उपयोगविहीन बन्यो खोटाङका दुई बसपार्क

खोटाङ, १० चैत । आफ्नै गाउँमा बसपार्क बन्ने भएपछि खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल आचार्यगाउँका सोमप्रसाद आचार्यले चार रोपनी जग्गा उपलब्ध गराए । बसपार्क बनेपछि ‘चहलपहल बढ्छ, बजार बन्छ, गाउँकै स्थानीयले व्यापार व्यवसाय गर्ने वातावरण बन्छ’ भनेर आचार्यगाउँका स्थानीय बसपार्क निर्माणका लागि जग्गा दिन हौसिएका थिए । तर, अहिले बसपार्कमा नियमित बस नपुग्दा जग्गादाता निराश छन् ।

आचार्यगाउँमा बसपार्क निर्माणका लागि ७ स्थानीयले १५ रोपनी जग्गा दिएका थिए । बनेको वर्षदिनपछि १२ पुस २०७३ देखि आचार्यगाउँको बसपार्क सञ्चालनमा ल्याइएको थियो । दिक्तेलबजारबाट केही तल पर्ने आचार्यगाउँको बसपार्कमा सुरुदेखि नै नियमित बस नपुग्ने गरेको जग्गादाता पर्शुराम आचार्य बताउँछन् ।

‘बसपार्कमा बस आउने भनेपछि हामीले सुरुका बेला दुई दिन बाटो मर्मत गरेका थियौँ । अहिले बसपार्क पुग्ने बाटो ठिक छ । तर, बसपार्कमा बस आउँदैन,’ आचार्यले भने, ‘हामी पटकपटक नगरपालिकामा डेलिगेसन पनि गयौँ । तर, चासो दिइएन । लकडाउन अघिसम्म दुई चारवटा बस आउँदै थियो । त्यसपछि त बसपार्कमा बस देखिएको छैन ।’

बस पुग्न छाडेपछि आचार्य गाउँको बसपार्क चौरमा परिणत भएको छ । केटाकेटी खेल्ने, बिस्कुन सुकाउने, गाईवस्तु चराउने थलो बनेको छ । करोडौं खर्च गरेर बनाइएको बसपार्कलाई उपयोगमा ल्याउनमा स्थानीय सरकार र यातायात व्यवसायीको चासो नपुगेको स्थानीय पर्शुराम बिश्वकर्माले बताए ।

सोल्मा बसपार्कको अवस्था उस्तै

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको डाँडागाउँमा निर्माण गरिएको बसपार्कको अवस्था पनि उस्तै छ । सोल्मामा बसपार्क निर्माणकालागि स्थानीयले २० रोपनी जग्गा निःशुल्क दिएका थिए । सोल्माको बसपार्क १४ पुस २०७३ मा उद्घाटन गरिएको थियो । मध्यपहाडी लोकमार्गकै छेउमा रहेको सोल्मा बसपार्कमा समेत नियमित बस लैजाने गरिएको छैन ।

बसपार्कमा पार्किङ गरिएको अवस्थामा हुनुपर्ने बस हिजोआज दिक्तेलको रत्नपार्कस्थित किरातचोक आसपासका सडकको कुनामा पार्क गर्ने गरिएको छ । धेरैजसो बस मध्यपहाडी लोकमार्गको कुनामा पार्क गरेर राख्ने गरिएको देखिन्छ । नियमित बस नपुग्ने बसपार्कका शौचालय, यात्रु प्रतिक्षालय लगायतका संरचनासमेत जीर्ण बन्दै गएको छ ।

आचार्यगाउँको बसपार्कमा प्रहरी पोष्टका लागि बनाइएको अस्थायी टहरो भत्किसकेको छ । बसपार्क पुग्ने सडकको खराब अवस्था, बस्ने तथा खाने होटलको सुविधा अभावका कारण यातायात व्यवसायीले नियमित बसपार्कमा सवारी साधन लैजान नसकेको खोटाङ यातायात प्रालिका पूर्वी सेक्टर धनीराम राई नछुङ बताउँछन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।