स्कुलमा ‘राम्रालाई भन्दा हाम्रालाई’ महत्व ! विद्यार्थी, अभिभावक आक्राेशित

काठमाडौं, १४ माघ ।आशीक झाले चिकित्साशास्त्र अध्ययन संस्थानमा पहिलो नम्बरमा नाम निकालेर इतिहास बनाएको त्रिपुरेश्वरस्थित विश्व निकेतन उच्च माध्यमिक विद्यालयले जति ख्याति कमाएको छ, आर्थिक अनियमिताले त्यति नै बद्नाम बनेको छ ।कम्प्युटर, होटल म्यानेजमेन्ट, विशेष कक्षा, परीक्षा फारम र अनुपस्थित शुल्क तथा पुनः परीक्षाका नाममा स्कुलले लिने शुल्कले अभिभावकको डाढ सेकेको छ । सामुदायिक स्कुलमा यी शीर्षकमा शुल्क लिनु शिक्षा नियमावलीविपरीत मानिन्छ ।

यी शीर्षकमा शुल्क लिएबापत विश्व निकेतन स्कुललाई जिल्ला शिक्षा कार्यालयले पटकपटक कारबाही गर्ने चेतावनी दिएको थियो । अहिले सो स्कुलमा झन्डै २३ सय विद्यार्थी अध्ययनरत छन् । विद्यालयले राष्ट्रिय पुरस्कार २०७४ र ०७५ तथा क्षेत्रीय पुरस्कार २०५८, ०६२ र ०६५ मा प्राप्त गरेको थियो । सम्मानित स्कुल र आशीक झाजस्ता विद्यार्थीका कारण जिल्ला शिक्षा कार्यालयले विद्यालयको अनियमिताका बारेमा मौखिक चेतावनी मात्र दिन सकेको छ ।

स्कुलले झन्डै दुई हजार विद्यार्थीबाट कम्प्युटर, होटल म्यानेजमेन्ट, विशेष कक्षा, परीक्षा फराम, अनुपस्थित शुल्क तथा पुनः परीक्षाबाट लाखौं रुपैयाँ संकलन गरेको छ । कम्प्युटर कक्षा र होटल म्यानेजमेन्टका विद्यार्थीबाट मासिक चार सय रुपैयाँ, विशेक्ष कक्षाबाट एक हजार रुपैयाँ, पुनः परीक्षाबाट दुई सय रुपैयाँ, परीक्षा फारमबाट आठ सय रुपैयाँ र अनुपस्थित शुल्क दैनिक ५० रुपैयाँ संकलन गरिरहेको छ । जुन रकम विद्यालय प्रशासन, प्रधानाध्यापक हेरम्बराज कँडेल र अनुशासन इन्चार्ज नवराज लोहनीको मिलेमतोमा विद्यालय सञ्चालक समितिलाई समेत थाहा नदिई गायब बनाउने गरेको स्रोतले बतायो । यो शुल्कबारे विद्यालयले वार्षिक रूपमा प्रकाशन गर्ने विश्व उद्यान स्मारिकामा समेत उल्लेख गरिएको छ ।

यो आम्दानीबारे कसैले प्रश्न उठाउने आँटसमेत गर्दैन । ‘जसले यो विषयमा प्रश्न उठाउँछ, ऊ सकियो भनेर बुझे हुन्छ,’ एक शिक्षकले भने, ‘विद्यालयले प्रश्न उठाएर यातना सहनुभन्दा चुपचाप बस्न उचित ठान्छन् ।’ समाचार स्रोतका अनुसार एकपटक अनुशासन इन्चार्ज लोहनीले यसरी संकलन गरिएको नगद एकलौटी खाएर दुई महिना गायब भएका थिए । पछि अनुशासन इन्चार्जको खोजी गर्दा नगद हिनामिनाको घटना सार्वजनिक भएको थियो ।

आर्थिक हिनामिनाबारे प्रधानाध्यपक कँडेलले मौनता साँधे । यस्ता घटना स्कुलमा नभएको उनले बताए । शिक्षा नियमावलीविपरीत शुल्क किन उठाएको भन्ने जिज्ञासामा प्रधानाध्यापक कँडेलले भने, ‘त्यस्तो शुल्क स्कुलले उठाएको छैन, विद्यार्थीलाई अनुशासन सिकाएको मात्र हो ।’ तर यो कुरा मान्न विद्यार्थी तयार छैनन् । अनेरास्ववियु क्याम्पस कमिटी सचिव रामहरि खतिवडाका अनुसार एक मिनेट ढिलो भए पनि शुल्क लिनकै लागि विद्यार्थीलाई गेट बाहिर राखिन्छ । कक्षाकोठामा हाजिर गरिसकेपछि मात्र उनीहरूलाई विद्यालय प्रवेशको अनुमति दिइन्छ ।

आर्थिक अवस्था कमजोर भएका, अरुको सहयोगमा अध्ययन अगाडि बढाउनुपर्ने विद्यार्थी सामुदायिक स्कुलमा पढ्छन् । उक्त स्कुलमा अध्ययनका लागि थानकोट, भक्तपुर, चाबहिल तथा पाटनसमेतबाट अध्ययनका लागि आउँछन् । विद्यालयमा यातायात साधन अभाव, बाटोमा ट्राफिक जामले गर्दा विद्यार्थीहरू कहिले समयमा स्कुल पुग्न पाउँदैनन् । यसैको फाइदा उठाएर स्कुलले नगद संकलन गरिरहेको छ ।स्कुलमा एक सय ३७ जना शिक्षक र कर्मचारी छन् । यीमध्ये सरकारी अनुदानबाट ५० जना शिक्षकले तलब खान्छन् । बाँकीलाई स्कुलले तलब खुवाउनुपर्छ । यी शिक्षकलाई तलब खुवाउन पनि विद्यार्थीबाटै असुल्नुपर्छ । स्कुलले तलब खुवाउनुपर्ने शिक्षकमा पनि विभेद छ । प्रधानाध्यापकको नजिक र नातेदारले राम्रै तलब बुझ्छन् भने अरुले सीमित तलबमा चित्त बुझाउनुपर्छ ।

कँडेलको पुरानो घर धादिङ हो । धादिङका दर्जनभन्दा बढी शिक्षक र कर्मचारीले स्कुलमा जागिर पाएका छन् । स्कुलमा जागिर खान धादिङको भएर मात्र पुग्दैन, कँडेल परिवारको नजिकको नातेदार वा ससुरालीपट्टिबाट साइनो जोडिएको हुनु अनिवार्य छ ।

शिक्षक नियुक्तिमा मात्र होइन, गरिब, जेहेन्दार विद्यार्थीले पाउने छात्रवृत्तिसमेत राजनीति र नातावाद हुने गरेको छ । कुल विद्यार्थीको ३ प्रतिशतले छात्रावृत्ति पाउने गरेका छन् । अर्थात् विश्व निकेतन स्कुलमा चार सय ५० विद्यार्थीले निःशुल्क अध्ययन गर्न पाउँछन् । तर यो सूचना सार्वजनिक गरिँदैन, भित्रभित्रै राजनीतिक दलका नेता, विद्यार्थी नेता, नातावाद र धादिङका विद्यार्थीले सुविधा लिइसकेका हुन्छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।