राष्ट्र उत्थान लघुवित्तको साधारण शेयर बिक्री खुला
काठमाडौँ, ४ फागुन । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु आठ करोड ५० लाख मूल्य बराबरको आठ लाख ५० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ)को बिक्री खुला गरेको हो । कम्पनीले निष्काशन गर्ने साधारण शेयरमध्ये पाँच प्रतिशत अर्थात् ४२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ । जारी पूँजीको शून्य दशमलव पाँच प्रतिशत अर्थात् १३ हजार कित्ता साधारण शेयर कर्मचारीलाई सुरक्षित गरी बाँकी रहने सात लाख ९४ हजार ५०० कित्ता शेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन पाउने कम्पनीले जारी गरेको आह्वानपत्रमा उल्लेख छ । निष्काशित शेयरमा सर्वसाधारणले यही फागुन ८ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । तोकिएको अवधिसम्म मागबमोजिम आवेदन नआए फागुन १८ गतेसम्म शेयर निष्काशन खुला रहने कम्पनीले जनाएको छ ।
सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सिआस्वा सुविधा प्रदान गर्न अनुमति पाएका बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै अनलाइनमार्फत ‘मेरो शेयर’ प्रयोग गरेर शेयर खरिदका लागि आवेदन दिन सक्ने कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल लिमिटेडले जनाएको छ । कम्पनीको हाल चुक्ता पूँजी रु १७ करोड ५० लाख रहेकामा सर्वसाधारणलाई खरिदका लागि खुला गरेको शेयरको बाँडफाँडपश्चात चुक्ता पूँजी रु २६ करोड पुग्नेछ । धितोपत्रको सार्वजनिक निष्काशन गर्दा क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्थाअनुसार रेटिङ गर्दा इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपि आइआर बिबी’ ग्रेडिङ प्रदान गरेको छ । रेटिङअनुसार कम्पनीको हालको अवस्था वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको भन्ने बुझिन्छ ।
बयलकाँडा साहसिक पर्यटनको आकर्षण केन्द्र : प्रदेश प्रमुख परियार
कर्णाली, ४ फागुन । कर्णाली प्रदेशका प्रमुख तिलक परियारले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१४ बयलकाँडा साहसिक पर्यटनको आकर्षण केन्द्र बन्दै गएको बताउनुभएको छ । प्याराग्लाडिङ उडान भर्ने क्षेत्रमा पुग्नुभएका उहाँले ऐतिहासिक महत्व बोकेको सुर्खेतको पुरानो सदरमुकाम गोठीकाँडा वर्तमान समयमा साहसिक पर्यटनको आकर्षण केन्द्र बन्दै गएको उल्लेख गर्नुभयो । “बयलकाँडा सुर्खेत उपत्यकाको शिरजस्तै छ”, परियारले भन्नुभयो, “प्राकृतिक सुन्दरताले भरिएको यस ठाउँबाट सुर्खेत उपत्यकाको दृश्यावलोकन अझ बढी मनमोहक देखिँदोरहेछ ।”
गर्मी याममा शीतलता प्राप्त गर्न सकिने प्राकृतिक भूबनोट र ऐतिहासिक महत्व बोेकेको बयलकाँडाको पर्यटन प्रवद्र्धनका लागि प्रदेश र सङ्घ सरकारसँग आवश्यक पहल गर्ने उहाँले बताउनुभयो । सो क्षेत्रमा वेलकम प्याराग्लाइडिङ कम्पनीले दुई सातादेखि प्याराग्लाडिङ उडान भर्दै आएको छ । सो वडाका वडाध्यक्ष टोपबहादुर दर्लामीले पछिल्लो समयमा आन्तरिक तथा बाह्य पर्यटक बढ्दै गए पनि सरकारको संस्थागत, नीतिगत, योजनागत विकास र पूर्वाधारमा लगानी नहुँदा यहाँको अपेक्षित विकास हुन नसकेको समस्या दर्शाउनुभयो । सङ्घ र प्रदेश सरकारको उचित ध्यान नपुग्दा गोठीकाँडा राजधानीको समीपमा बत्तीमुनिको अँध्यारोजस्तै भएको उहाँको भनाइ थियो । पानी, बत्ती र पक्की बाटोको समस्या रहेको सो क्षेत्रको विकासका लागि पहल गरिदिन स्थानीयवासीले प्रदेश प्रमुख परियारसँग माग गरेका छन् ।


