खुवालुङ बृत्तचित्र भिडियो छायांकन
धनकुटा । खुवालुङ सम्बन्धि सास्कृतिक जागरण गीत अभियान अन्तर्गत खुवालुङ बृत्तचित्र भिडियो छायांकन गरिएको छ । किराँत राई साँस्कृतिक कलाकार संघले निर्माण गर्न लागेको खुवालुङ गीतको भिडियोमा मुख्य पात्रको रूपमा शम्भु राई, दिलु राई, नगेन्द्र राई,जयकला राई, मुकेश राई,लोकेन्द्र राई, अनिल राई, अनिलकला राई, सुम्नीमा राई, भक्त बहादुर राई, रूपा राई, गिता राई, सानुकला राई लगायत ३० जना बढी कलाकारहरूले अब्बल भूमीकामा अभिनय गरेका छन् ।
धनकुटाको सहिदभुमि गाउपालिका वडा नं १ स्थित खुवालुङ लगायतका विभिन्न क्षेत्रमा ४ दिनसम्म छयाङकन गरिएको भिडियोमा आदिम युगदेखि आधुनिक युगसम्मका मानव सभ्यताका दृष्यहरू देख्न पाइने खुवालुङ भिडियोका निर्देशक शालिक सतासक राईले बताउनु भयो ।
याङवा, रूइन्वा, थावा नदी मिसिएको ठाउँ,
खुवालुङ हो हाम्रो पुर्खा छुट्टिएको ठाउँ,
यहि हो खुवालुङ,यहि हो खुवालुङू नामक गीतको शब्द गायक तथा गीतकार सुरज मेवाहाङ राईको छ । बरिष्ठ गायक तथा संगीतकार ,प्राज्ञ जीतेन राईद्वारा संंगीतबद्व यस गीतको संयोजन चाँढसिंहले गर्नु भएको छ ।
यो जागरण अभियान गीतमा बरिष्ठ गायक जीतेन राई, गायिका पार्वती राई, राई नवीन, राजु एन राई, रामकर राई, शुसिला राई, सुरज मेवाहाङ राई, पदम राई, कुशल चाम्लिङ राई ,पुर्ण छिलिङ राई, निश्चल राई, मेनुका राई, प्रेमकला राई,डि।वि। राई,चन्द्र बान्तावा राई र सुखकला राईको आवाज रहेको छ ।
बरिष्ठ क्यामेरामेन तथा यारी फिल्मका निर्देशक युवाराज राईले कथाबस्तु अनुसारको दृष्यहरू छयाङकन गर्नु भएको छ । खुवालुङ सम्बन्धि गीतको भिडियो १ महिना भित्र सार्वजनिक गरिने निर्देशक राईले बताउनु भयो । भिडियो निर्माणका लागि सहिदभुमि गाउपालिका धनकुटा र धनकुटा नगरपालिका धनकुटा लगायत किरातजन्य संघ,संस्था तथा व्यक्तिहरूले पनि सहयोग गरेका छन् ।
यो भिडियो ९ लाख ३२ हजार रूपैयाको लागतमा तयार गरिने किरात राई सांस्कृतिक कलाकार संघका अध्यक्ष रामकर राईले बताउनु भयो । भिडियोको सहिदभुमि गाउपालिकाका अध्यक्ष मनोज राईले ‘यही हो किराँती गाउँ’ भन्दै खुवालुङ सम्बन्धि गीतमा अभिनय गरी विधिवत रूपमा उदघाटन गर्नु भएको थियो ।


