अरुण तेस्रोको छ्याङ्गकुटी–दिदिङ खण्डको छुट मुआब्जा उपलब्ध गराइने
खाँदबारी, १८ चैत । सङ्खुवासभाको अरुण–३ जलविद्युत् परियोजनाको पहुँच मार्गअन्तर्गत छ्याङ्गकुटी–दिदिङ (०–२४ किमी) खण्डअन्तर्गतको छुट मुआब्जा उपलब्ध गराइने भएको छ ।
छुट मुआब्जा उपलब्ध गराउने निर्णय बिहीबार बसको मन्त्रिपरिषद् बैठकले गरेको हो । यसअघि मुआब्जा नपाएका तर लगत कट्टा भई सरकारी स्वामित्व कायम भएका जग्गा र यसअघि मुआब्जा वितरण वा निर्धारण भएकोभन्दा बढी जग्गा लगत कट्टा भई सरकारी स्वामित्व कायम भएको जग्गालाई जग्गाप्राप्ति ऐन, २०३४ बमोजिम मुआब्जा वितरण गर्न गृह मन्त्रालयमार्फत जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिने निर्णय गरिएको हो । उक्त निर्णयसँगै अब मुआब्जा लिन बाँकी रहेकाले मुआब्जा पाउने भएका छन् । (रासस)
अझै तीन दिन मौसम सफा नहुने
काठमाडौँ, १८ चैत (रासस) :अझै तीन दिन मौसम सफा नहुने भएको छ । भारतको विहार आसपासमा रहेको न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण देशका धेरैजसो स्थानमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् मञ्जु वासीले बताउनुभयो ।
उक्त प्रणालीको प्रभावले प्रदेश नं १ लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको बताइएको छ । “अझै तीन दिन मौसम सफा हुने अवस्था देखिएको छैन”, मौसमविद् वासीले भन्नुभयो ।
रातिको समयमा प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहने भई प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, मधेस प्रदेशलगायत र गण्डकी प्रदेशका केही भूभागमा आंशिकदेखि सामान्य बदली रही अन्य भूभागको मौसम सामान्यतया सफा रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १७ दशमलव पाँच डिग्री र अधिकतम तापक्रम २७ दशमलव दुई डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम पाँच दशमलव शून्य डिग्री र सबैभन्दा धेरै दिपायलको अधिकतम तापक्रम ३७ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ ।


