्टीबाट दुई जना, लोकतान्त्रिक समाजवादी पार्टीबाट एक जना र राष्ट्रिय जनमोर्चाबाट एक जनाको उम्मेदवार बनेका छन् ।गठबन्धनमा रहेका दलबीच भएको सहमतिअनुसार एमालेले जितेका आठ सिटमा कांग्रेसले तीन, जसपाले दुई, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनमोर्चाले एक÷एक सिट पाउने गरी भागबन्डा गरिसकेका छन् ।
१९ पद रिक्त हुँदा भएको भागबन्डामा कांग्रेसको भागमा ६ सिट, माओवादी केन्द्र र नेकपा एसले पाँच÷पाँच सिट तथा जसपालाई दुई र जनमोर्चालाई एक सिट परेको हो । गठबन्धनमा रहेका दलहरूबीच भएको सहमति कार्यान्वयन भए कांग्रेसले पुरानो सिटलाई आफ्नो पक्षमा कायम राख्दै थप तीन सिट नाफामा हुनेछ । यस्तै, माओवादी केन्द्र र नेकपा एस एक÷एक सिट नाफामा हुनेछन् भने जसपा र राष्ट्रिय जनमोर्चा सबैभन्दा बढी नाफामा पर्नेछन् । कुल ५९ सदस्यीय हुने राष्ट्रिय सभामा हाल अध्यक्षसहित एमालेका २४, उपाध्यक्षसहित माओवादीका १४, कांग्रेसका सात, एकीकृत समाजवादीका सात, जसपाका दुई, लोकतान्त्रिक समाजवादीबाट एक, स्वतन्त्र एक र मनोनीत तीन जना सदस्य छन् ।सातवटै प्रदेशका आठ मतदान स्थलमा १४ वटा केन्द्र तोकिएको छ । प्रदेश १ मा दुई र अन्य प्रदेशहरूका एक÷एकवटा मतदान स्थल रहेको ।


