सहाराविहीन लिम्बुनीलाई सहयोग
प्रकाश पाक्साँव/तेह्रथुम, १७ माघ । तेह्रथुमको छथर गाउँपालिका-३ पञ्चकन्या लुकुवाकी सहाराविहिन श्रीहाङमा लिम्बुनीलाई सहयोग प्रदान गरिएको छ । एक्लो परिवारकी लिम्बुनी कष्टकर जीवन बिताउँदै आएको समाचार प्रकाशन तथा प्रसारण भएपछि फक्ताङलुङ गाउँपालिका- ३ खेबेङमा जन्म भई हाल बेलायतमा रहेका गायक तथा समाजसेवी मान तबेबुङ नाजमले लिम्बुनीलाई बाँचुनजेलसम्मलाई चामल सहयोग गर्ने भएका हुन् ।
उनले पहिलो चरणमा चामल,फलफूल लत्ताकपडा लगायतका सामाग्री प्रदान गरेका छन् । त्यस्तै छथर गाउँपालिका-४ फाक्चामारा हाक्पारामा जन्म भई हाल हङकङमा रहेका समाजसेवी शिव ईमेहाङले खाद्यान्य,लत्ताकपडा,भाडावर्तनको साथमा नगद सहयोग गरेका छन ।
शारीरिक रुपमा अशक्त रहेकी लिम्बुनीको सहारा कोही नभएका कारण समस्यामा थिइन् । स्थानीय कमल लिम्बु र उनका दिदीका छोरा टेकेन्द्र लिम्बुले हेरचाह गर्दै आएका छन् ।
तत्काल दूधको मूल्य बढाउन किसानको माग
चितवन, १७ माघ (रासस) ः यहाँका किसानले तत्काल दूधको मूल्य बढाउन माग गरेका छन् । उनीहरुले तत्काल मूल्य वृद्धि नगरिए आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । चितवन दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेडले आइतबार यहाँ पत्रकार सम्मेलन गरी मूल्य बढाउन दबाब दिएको हो ।
दूधको मूल्यमा प्रतिलिटर रु १५ देखि २० सम्म बढाउनुपर्ने उनीहरुको माग छ । सङ्घका अध्यक्ष रत्नमणि न्यौपानेले सरकारले यही माघ १ गतेदेखि मूल्य बढ्छ भने पनि अहिलेसम्म नबढेकाले आन्दोलनको तयारीमा लागेको बताउनुभयो । सरकारले एक लिटरमा रु १० मूल्य बढाएर किसानलाई रु.सात र डेरी उद्योगीलाई रु तीन दिने तयारी गरेको बताइएको छ ।
उहाँका अनुसार हाल दूधको मूल्य किसानले सरदर लिटरमा ५२.५० पर्ने गरेको छ । पशुलाई खुवाउने आहारको मूल्य अत्यधिक वृद्धि भएकाले यो मूल्यले लागत नउठ्ने उहाँले बताउनुभयो । अध्यक्ष न्यौपानेले भन्नुभयो, “दाना, चोक्कर, पराल र औषधिको मूल्य अत्यधिक बढेकाले अहिले उत्पादन लागत नै प्रतिलिटर रु ६३ किसानको पर्ने गरेको छ । त्यसैले किसानलाई लाभ पुग्नेगरी मूल्य बढाउनुपर्छ ।” सरकारले तीन वर्षदेखि दूधको मूल्य बढाएको छैन ।
हाल जिल्ला ६३ प्रतिशत दुग्ध उत्पादक किसान छन् । यसबाट दैनिक दुई लाख ९० हजार लिटर दूध उत्पादन हुँदै आएको छ । ४३ प्रतिशत दूध बाहिरी जिल्ला काठमाडौँ, भक्तपुर, ललितपुर, कास्की र मकवानपुरमा जाने सङ्घले जनाएको छ । सङ्घले जारी गरेको विज्ञप्तिमा पशुको उपभोग्य बस्तुमा १० देखि १५ प्रतिशत वृद्धि भएको जनाइएको छ ।


