तेस्रो पटक म्याद गुज्रिन लाग्दा पनि मध्यपहाडीमा ३५ प्रतिशत मात्र प्रगति

खोटाङ, ६ चैत । पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तरगत खोटाङको चखेवाभञ्ज्याङ–सेखुवा (१० किलोमिटर) सडक खण्ड कालोपत्रेको तेस्रोपटक थप भएको म्याद सकिन लाग्दा ३५ प्रतिशत मात्र भौतिक प्रगति देखिएको छ ।

निर्माण कम्पनी भारत कन्स्ट्रक्सन/मैनाचुली/सिद्धिसाई जेभी, काठमाडौंको ढिलासुस्तीका कारण चखेवाभञ्ज्याङ–सेखुवा सडक कालोपत्रेको तेस्रोपल्ट थप भएको म्याद सकिन लाग्दा करिब ६५ प्रतिशत काम बाँकी रहन पुगेको हो ।

मध्यपहाडी लोकमार्ग अन्तरगत चखेवाभञ्ज्याङ–दिक्तेल (४६ किलोमिटर) सडक खण्डमा पर्ने चखेवाभञ्ज्याङ–सेखुवा खण्ड कालोपत्रेको काममा निर्माण कम्पनीले चरम ढिलासुस्ती गरेको सोही सडक खण्डमा पर्ने साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका वडाध्यक्ष विजय गुरुङले बताए । चखेवाभञ्ज्याङ–सेखुवा सडक खण्ड कालोपत्रेको तेस्रो पल्ट थप भएको म्याद आगामी ३० चैतमा सकिने पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

मध्यपहाडी लोकमार्गको खोटाङभित्र पर्ने चखेवाभञ्ज्याङ–सेखुवा बाहेकका खण्ड भने कालोपत्रे भइसकेको छ । तर, चखेवाभञ्ज्याङ–सेखुवा खण्ड कालोपत्रे नहुँदा खोटाङ र भोजपुर सिधा आवत–जावतमा समेत असर पुर्‍याइरहेको छ । निर्माण कम्पनीले अलपत्र पारेको सडक वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने गरेको छ ।

वर्षा याममा सडकमा सवारी साधन नगुड्दा बिरामीलाई स्वास्थ्य संस्थासम्म पुर्‍याउन कठिन हुने गरेको स्थानीय बताउँछन् । निर्माण व्यवसायीले सडक फराकिलो पारेर दुई/चार दिन काम गरेजस्तो गरेर छाड्ने गरेको बाँझेच्यानडाँडाका स्थानीय टिकाबहादुर रानाले बताए ।

सडकको काममा भएको ढिलासुस्तीका विरुद्ध स्थानीयले गत वर्ष संघर्ष समिति नै बनाएको थियो । ‘डोजर लगाएर भत्काउने काम गरे, काम लथालिंग पारे । दुई चार दिन काम गरेजस्तो गर्छ,’ रानाले भने, ‘ड्रेन नहुँदा वर्षाको भलवाढी खेतबारीमा पसेको छ । बारी बगर बनाएको छ ।’

भोजपुर–दिक्तेल सडक खण्ड अपग्रेडिङ गर्ने कार्यक्रम अन्तर्गत डबल लेनमा चौडा गर्ने, पुल पुलेसा, स्ट्रक्चर निर्माण गर्ने तथा सव–बेस, बेस सहित डिबिएसटी सर्फेस सतह सहित सडक स्तरोन्नति गर्ने गरी भारत कन्स्ट्रक्सन/मैनाचुली/सिद्धिसाइले चेनेज ४२+००० देखि चेनेज ५२+०० सम्मको ठेक्का लिएको थियो ।

भारत कन्स्ट्रक्सन/मैनाचुली/सिद्धिसाइले ३० फागुन २०७५ मा सम्पन्न गर्ने गरी २ चैत २०७२ मा चखेवाभञ्ज्याङ–सेखुवा खण्ड कालोपत्रेको सम्झौता गरेको थियो । तर सम्झौता अनुसार काम नगरेपछि थप भएको पहिलो म्याद १३ पुस २०७७ मा र दोस्रो म्याद १३ असार २०७८ मै गुज्रिएको थियो । काम अलपत्र पार्ने ठेकेदारलाई कारबाही गर्नुको म्याद थप गर्दै सट्टा बचाउ गरिएको भन्दै जिल्लावासी असन्तुष्ट छन् ।

सडक कालोपत्रेको काम अलपत्र पार्ने निर्माण व्यवसायीलाई पत्रमार्फत तथा विभिन्न मितिमा बैठकमा बोलाएर निर्माण कार्य सम्पन्न गर्न पटक–पटक ताकेता गरिरहेको पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी इन्जिनियर बिन्दु अधिकारीले जानकारी दिइन् । कार्यालयका अनुसार निर्माण व्यवसायीबाट बाँकी रहेको समयभित्र निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाए पनि साइटमा कुनै उपलब्धि हासिल नभएकाले केही समयअघि सचेत गराइएको छ ।

चखेवाभञ्ज्याङ–दिक्तेल सडकको पाँच प्याकेजमध्ये चखेवाभञ्ज्याङ–सेखुवा खण्डको काम अलपत्र परेको हो । चार प्याकेज (सेखुवा–दिक्तेल ३६ किलोमिटर) कालोपत्रेको काम भने रमन–गोल्डेन गुड जेभीले लगभग सम्पन्न गरिसकेको छ । २०७२ साल चैतदेखि चखेवाभञ्ज्याङ–दिक्तेल सडकको विभिन्न खण्डमा कालोपत्रेका विभिन्न चरणका काम थालिएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।