मोरङको रतुवामाईमा ग्यास लिक भएर लागेको आगोमा जलेर घाइते भएकी ३० वर्षीया सुरक्षा भट्टराईको मृत्यु
विराटनगर। मोरङको रतुवामाई नगरपालिका–९ भौडा टोलमा ग्यास सिलिण्डरबाट ग्यास लिक भएर लागेको आगलागीमा जलेर घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ।
मृत्यु हुनेमा ३० वर्षीया सुरक्षा भट्टराई रहेकी छन्। उनको काठमाडौंस्थित कीर्तिपुर बर्न अस्पतालमा आइतबार बिहान २ः४५ बजे उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार गत कात्तिक २४ गते हलीतिहारका दिन अपराह्न करिब ४ः३० बजे लोकनाथ भट्टराईको दुईतले पक्की घरको भुइँतलामा रहेको भान्छा कोठामा ग्यास सिलिण्डरबाट ग्यास लिक भई आगलागी भएको थियो।
आगलागीबाट भान्छा कोठामा रहेका भाँडावर्तन, फर्निचर, अन्नपात, लत्ताकपडा, फ्रिज, दराज र टेलिभिजन जलेर नष्ट भएका थिए। आगोबाट जोगिन भान्छा कोठाबाट बाहिर निस्कने क्रममा सुरक्षा पनि जलेर गम्भीर घाइते भएकी थिइन्।
लोकनाथ भट्टराईकी छोरी सुरक्षालाई सुरुमा उपचारका लागि विराटनगरस्थित नोबेल शिक्षण अस्पताल लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत सोही दिन कीर्तिपुर बर्न अस्पताल पुर्याइएको थियो।
उपचारकै क्रममा उनको मृत्यु भएको जानकारी आइतबार बिहान उनका श्रीमान् प्रमोद पोखरेलले इलाका प्रहरी कार्यालय सिजुवालाई गराएका थिए।
आगलागीबाट भान्छा कोठामा रहेका सामान जलेर नष्ट हुँदा करिब १ लाख १५ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।


