आलेविरुद्ध तथ्यहीन आरोप लगाएर बदनाम गराउन षड्यन्त्र : सचिवालय
काठमाडौँ, ३ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेविरुद्ध तथ्यहीन आरोप लगाएर बदनाम गराउन खोजिएको भन्दै उहाँको सचिवालयले आपत्ति जनाएको छ । निरन्तररूपमा मन्त्री आले तथा नेकपा(एकीकृत समाजवादी)का नेताहरूविरुद्ध सामाजिक सञ्जालमा असभ्य टिप्पणी गरिएको भन्दै पर्यटनमन्त्री आलेका प्रमुख स्वकीयसचिव हेमन्त रेग्मीले विरोध जनाउनुभएको छ । सार्वजनिक पदमा नहुँदाका बखत भएका अनौपचारिक एवं व्यक्तिगत विषयलाई अनधिकृतरूपमा बाहिर सार्वजनिक गरी मन्त्रीको छविमा आँच आउने काम गरिएको भन्दै दोषीमाथि कडा कारबाही गर्न स्वकीयसचिव रेग्मीले आग्रह गनुभएको छ ।
मन्त्री आलेमाथि सुदूरपश्चिम प्रदेशको अछाम घर भई हाल भारतको मुम्बई बस्दै आएका जगत् ओलीको नामबाट निरन्तररूपमा उहाँमाथि ब्ल्याकमेल गर्ने, उहाँलाई उत्तेजित गर्ने र सोही विषयलाई सामाजिक सञ्जालमा राख्ने तथा धम्क्याउने काम भएको भन्दै सचिवालयले खेद प्रकट गरेको हो । मन्त्री आलेले पछिल्लो समय जनमुखी कार्य गरेर लोकप्रिय हुन थालेपछि अत्तालिएका केही व्यक्तिले मन्त्री आलेविरुद्ध षडयन्त्रपूर्वक उत्तेजित पार्न खोजिएको भन्दै त्यस्तो भ्रममा नपर्न आम जनसमुदायलाई आग्रह समेत गरेको छ । नेता आले समाजवादीमा आवद्ध भएपछि पूर्व पार्टीका कार्यकर्ताले उहाँविरुद्ध सामाजिक सञ्जालमा गालीगलौज गर्नुका साथै पटक–पटक मानसिक तनाव दिने र अश्लिल शब्द प्रयोग गर्दै आएकोप्रति सचिवालयले दुःख व्यक्त गरेको छ ।
पश्चिमी वायुको प्रभाव : हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौँ, ३ फागुन ।पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ । उक्त मौसमी प्रणालीको प्रभावले मङ्गलबार देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।रातिको समयमा देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनुका साथै देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको बताइएको छ ।
बुधबार देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना महाशाखाले औँल्याएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम पाँच दशमलव तीन डिग्री र अधिकतम तापक्रम १८ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस चार दशमलव दुई डिग्री र सबैभन्दा धेरै विराटनगरको अधिकतम तापक्रम २४ दशमलव चार डिग्री सेल्सियस रहेको छ ।


