स्थानीय तह निर्वाचन : दलीय गतिविधि तीव्र
महोत्तरी, ८ फागुन ।स्थानीय तहको निर्वाचन तयारी अघि बढेसँगै जिल्लामा राजनीतिक दलका गतिविधि सघन भएका छन् । राष्ट्रिय राजनीतिको मियोमा रहेका मुख्य प्रतिस्पर्धी दलमात्र नभएर अहिले यहाँ स–साना नयाँ दलको गतिविधि पनि बढ्दै गएको हो ।सत्तारुढ दल नेपाली कांग्रेस जिल्लामा यसअघि रोकिएको जिल्ला अधिवेशनको तयारीमा छ । यही फागुन १३ गते जिल्ला अधिवेशनको तयारीमा रहेको कांग्रेसले आज महोत्तरीको प्रतिनिधिसभा क्षेत्र नं ३ मा क्षेत्रीय अधिवेशन हुँदैछ । सो क्षेत्र को एक स्थानीय तहमा अधिवेशन नहुँदा जिल्ला अधिवेशनसमेत रोकिएको थियो । अधिवेशन सम्पन्न गरेलगत्तै स्थानीय तह निर्वाचनमा आफ्नो दल होमिने कार्यवाहक जिल्ला सभापति शम्भुनारायण पाठकले जानकारी दिनुभयो । त्यसैगरी नेकपा (एमाले)ले शनिबार क्षेत्र नं ३ कै पिपरामा स्थानीय तह निर्वाचन केन्द्रित जनसभा सम्पन्न गरेको छ । आसन्न निर्वाचनलाई मध्यनजर गर्दै जिल्लाका स्थानीय तहका पार्टी कमिटी उम्मेदवारको प्रारम्भिक नाम छनोटको गृहकार्यमा लागेका सो दलका जिल्ला अध्यक्ष टेकबहादुर बलम्पाकीले बताउनुभयो ।
यसैगरी नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले पार्टी गतिविधि तीव्र बढाएका छन् । अहिले जिल्लाका विभिन्न ठाउँमा एकैदिन कतिपय दलका कार्यक्रम सम्पन्न हुँदा छन् । यीबाहेक जनमत पार्टी पनि सभा, बैठक र स्थानीय पार्टी समितिहरूको गठन, पुनःगठनमा जुटेको छ ।शनिबारमात्र विश्वभक्त दुलाल (आहुति) नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीले बर्दिवासमा पहिलो जिल्ला भेला सम्पन्न गरेको छ । यसैगरी नेपाली कांग्रेस (विपी)ले शनिबार नै बर्दिवासमा मधेस प्रदेशस्तरीय भेला सम्पन्न गरेको छ । सो दलका वरिष्ठ केन्द्रीय सभापति गोविन्दप्रसाद शर्मा र केन्द्रीय सदस्य इन्दिरा अधिकारी, शिवप्रसाद सिम्खडा, सन्दीपकुमार झा र सुनिता कार्कीसहितको उपस्थिति रहेको प्रदेशस्तरीय भेलाले सबै जिल्लामा भेला आयोजना गर्ने र स्थानीय समिति गठन गर्ने तालिका बनाएको छ ।सरकारले स्थानीय तह निर्वाचनको मिति घोषणा गरेर निर्वाचन आयोगले तत्सम्बन्धी तयारी अघि बढाउँदै लगेको हुँदा अहिले दलीय गतिविधि सघन हुँदै गएका हुन् । यद्यपि वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीले आफ्ना काम निर्वाचन केन्द्रितभन्दा जनसरोकारका विषयको पहिचान र ती मुद्दाको उठान रहेको स्पष्ट पारेको छ ।
