स्थानीय तहको निर्वाचन निर्धारित मितिमै हुनुपर्छ– डा कोइराला
विराटनगर, १६ माघ ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले स्थानीय तहको निर्वाचन समयमै हुनुपर्ने बताउनुभएको छ ।विराटनगरस्थित कोइराला निवासमा आज बिहान सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले लोकतन्त्रमा अद्यावधिक निर्वाचन मौलिक हक भएकाले यो निर्वाचन कुनै बहानामा सार्न नहुनेमा जोड दिनुभयो ।उहाँले सरकारले निर्वाचनका विषयमा सिधै निर्वाचन आयोगसँग छलफल गरी टुङ्गो लगाउनुपर्ने तर्क गर्दै ऐन कानून परिवर्तन गरेर निर्वाचन सार्न नहुने विचार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “गठबन्धन दलसँगभन्दा पनि सरकारले निर्वाचन आयोगसँग छलफल गरेर निर्वाचनको मिति तोक्दा राम्रो हुनेछ ।” केन्द्रीय सदस्य डा कोइरालाले पार्टीको १४औँ महाधिवेशनमा पराजित भएका वरिष्ठ नेतालाई केन्द्रीय सदस्यमा मनोनीत गर्न नेतृत्वलाई सुझाव पनि दिनुभयो । उहाँले प्रदेश नं १ को नामकरण दलको सहमतिमा हुनुपर्ने भन्दै खर्च बढ्नेगरी मन्त्रालय टुक्र्याउने र मन्त्रीको सङ्ख्या बढाउने कुराले सुशासनमा असर पर्ने धारणा राख्नुभयो ।देशको आर्थिक अवस्थालाई ध्यानमा राखेर प्रदेश सरकारले आफ्नो सरकार विस्तार गर्नुपर्ने र प्रदेश सरकार पारदर्शी, जवाफदेही र उत्तरदायी हुनुपर्छ भन्नुभयो
यो पनि पढ्नुहोस…काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले महान् सहिदहरूको बलिदानद्वारा प्राप्त भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै सहिदप्रतिको सच्चा श्रद्धाञ्जलि हुने विश्वास व्यक्त गरेकी छन्।सहिद दिवस, २०७८ को अवसरमा एक सन्देश दिँदै उनले यस दिवसले सम्पूर्ण राजनीतिक दल, आम जनसमुदाय र सम्बद्ध सबैलाई नेपाल राष्ट्र र नेपाली जनताको हित र अधिकारका लागि सहादत प्राप्त गरेका सहिदको आकाङ्क्षा साकार पार्न मन, वचन र कर्मले समर्पित हुने आँट र हौसला प्रदान गर्न सकोस् भन्ने कामना गरेकी छन्।
राष्ट्रपतिले वीर सहिदहरूले गरेका बलिदानको उच्च मूल्याङ्कन गर्दै सामाजिक न्यायसहितको समतामूलक र सभ्य समाज निर्माण गर्ने सहिदको आकाङ्क्षालाई साकार बनाउन सबैले आ–आफ्नो तर्फबाट खेल्नुपर्ने भूमिकालाई इमान्दारीका साथ पूरा गर्नका लागि यस दिवसले थप प्रेरणा प्रदान गर्नेछ भन्ने आशा व्यक्त गरेकी छन्।सहिद दिवस, २०७८ को अवसरमा नागरिक स्वतन्त्रता, लोकतन्त्रको स्थापना र राष्ट्रियताको रक्षाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने महान् सहिदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठलगायत सम्पूर्ण ज्ञातअज्ञात अमर सहिदहरूप्रति राष्ट्रपतिले श्रद्धाञ्जलि अर्पण गरेकी छन्।
सहिद दिवस देशका लागि प्राण आहुति गर्ने महान् सहिदहरूको विशेष सम्झना गरिने दिन भएको स्मरण गर्दै उनले नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउँदै स्वाधीन र स्वावलम्बी अर्थतन्त्रसहित सामाजिक तथा आर्थिक दृष्टिले एक विकसित राष्ट्र निर्माण गर्न आफ्नो जीवन बलिदान गरेको बताएकी छन्। उनले वीर वीरङ्गानाहरूको सम्झना गर्दै हरेक वर्ष माघ १६ गते सहिद दिवसका रूपमा मनाइँदै आइएको स्मरण गरेकी छन्।


