विदेशमा सिकेको सीप गाउँमा प्रयोग गर्दा…

बलेवा, ४ फागुन । बागलुङको तमानखोला गाउँपालिका–२ कटेरीका चूडामणि छन्त्याल विदेशमा सिकेको सीपलाई गाउँमा प्रयोग गरेर माटो सिञ्चिनु भएको छ । मेलेसियामा दुई वर्ष तरकारी बारीमा काम गर्नुभएका उहाँले कोरियामा दुई वर्ष तरकारी फार्म र बाँकी आठ वर्ष उद्योगमा काम गर्नुभएको थियो । अहिले कटेरी गाउँमा झण्डै १० रोपनी बारी तरकारी र फलफूलले हराभरा बनाउनुभएको छ । खर्च अभावले विदेशीनुभएका उहाँले अहिले आफ्नो माटोमा गरेको दुःखले आर्जेको कमाई बचत गर्नुहुन्छ । चार वर्षअघि कोरियाबाट गाउँ फर्केर प्लाष्टिक घरमा तरकारीखेती गरेका ४८ वर्षीय उहाँका बारीमा पाँच प्लाष्टिक घर छन् ।

खुला आकाशमुनि, साग, बन्दा, काउली र खुर्सानी फलेका छन् । “पोहोरसम्म गोलभेँडाको खेती गरेँ, निकै राम्रो आम्दानी भयो”, उहाँले भन्नुभयो, “अहिले गाउँका अरु दाजुभाईले पनि प्लाष्टिक घर निर्माण गरेपछि मैले गोलभेँडा उहाँहरुलाई छोडेर अरु विकल्प खोजिरहेको छु ।”उहाँका दुई प्लाष्टिक घरमा अहिले ‘स्टोभेरी’ फलेको छ । मलेसियामै रहँदा स्ट्रबेरीका विषयमा जानकारी पाउनुभएका उहाँले ककनीबाट बिरुवा ल्याएर खेती सुरु गर्नुभएको हो । ‘स्ट्रबेरी गाउँका लागि नयाँ खेती हो । पहिले दुई बिरुवा लगाएँ राम्रो फलेपछि व्यावसायिक खेती गरेको छु”, उहाँले भन्नुभयो, “नयाँ खेतीले बजार पाउन सहज हुने र मूल्य प्रतिकिलो ७०० रुपैयाँ पर्दछ, पोखरा लेकसाइडको एक होटलसँग सोही मूल्यमा सम्झौता भएको छ, बिक्रीका लागि कुनै पनि समस्या छैन ।”

उहाँले गोलभेँडा पनि प्रतिकिलो रु ७० देखि रु १२ सम्म बिक्री गर्नुहुन्थ्यो । अहिले गाउँका अरु किसानले पनि त्यसै गर्छन् । “उहाँको सिको गरेर धेरैलाई राम्रो भएको छ”, स्थानीयवासी युवा ढालेन्द्र छन्त्याल भन्नुहुन्छ, “अहिले त गाउँभरि टनेल छन्, धेरै थोरै सबैले कमाउँछन् ।” तमानखोला गाउँपालिका, कृषि ज्ञानकेन्द्र र मुख्यमन्त्री नमूना कृषि गाउँ कार्यक्रमले गाउँलेलाई सघाएको छ । रु १२ लाख लगानीमा सुरुआत गरेको तरकारी फार्मबाट छन्त्यालले मासिक रु ३५ हजार आम्दानी गर्छन् । गाउँमा पुग्ने पाहुना उहाँकै घरमा बस्छन् । जौ, गहुँ, कोदो र मकै मात्रै फल्ने बारीमा फलाएका तरकारी उहाँले पाहुनालाई चखाउँछन् र आफ्नो मूल्य लिनुहुन्छ । छन्त्यालको मेहनतको सिको गरेका कटेरी गाउँका स्थानीयले अहिले गाउँ हराभरा बनाएका छन् ।

विदेशको कमाईले उनको काठमाडौँमा घर छ । दुईभाई छोरा युरोप र अष्टे«लियाका नाम चलेका कलेजमा पढ्छन् । तर सहरको सुख छोडेर उनी मात्रै होइन उनको परिवार पनि कृषिमा लागेको छ । छोराको पढाइका लागि २२ वर्ष काठमाडौँमा बसेकी उनकी श्रीमती इन्द्रकुमारी अहिले गाउँमै छन् । “उहाँ चार वर्षअघि आउनुभयो, म एक वर्षदेखि यतै छु, काममा सघाउँछु, गाउँको हावापानी भुल्न नसकेर फर्किएँ”, इन्द्रकुमारीले भन्नुभयो, “हामी सुख होइन सन्तुष्टि खोज्न गाउँ फर्किएका हौँ ।” अघिल्लो वर्षसम्म बर्खाका समयमा तमानखोला पुग्ने सडक अवरुद्ध हुँदा कटेरी गाउँको कृषिउपज बर्खामा खेर जान्थ्यो । अहिले भने किसानको बारीसम्मै बाह्रै महिना चल्ने सडक पुगेको छ । पाँच वटा टनेलमा चार वर्षदेखि खेती गरेका छन्त्यालको गाउँमा अहिले ५० टनेल छन् । कटेरी÷भयरबोंगा गाउँलाई समेटेर गण्डकी प्रदेश सरकारले नमूना कृषि गाउँ घोषणा गरेको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।