पश्चिमी वायुको प्रभाव : हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौँ, ३ फागुन ।पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ । उक्त मौसमी प्रणालीको प्रभावले मङ्गलबार देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।रातिको समयमा देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनुका साथै देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको बताइएको छ ।
बुधबार देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना महाशाखाले औँल्याएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम पाँच दशमलव तीन डिग्री र अधिकतम तापक्रम १८ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस चार दशमलव दुई डिग्री र सबैभन्दा धेरै विराटनगरको अधिकतम तापक्रम २४ दशमलव चार डिग्री सेल्सियस रहेको छ ।
स्थापना दिवस मनाउँदै लुम्बिनी प्रदेश
देउखुरी, ३ फागुन । लुम्बिनी प्रदेश सरकारले स्थापना दिवसका सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको छ । प्रदेशले आज दाङ देउखुरीको राप्ती उपत्यकामा भव्य कार्यक्रम गर्न लागेको छ । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको आयोजनामा राप्ती प्राविधिक शिक्षालयको प्राङ्गणमा स्वास्थ्य मापदण्ड पालना गर्दै दिवस मनाउन लागिएको सरकारले जनाएको छ । सरकारले घोषणा गरेका पदक र विभूति प्राप्त गर्ने संस्था र व्यक्ति, स्थानीय तहका जनप्रतिनिधि र स्थानीय पालिकामा रहेका सङ्घसंस्थामा प्रतिनिधिहरूलाई आमन्त्रण गरेको छ।
प्रदेश प्रमुख अमिक शेरचन, मुख्यमन्त्री कुलप्रसाद केसी, प्रदेशसभा सभामुख पूर्ण घर्तीसहित प्रदेश मन्त्रीहरूको सहभागिता रहने सूचना अधिकारी कमानसिंह थापामगरले जानकारी दिनुभयो । सो अवसरमा प्रगति प्रतिवेदन, प्रदेश डकुमेन्ट्री सार्वजनिक तथा पदक र विभूषण वितरण गरिने छ । प्रदेश राजधानीका सबै गतिविधि अस्थायी राजधानी बुटवलबाट सञ्चालन भए पनि स्थापना दिवस स्थायी राजधानीमा मनाउन लागिएको हो । सत्र महिना अगाडि घोषणा भएको स्थायी राजधानीमा संरचना नबन्दा बुटवल मुकामबाटै सरकारले काम गर्दै आएको छ ।
विसं २०७७ असोज २० गते प्रदेशसभाको बैठकको दुईतिहाइ बहुमतले स्थायी राजधानी राप्ती उपत्यका देउखुरी र नाम लुम्बिनी राख्ने निर्णय गरेको थियो । सो निर्णयानुसार राजधानी व्यवस्थापनको काम राप्ती उपत्यकामा सुरुमा भएको हो । राजधानी व्यवस्थापन र प्रदेशसभाको बैठक सञ्चालनका लागि राप्ती प्राविधिक शिक्षालयको जग्गा र संरचना प्रदेश सरकार माहतमा ल्याउने पक्रिया अन्तिम चरणमा छ । प्रदेश सरकारले आज फागुन ३ गते स्थापना दिवसका अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।


