रङ्गशाला जङ्गलमा परिणत भएपछि…

भजनी, ९ फागुन । कैलालीको टीकापुर खेलकुदका लागि निकै सम्भावना भएको क्षेत्र हो । टीकापुरमा बस्ती विस्तारका समयमा खेलकुद विकासको सम्भावनालाई मध्यनजर गर्दै धेरै काम अगाडि बढाइएकोे थियो । पछिल्लो समय संघीय तथा स्थानीय सरकारले यहाँको खेलकुद प्रवद्र्धनमा ध्यान नदिँदा टीकापुरले पाउनुपर्ने सफलता अझै पाउन सकेको छैन ।

टीकापुर नगर खेलकुद विकास समितिको नाममा अहिले पनि २२ बिघा जग्गा छ । सरकारले अहिलेसम्म त्यो रङ्गशालाको स्तरोन्नतिका लागि करोडको लगानी गरिसकेको छ । राज्यको करोडौँ खर्च भएको रङ्गशाला जङ्गलमा परिणत छ । निर्माण भएका संरचना पनि संरक्षणको अभावमा काम नलाग्ने अवस्थामा पुगिसकेका छन् । खेलकुद क्षेत्रमा भएको राज्यको लगानीबाट अहिलेसम्म खेलाडीले फाइदा लिन सकेका छैनन् ।

यहाँ खेलकुदका गतिविधि सञ्चालन गर्न वीरेन्द्र विद्या मन्दिर माध्यमिक विद्यालयको खेलकुद मैदान एक विकल्पका रुपमा छ । स्थानीय सरकारदेखि अन्य सङ्घसंस्थाले आयोजना गर्ने खेलकुदका गतिविधि त्यहीँ विद्यालयको खेलकुद मैदानमा हुने गरेका छन् । केही साना खेलकुद प्रतियोगिता टीकापुरको खुला मैदानमा हुने गरेको भए पनि त्यो खेलकुदका लागि व्यवस्थित बनाउन सकिएको छैन ।

पछिल्लो समयमा टीकापुर क्षेत्रमा खेलकुदका गतिविधि निकै कम भएको स्थानीयवासी भरत भण्डारी बताउनुहुन्छ । “कुनै बेला टीकापुरमा महिनैपिच्छे खेलकुद प्रतियोगिता हुनेगर्थे । भएका संरचनाको युवा आफैँ पनि सरसफाइलगायतका काम गरेको देखिन्थ्यो । अहिले त्यो हराएको छ ।” उहाँले भन्नुभयो, “खेलप्रति खेलाडीको रुचि पनि कम भएको होकीजस्तो देखिन्छ । खेलकुदका गतिविधि नहुँदा युवा सामाजिक आपराधिक घटनामा लाग्ने हुन कि भन्ने चिन्ता बढेको देखिन्छ ।” स्थानीय सरकारको खेलकुद क्षेत्रमा खासै लगानी पनि हुन नसकेको र खेलाडीले खेलकुदमा भविष्य नदेखेकै कारण पनि खेल र खेलाडीमा कमी आएको उहाँको भनाइ छ । पछिल्लो समय खेलकुदका गतिविधि हुन छाडेपछि खेलाडीसमेत विस्थापित हुँदै गएका छन् ।

टीकापुर नगर खेलकुद विकास समितिका अध्यक्ष लक्ष्मण थापाले खेलकुदका क्षेत्रमा टीकापुरमा थुप्रै सम्भावना भए पनि यसको सदुपयोग हुन नसकेको बताउँनुहुन्छ । उहाँले टीकापुरमा खेलकुदको लागि पर्याप्त जग्गा भए पनि लगानी हुन नसक्दा समस्या भएको जानकारी दिनुभयो । “हामीले खेलकुदको लागि स्थानीयदेखि प्रदेश हुँदै सङ्घीय सरकारसम्म माग गरेका थियौँ । त्यसको सम्बोधन हुन सकेन भने स्थानीय सरकार खेलकुदको क्षेत्रमा त्यति गम्भीर नभएको हो कि भन्ने पनि लागेको छ ।” उहाँले भन्नुभयो, “अन्य पालिकामा खेलकुदका लागि थुप्रै संरचना निर्माण हुँदा नगरपालिकासँग एउटा कभर्डहलसम्म निर्माणका लागि पटकपटक समन्वय भए पनि त्यो सफल हुन सकेको छैन ।”

टीकापुर नगर प्रमुख तपेन्द्रबहादुर रावलले टीकापुरमा संरचनागत विकासको लागि नगरपालिकाले पहल गर्दै आएको दाबी गर्नुभयो । उहाँले सानोतिनो क्षेत्रलाई भन्दा पनि रङ्गशालालाई नै निर्माण गरी अगाडि बढ्ने योजना रहेको जनाउँदै खेलाडीको विषयमा नगरपालिकाले थुप्रै कार्यक्रममा सहयोग र सहकार्य गर्दै आएको जानकारी दिनुभयो । दुई वर्ष कोरोना सङ्क्रमणका कारण नगरपालिकाले गर्दै आएको मेयर तथा उपमेयर कप सञ्चालन गर्न नसकेको र अहिलेको परिस्थितिले पनि खेलकुद क्षेत्र चलायमान नभएको नगर प्रमुख रावलको भनाइ छ ।

“रङ्गशालाको कामलाई अगाडि बढाउन खोजेका थियौँ । त्यसमा थुप्रै काम पनि भएका छन् । अन्य खेलकुद मैदानमा पनि काम नै नभएको भन्ने होइन । काम भएका छन् ।” उहाँले भन्नुभयो, “हामीले सम्भावनालाई हेरेर खेल क्षेत्रको विकासलाई अगाडि बढाउँदै आएका छौँ । कुनै प्रतियोगितामा सहभागी हुन होस् वा नगरमा हुने खेलकुद प्रतियोगितामा हामीले सहयोग र समन्वय गर्दै आएका छौँ ।”(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।