दमकको १८ तले भ्युटावरलाई अस्पतालमा रूपान्तरण गर्न माओवादीको माग

झापा, ६ चैत । माओवादी केन्द्रले दमकमा बन्दै गरेको भ्युटावरलाई अस्पतालमा रूपान्तरण गर्न माग गरेको छ । दमक-३ मा बन्दै गरेको १८ तले भ्युटावरलाई सुविधा सम्पन्न सरकारी अस्पतालमा रूपान्तरण गर्न माग गरेको हो ।

माओवादी केन्द्रको नगर कमिटी बैठकले मेडिकल कलेजसहितको अस्पतालमा रूपान्तरण गर्न माग गरेको नगर कमिटी अध्यक्ष रवि बस्नेतले जानकारी दिए । ‘त्यहाँको संरचना अस्पताल बनाउन हुने नै छ । स्थलगत अनुगमन गरेर हामी यो निष्कर्षमा पुगेका हौँ,’ उनले भने, ‘हामीले गरेको निर्णय पार्टी केन्द्र र अध्यक्ष प्रचण्ड, अर्थ मन्त्रालयमार्फत प्रधानमन्त्री कार्यालय, प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयमार्फत मुख्यमन्त्री कार्यालयमा पनि पठाउने छौँ ।’

दमक क्षेत्रमा ठूलो सरकारी अस्पताल नभएका कारण पनि बन्दै गरेको संरचनामा मेडिकल कलेजसहित प्रादेशकि अस्पताल सञ्चालन गर्न माग गरिएको माओवादी दमकका इञ्चार्ज वेदु गौतमले जानकारी दिए । ‘जनताले निजी अस्पतालमा उपचार गर्न महँगो शुल्क तिर्नुपर्ने बाध्यता छ । सुविधा सम्पन्न सरकारी अस्पताल यहाँको आवश्यकता हो । यहाँ प्रादेशिक अस्पताल बनाउने हो भने प्रदेश-१ का नागरिकले राम्रो सुविधा पाउने थिए,’ उनले भने, ‘अस्पताल १५ तलासम्म राखौँ । त्यहाँमाथिको संरचना भ्युटावरको रूपमा नै प्रयोग गरौँ । त्यसो गर्दा अस्पताल पनि हुन्छ भ्युटावर पनि हुन्छ ।’

दमक-३ मा सरकारले एक अर्ब ५६ करोड १४ लाख ३९ हजार एक सय ६४ रुपैयाँमा धमामधम भ्युटावर बनाइरहेको छ । अहिले १३औँ तलाको काम भइरहेको छ । भवनभित्र चारवटा लिफ्ट भएकाका कारण अस्पतालका लागि पनि उपुयक्त हुने माओवादी केन्द्रका अध्यक्ष बस्नेतले बताए । ‘हामीले भ्युटावर निर्माणस्थलमा रहेका इञ्जिनियरहरूसँग पनि कुरा गर्‍यौँ । स्थानीयसँग पनि छलफल गर्‍यौँ । उहाँहरूले पनि अस्पतालका लागि उपयुक्त हुने बताउनुभएको छ,’ उनी भन्छन्, ‘अस्पताल भए यो ठाउँको पनि विकास हुने हाम्रो बुझाइ हो । भ्युटावर हुँदा दुरुपयोग पनि हुनसक्छ । अस्पताल आमनागरिकका लागि हुन्छ ।’ एमाले अध्यक्ष केपी ओलीको गृहनगरमा बन्दै गरेको यो भ्युटावरमा ओलीले विशेष महत्त्वका साथ हेर्ने गरेका छन् । यो भ्युटावर व्यपारिक प्रयोजनसहितको हुने बताइएको छ ।

स्थानीय पनि अस्पतालकै पक्षमा

माओवादीले निर्णय गरेजस्तै स्थानीय जनता पनि अस्पतालको पक्षमा छन् । दमक बजारदेखि करिब ६ किलोमिटर पश्चिमउत्तरमा बन्दै गरेको भ्युटावरलाई अस्पतालमा रूपान्तरण गर्न सके राम्रो हुने स्थानीय बताउँछन् । ‘सरकारी अस्पतालका लागि दमक पुग्नुपर्छ । त्यहाँ पनि लाइन बस्नै नसक्ने भीड हुन्छ । भ्युटावरको मुख्य उद्देश्य भ्यु हेर्नु हो । माथिल्लो तलमा भ्यु हेर्ने ठाउँ राखौँ बाँकीमा अस्पताल भए धेरै सुविधा हुन्छ,’ दमक-३ का स्थानीय प्रकाश पौडेलले भने, ‘अस्पताल आयो भने स्थानीयले रोजगारी पाउँछन् । अस्पताल आउने मानिसको संख्या धेरै हुँदा गाउँको विकास पनि हुन्छ ।’

दमक-३ मा भ्युटावरबाहेक केही पनि विकास भएको छैन । गाउँमा न खाने पानी पुगेको छ न त गतिलो सडक नै छ । स्थानीय अहिले पनि ट्युबवेलको पानी खान्छन् । भ्युटावरको सट्टा अस्पताल बने गाउँको विकासले फड्को मार्ने स्थानीय राजनप्रसाद घिमिरेको बुझाइ छ । ‘अस्पताल बनाउन सके त गाउँमा पक्की सडक बन्ने थियो । मान्छे आउने संख्या भएपछि सडक त बन्ला नि ! खानेपानी आउने थियो,’ उनी भन्छन्, ‘अहिले त भ्युटावरबाहेक केही छैन । सडकमा धुलो उडेर हिँडिसक्नु हुँदैन ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।