बढ्यो सुनको मूल्य, चाँदीको स्थिर
काठमाडौँ, २० माघ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ५००ले बढेर रु ९२ हजार ७०० पुगेको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला रु ९२ हजार २०० मा कारोबार भएको थियो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९२ हजार २०० कायम भएको छ । जसको मूल्य बुधबार प्रतितोला रु ९१ हजार ७०० तोकिएको थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु एक हजार २५५ कायम भएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८०६ डलर आसपास कारोबार भइरहेको छ ।
यो पनि पढ्नुहोस…काठमाडौँ । सरकारले स्थानीय तहको निर्वाचनका लागि जेठ ४ को मिति घोषणा गर्ने भनेपछि राजनीतिक दलहरु चुनावकेन्द्रित गतिविधिमा उन्मुख भएका छन् । उनीहरुका गतिविधि मात्र होइन, अभिव्यक्ति पनि चुनावी रणनीतिमा आधारित हुन थालेका छन् ।सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी जसरी हुन्छ, अहिलेकै गठबन्धनको सहारामा चुनावी मैदानमा होमिन प्रयासरत देखिएका छन् । पछिल्लो समय राष्ट्रिय राजनीतिबाटै एक्लिँदै गएको प्रतिपक्षी एमाले एक्लै लड्न समर्थ रहेको बताएर आफ्नो उच्च मनोबल देखाउन खोजिरहेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी अनुमोदनका लागि प्रतिपक्षी एमालेको साथ खोजेको कुरा बाहिरिएपछि बुधबार बिहान माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल बालुवाटार पुगेका थिए । दुवै सत्ता साझेदार दलका अध्यक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी बाहिर विभिन्न थरी कुरा आएको भन्दै वास्तविकता के हो भनेर सोधे ।प्रधानमन्त्री देउवाले एमसीसी अनुमोदनका लागि सबै शक्ति एक ठाउँमा हुनुपर्ने भन्दै गठबन्धनलाई भत्काएर अघि बढ्ने मनसाय नरहेको जवाफ दिए । बरु एमसीसीमा असहमतिका बुँदा के हुन् भन्दै लेखेर दिन पनि देउवाको आग्रह थियो ।
खासमा जेठ ४ मै स्थानीय चुनावको मिति तोक्ने र एमालेको साथ लिएर एमसीसी अनुमोदन गर्ने दिशामा प्रधानमन्त्री देउवा अघि बढेपछि गठबन्धन साझेदार नेता प्रचण्ड र नेपाल झस्किएका हुन् । माओवादी अध्यक्ष दाहालले सभामुख अग्नि सापकोटालाई पदाबाटै हटाउनेसम्मका कुरा आएकाले चिन्ता व्यक्त गरेका थिए । बालुवाटार बैठकपछि अर्को कार्यक्रममा पुगेका अध्यक्ष नेपालले बाहिर आएका धेरै कुरा मनगढन्ते रहेछन् र गठबन्धन चुनावसम्मै रहन्छ भन्दै कार्यकर्तालाई ढाडस दिए ।
राष्ट्रिय सभाको चुनावपछि सत्ता गठबन्धनको औचित्य समाप्त भइसकेको छ । नेपाली कांग्रेसभित्र एक्लै चुनाव लड्नुपर्ने दबाब बढिरहेको छ । माओवादी र एकीकृत समाजवादीसँग गठबन्धन गर्दा पार्टीलाई झन् बढी क्षति हुने र त्यसको लाभ एमालेले पाउने आकलन कांग्रेसीहरुले गरेका छन् ।प्रचण्ड र माधव भने आफ्नो राजनीतिक अस्तित्व समाप्त हुने भयले मलाई त्यही गठबन्धन चाहिन्छ भन्ने शैलीमा प्रस्तुत भइरहेका छन् । कांग्रेस र देउवाले एकपछि अर्को मत्त्वपूर्ण घटनामा ती दुवैलाई उपेक्षा र अपमान गरिरहे पनि गठबन्धनमा टाँस्सिइरहेका छन् । उनीहरु कांग्रेसको फेर समाएरै चुनावमा जान पाए हुन्थ्यो भन्ने मानसिकतामा देखिन्छन् ।
त्यसो त यही गठबन्धन कायम रहेमा आउँदा जुनसुकै तहका चुनाव एमालेका लागि चुनौतीपूर्ण नै हुनेछन् । केन्द्रदेखि प्रदेशसम्मै सत्ताच्युत भएको, प्रतिनिधिसभा विघटनलगायतमा आलोचित बनेको र पार्टी विभाजनको घाउसमेत आलै रहेको अवस्थामा एमालेले बलियो गठबन्धनको सामना गर्न सहज छैन । तर एमसीसीलाई लिएर गठबन्धनमा तीर हान्न सक्षम भएमा एमालेको मनोबल बढ्नेछ । माधव र प्रचण्ड सधैँका लागि राजनीतिबाट बढारिनेछन् ।
त्यसो त एमाले अहिले चुनावमा जान उत्साहित मात्र छैन, उच्च मनोबलका साथ चुनावी अभियान थाल्न लागिसकेको छ । कांग्रेसभित्रै पनि एक्लै चुनावमा जान खोज्दा कम्युनिस्टहरु एक ठाउँमा उभिन सक्ने जोखिमबारे पनि विश्लेषण भइरहेको छ ।खासगरी दाहाल र नेपाललाई धेरै नचिढ्याइकनै चुनाव आफ्नो पक्षमा पार्ने रणनीति कांग्रेस नेतृत्वले बनाइरहेको छ । यी सबै घटनाक्रम हेर्दा अब मुलुक चुनावतर्फै अघि बढेको र दलहरु नाफानोक्सानको हिसाबमा लागिसकेको प्रस्ट हुन्छ । यस क्रममा प्रचण्ड र माधवको बाध्यता र लाचारी अझ हेर्नलायक छ ।


