सम्पत्तिमा महिलाको स्वामित्व बढ्दै

दुर्गा देवकोटा,टीकापुर, ५ फागुन । कैलालीकी झरना जैसीको परिवारसँग जति सम्पत्ति छ सबै उहाँकै नाममा छ । झरनाको जग्गा, घर सबै उहाँको नाममा छ । झरनाका श्रीमान् रोजगारीका सिलसिलामा भारतमा बस्नुहुन्छ । भारतमा कमाएको कमाइ झरनाकै नाममा आउँछ । झरनाले घर चलाउने देखि लिएर अन्य सबै काम गर्नुहुन्छ तर सम्पत्ति किनबेच गर्दा श्रीमान्कै निर्णय अन्तिम हुन्छ ।

“मेरो नाममा सबै सम्पत्ति छ, तर किनबेच गर्ने काम श्रीमान्ले गर्नुहुन्छ”, झरनाले भन्नुभयो, “खर्चको सबै हरहिसाब पनि उहाँलाई बुझाउनुपर्छ, मैले सबै हिसाब लेखेर राख्छु, श्रीमान् घर आएको बेला देखाउँछु ।” झरनाजस्तै टीकापुर नगरपालिका–४ की प्रेमरानी चौधरीको पनि घर यसरी नै चल्छ । प्रेमरानीको एक कट्ठा मात्रै जमिन छ त्यो पनि उहाँकै नाममा छ । श्रीमान्ले कमाउने तर घर चलाउने जिम्मा प्रेमरानीकै काँधमा छ । प्रेमरानीले सबै हरहिसाब श्रीमान्लाई दिनुहुन्छ तर उहाँका श्रीमान्ले भने कहिल्यै प्रश्न गर्नुभएको छैन । “श्रीमान् हाम्रो खर्च चलाउनका लागि काम गर्नुहुन्छ, उहाँको विश्वासका लागि म हिसाब त दिन्छु तर कहिल्यै अविश्वास गर्नुभएको छैन”, प्रेमरानीले भन्नुभयो, “घर व्यवस्थापन मैले गर्ने भएकाले पनि सबै कारोबार मैले नै गर्छु ।”

टीकापुरकै रविना चौधरीको घरमा भने सबै सम्पत्ति घरमूली ससुराका नाममा छ । रविनाका श्रीमान् सवारी चालक हुनुहुन्छ । सबैले कमाएको सम्पत्ति ससुराको हातमा भए पनि सम्पत्ति जोड्दा, बिक्री गर्दा वा कुनै नयाँ काम गर्दा सबैबीच सल्लाह हुन्छ । “पहिलेदेखि नै भएको जग्गा ससुराका नाममा छ, हामीले कमाएको सबै रकम ससुरा राख्नुहुन्छ”, रविनाले भन्नुभयो, “हामी किनबेच गर्दा सल्लाह गर्छौं, घरमा पालेका कुखुरा बेच्दा पनि घरमा भएकाबीच सल्लाह हुन्छ, सबैको सहमतिमा काम गर्छौं ।”रविनाका घरमा सल्लाहमा काम हुने भएकाले परिवार मिलेको छ । आर्थिक स्वामित्व महिलाका नाममा नहुँदा महिला हिंसामा पर्ने गरेका धेरै घटना सुनिन्छन् । त्यसैले बराबरी अधिकार स्थापित होस् भनी सरकारले महिलाका नाममा घरजग्गा खरिद गर्दा नामसारीका लागि लाग्ने शुल्कमा २५ छुट दिने गरेको छ । त्यसले महिलाका नाममा सम्पत्ति थपिँदै गएको छ ।

मालपोत कार्यालय टीकापुरमा चालु आर्थिक वर्षको पुस महिनासम्म दुई हजार ९०५ लिखत पारित भएकामा एक हजार ४७ लिखत महिलाका नाममा पारित भएका छन् । मालपोतको तथ्याङ्क हेर्दा रु एक करोड पाँच लाख १४ हजार ५३५ महिलाका नाममा रजिष्टे«सन गर्दा छुट पाइएको छ । महिलाका नाममा रजिष्ट्रेसन हुने जग्गा कारोबार हेर्दा प्रतिशतका हिसाबले ३६ प्रतिशत पुगेको मालपोत कार्यालयका नायब सुब्बा सर्वनन्द चपाईले बताउनुभयो । “२५ प्रतिशत छुट पाउने भएपछि महिलाका नाममा रजिष्ट्रेसन गर्ने परिवार बढ्दै गएका छन्”, चपाईले भन्नुभयो, “जसले करोड बढी रकम छुट पाइएको छ, यो सरकारले दिएको अधिकार महिलाका नाममा सम्पत्ति बढेमा महिला आर्थिकरुपमा सबल हुन्छन् भनेर हो, यसको सकारात्मक प्रभाव बढ्दै गएको छ ।”

समाज रुपान्तरण हुँदै गएको छ । चेतनाको विकास भएका र सरकारी नीतिबारे जानकारी पाएकामा रकम छुट पाइने हुँदा महिलाका नाममा सम्पत्ति दर्ता हुने क्रम बढेको अधिकारकर्मी चन्द्रावती शर्मा बताउनुहुन्छ । “महिला र पुरुष समान हुन्, समान भए पनि हाम्रो समाजमा महिलालाई पुरुषभन्दा कमजोर छन् भने चित्रण गरिएको छ”, शर्मा भन्नुहुन्छ, “पुरुषभन्दा महिला कमजोर वा घर व्यवस्थापनको जिम्मा बढी दिइँदा सम्पत्तिमा महिलाको अधिकार स्थापित हुन नसकेको हो, तर पछिल्लो समय सम्पत्तिमा महिलाको अधिकार स्थापित गराउन सरकारले नीतिगतरुपमै अभियान चालेपछि सम्पत्तिमा महिलाको स्वामित्व बढ्दै गएको देखिन्छ ।”

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।