दीपककुमार कार्की कामु प्रधानन्यायाधीश
काठमाडौं, १ फागुन /वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की कायममुकायम प्रधानन्यायाधीश बनेका छन् । संघीय संसद सचिवालयमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियाेग प्रस्ताव दर्ता भएपछि उनी स्वत: निलम्बित हुने हुँदा कार्की पनि स्वत: कामुप्रधानन्याधीश बनेका हुन् ।
कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)का सांसदले आइतबार बिहान संघीय संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका हुन् ।
जबरा निलम्बनमा परेपछि दोस्रो वरीयताका न्यायाधीश कार्की कामुप्रधानन्यायाधीश बनेका हुन् । अब उनी न्याय परिषद्को अध्यक्ष तथा संवैधानिक परिषद्को सदस्यको समेत भूमिका रहनेछन् ।
सभामुखद्वारा सर्वदलीय बैठक आह्वान
काठमाडौँ, १ फागुन (रासस) :सभामुख अग्निप्रसाद सापकोटाले सोमबार दिउँसो २ बजेका लागि सर्वदलीय बैठक आह्वान गर्नुभएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसद्मा महाअभियोग प्रस्ताव दर्ता भएसँगै पछिल्ला राजनीतिक घटनाक्रमको विषयमा छलफलका लागि सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाउनुभएको उहाँका प्रेम विज्ञ श्रीधर न्यौपानेले राससलाई जानकारी दिनुभयो ।
प्रधानन्यायाधीश जबराविरुद्ध सत्तारूढ दलका सांसदहरुले आज बिहान सवा १० बजे सिंहदरबारस्थित संसद् सचिवालयमा महाभियोगको प्रस्ताव दर्ता गराउनुभएको थियो ।
प्रस्तावमा प्रधानन्यायाधीश राणालाई कार्यक्षमता नभएको अभियोग लगाइएको छ । सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेका अनुसार सो महाअभियोगको प्रस्तावक नेकपा (माओवादी केन्द्र) का देवप्रसाद गुरुङ, नेपाली कांग्रेसका डा पुष्पा भुसाल र नेकपा (एकीकृत समाजवादी)का जीवनराम श्रेष्ठ हुनुहुन्छ । यस्तै समर्थकमा नेपाली कांग्रेसका डा मीनेन्द्र रिजालसहित ९५ सांसद हुनुहुन्छ । यता सोमबार बोलाइएको प्रतिनिधिसभाको बैठक भने यही फागुन ४ गते बुधबारका लागि सारिएको छ ।