यो पनि पढ्नुहोस्.. कर्णाली । जिल्ला निर्वाचन व्यवस्थापन समिति सुर्खेतले आसन्न स्थानीय तह निर्वाचनको तयारी सुरु गरेको छ । प्रमुख जिल्ला अधिकारी संयोजकत्वमा रहने व्यवस्थापन समितिले मतदानस्थलको सुरक्षा संवेदनशीलताको स्तरीकरण गर्नुका साथै निर्वाचन व्यवस्थापनसम्बन्धी कार्य थालेको हो । प्रमुख जिल्ला अधिकारी एवं समिति संयोजक खगेन्द्रप्रसाद रिजालले मतदानस्थलको भौगोलिक अवस्थाको विश्लेषण, सुरक्षा संवेदनशीलता, जनशक्ति व्यवस्थापनलगायतका विषयमा अध्ययन भइसकेको बताउनुभयो । उहाँका अनुसार सुरक्षाका दृष्टिकोणले सुर्खेतका २९ मतदानस्थल अति संवेदनशील, ७६ संवेदनशील र ३३ मतदानस्थललाई सामान्य मानिएको छ । सुरक्षा संवेदनशीलताका आधारमा निर्वाचन सुरक्षा रणनीति अपनाइने उहाँको भनाइ छ । “मतदानस्थलको स्थलगत अवलोकन गरिसकेका छौँ, सुरक्षा संवेदनशीलताका आधारमा स्तरीकरण गरी केन्द्रमा प्रतिवेदन पनि पठाइसकेका छौँ”, प्रजिअ रिजालले भन्नुभयो, “स्थानीयस्तरमा निर्वाचन कार्यालय खोल्ने विषयमा स्थानीय तहका प्रमुख÷उपप्रमुखसँग समन्वय भइरहेको छ, छिट्टै स्थानीय तहका केन्द्रमा निर्वाचन कार्यालय स्थापना गरिनेछ ।”
सुर्खेतमा नौ स्थानीय तह छन् । तीमध्ये आठ स्थानीय तहका केन्द्रमा निर्वाचन कार्यालय स्थापना गरिनेछ । जसले स्थानीय तहको निर्वाचन तयारीदेखि सम्पन्न गर्न सहज हुने विश्वास गरिएको छ । २०७४ सालको निर्वाचनमा सुर्खेतका १३८ स्थलमा २७६ मतदान केन्द्र थिए । जिल्ला निर्वाचन व्यवस्थापन समितिले यसपटक केन्द्र थपिन सक्ने सम्भावना रहेको जनाएको छ । यसपटक सुर्खेतमा २२ हजार बढी मतदाता थपिएका छन् । २०७४ सालमा दुई लाख १८ हजार मतदाता थिए ।
प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले निर्वाचन आयोगले सार्वजनिक गरेको स्थानीय तह निर्वाचनको कार्यतालिका बमोजिम निर्वाचनको तयारी अघि बढाइएको बताउनुभयो । कार्यालयले सुर्खेतको निर्वाचन व्यवस्थापनका साथै कर्णाली प्रदेशको निर्वाचनको समन्वय गर्नेछ । फागुन १९ गते सबै वडामा मतदाता नामावलीको विवरण पठाइने, त्रुटि सच्याउनुपर्ने भए सच्याउन सकिने र चैत १३ गते मतदाताको अन्तिम नामावली प्रकाशन गरिनेछ । आयोगले फागुन ५ देखि १५ गतेसम्म दल दर्ताको समय तोकेको छ । यसैबीच, प्रदेश निर्वाचन कार्यालयले छैँटौँ निर्वाचन दिवसका अवसरमा शुक्रबार आचारसंहिता र निर्वाचन व्यवस्थापनका विषयमा सरोकारवालासँग छलफल गरेको छ । २०१५ साल फागुन ७ गते मुलुकमा पहिलो आमनिर्वाचन भएको थियो । निर्वाचन आयोगले २०७३ सालदेखि हरेक वर्ष फागुन ७ गते निर्वाचन दिवस मनाउन थालेको हो । यस वर्ष ‘निर्वाचनमाः सबै, सधैँ, सँगै’ नारा तय गरिएको छ ।


