गुरु बराललाई एमालेकै सांसदबाट धोका !
काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य गुरु बराल आफ्नै पार्टीका दुईजना प्रदेशसभा सदस्यको अन्तरघातका कारण राष्ट्रियसभामा पराजित बनेका छन् । अन्तरघात गरेर बराललाई मतदान नगर्ने एमालेका ती दुईजना प्रदेशसभा सदस्यको पहिचान भने खुल्न सकेको छैन ।
प्रदेश १ मा बुधबार सम्पन्न राष्ट्रियसभाको चुनावमा नेकपा एमालेका ४० जना प्रदेश सांसदले मतदान गरेका थिए । तर, तीमध्ये २ जना एमाले सांसदले बराललाई भोट नदिँदा उनको पक्षका ३८ जना प्रदेश सांसदको मात्र मत पर्न गयो? जसका कारण काँग्रेसका गोपाल कुमार बस्नेतसँग ४४८८ मतभार हुन गई बराबरीमा खुम्चनुपर्यो ।
एमाले मोरङका एक नेताले भने, ‘अन्य पार्टीका केही स्थानीय जनप्रतिनिधिले समेत बराललाई मतदान गरेका थिए, तर उनले आफ्नै पार्टीका दुईजना प्रदेश सांसदको मत पाएनन् । एकजना सांसदले मात्रै गद्दारी नगरेको भए बरालले सजिलै जित्ने थिए ।’
एमालेका ती नेता भन्छन्, ‘गठबन्धनमा संलग्न माओवादी र एकीकृत समाजवादीका केही स्थानीय जनप्रतिनिधिले बराललाई मतदान गर्ने संकेत बिहानै देखिइसकेको थियो, तर एमालेकै प्रदेश सांसदले आफ्ना उम्मेदवारलाई भोट नदेलान् भनेर कसैले अनुमान गरेन ।’


