सरकारी अधिकृत छाडेर गाउँपालिका प्रमुखको उम्मेदवार

केदार मगर/खोटाङ, १६ वैशाख । “सातौँ तहको सरकारी जागिरे जीवनबाट बाहिरिएर जनताको मनभित्र पस्ने प्रयास गर्दैछु”, दिप्रुङ चुइचुम्मा गाउँपालिकाको प्रमुखका उम्मेदवार गोपालचन्द्र राईले भन्नुभयो “नौँ वर्ष एक महिना आठ दिन सरकारी जागिरे भएर जनताको सेवा गरेपश्चात जनप्रतिनिधि बनेर पुनः जनताकै सेवा गर्ने प्रण गरेको छु, मलाई पूर्ण विश्वास छ, त्यो अवसर मैले पाउनेछु ।”

दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेका बुवा केशरबहादुर र आमा कृष्णकुमारी राईको कान्छा छोरा गोपालचन्द्रले सातौँ तह (अधिकृत)को सरकारी जागिर छाडेर यही वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)बाट गाउँपालिका प्रमुखको उम्मेदवार बन्नुभएको छ । “गरिबी र अभावले जागिरे भएँ, जागिरबाट व्यक्तिमात्रै धनी, समाज भोकै हुँदा रहेछन्, समाज भोको हुँदा म एकजना व्यक्तिमात्र धनी हुन सक्दिनँ र चाहन्न पनि” उहाँले भन्नुभयो । समाज परिवर्तन गर्ने मुख्य बाटोनै राजनीति भएकाले सरकारी जागिर छाडेर गाउँपालिका प्रमुखमा उम्मेदवारी दिएको उहाँले बताउनुभयो ।

जागिरे जीवन सुरु गरेसँगै पेशागत सङ्गठनमा आबद्ध हुनुभएका राईले नेपाल आयल निगम राष्ट्रिय कर्मचारी सङ्गठन ट्रेड युनियनको केन्द्रीय अध्यक्षसमेत सम्हाल्नुभएको थियो । उहाँ हाल माओवादी केन्द्रको उपत्यका विशेष प्रदेशको सदस्य हुनुहुन्छ ।

“समाजलाई धनी बनाउन स्थानीय स्रोत–साधन काफी छ, प्रसस्त रहेको बजेटलाई समुचित प्रयोग गरी प्रत्येक व्यक्तिलाई रोजगारी दिन सकिन्छ” उहाँले भन्नुभयो । सीप र ज्ञानलाई विकास र उत्पादनसँग जोड्नुपर्ने उहाँ तर्क गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ “सम्पन्नता यही सम्भव छ, विदेश जानुपर्दैन, म यो बाटो देखाउनेछु ।”

विसं २०६९ चैत १ गते सरकारी सेवामा प्रवेश गरेर यही वैशाख ६ गते स्वेच्छिक अवकाश लिनुभएका राईले पछिल्लो समय राजनीतिमा पैसा प्रधान हुँदै गएको बताउनुहुन्छ । “युवाको मनोभावना र दिप्रुङ चुइचुम्मा गाउँपालिकावासीको सपना साकार पार्न मैले गाउँपालिका प्रमुखमा उम्मेदवारी दिएको हुँ, रोजगारीको वातावरण यही सम्भव छ ।”

‘आर्थिक समृद्धि र न्यायसहितको समानता, प्रत्येक युवालाई रोजगारी हाम्रो प्रतिबद्धता’ राईको चुनावी नारा हो । ‘एक घर, एक रोजगार’ भन्ने कार्यक्रम ल्याएर युवालाई रोजगारी दिने आफ्नो लक्ष्य सुनाउँदै राईले भन्नुभयो, “जसका लागि स्थानीय नीतिगत ऐन–कानुन बनाउनुपर्नेछ ।” शिक्षा नपुगेको ठाउँमा विद्यालय, हिलाम्मे सडक स्तरोन्नति गर्ने र पालिकामा कृषि बैंक स्थापना गर्ने उहाँको लक्ष्य छ ।

देश र समाजका लागि सेवा गर्न राजनीतिमा आएको उहाँले तर्क गर्नुभयो । उहाँले भन्नुभयो “सेवक बन्न राजनीतिमा आएको हुँ ।” बजेट वितरण विभेदपूर्ण गर्दै आफ्नो क्षेत्रको विकास निर्माणलाई मात्र प्राथमिकतामा राख्ने गलत परम्परा भएको जनाउँदै उहाँले त्यसविरुद्ध आफ्नो उम्मेदवारी भएको बताउनुहुन्छ । “म जाति, वर्ग, क्षेत्र र पार्टीको आधारमा विभेद गर्दिनँ, बजेट विनियोजन विभेदरहित हुनुपर्छ भन्ने मेरो मान्यता हो” उहाँले भन्नुभयो ।

विद्यार्थी राजनीतिसँगै करिब आठ वर्ष जिल्लामा रहेर पत्रकारितासमेत गर्नुभएका राई महालेखा परीक्षकको प्रतिवेदन मात्र होइन जनताको लेखा परीक्षणलाई पनि विश्वास गुर्नपर्ने बताउनुहुन्छ । “आर्थिक पारदर्शिताका सवाल जनताको घरका भित्ताभित्तामा टाँस्नेछु” उहाँले प्रतिबद्धता जनाउनुभयो ।

राईले शासक बनेर कार्यालयमा टक्क बस्ने र नमस्कार थाप्ने प्रवृत्तिविरुद्ध लड्नेसमेत प्रतिबद्धता जनाउनुभएको छ । “म नमस्कार खानका लागि होइन, घरदैलोसम्म सेवा सुविधा पु¥याउन आएको हुँ”, उहाँले भन्नुभयो, “म प्रष्ट छु, जनतालाई समृद्ध बनाउन सके मेरो राजनीतिक यात्रा अघि बढ्छ, नसके टुङ्गिन्छ, म लामो यात्रामा निस्केको यात्री हुँ, पालिका हुँदै देशको नेतृत्व गर्ने सपना बोकेको छु । त्यसैले, जनताप्रति म प्रतिवद्ध हुनेछु ।”

बतासेबाटै एसएलसी उत्तीर्ण गर्नुभएका राईले दिक्तेल बहुमुखी क्याम्सबाट स्नातक, जनप्रशासन बहुमुखी क्याम्पस बल्खु काठमाडौँबाट एमपिए, राजविराजस्थित महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसबाट एलएलबी र त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर उत्र्तीण गर्नुभएको छ । विसं २०५६ देखि ०६६ सम्म एमालेको विद्यार्थी सङ्गठन अनेरास्ववियुको विभिन्न पदमा रहेर राजनीति गर्नुभएको थियो ।
सात वडा रहेको दिप्रुङ चुइचुम्मा गाउँपालिकाको प्रमुखमा राईसहित सात जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । नेकपा (एमाले)बाट लोकेन्द्र राई, नेपाली कांग्रेसबाट नइन्द्र राई, नकेपा (एकीकृत समाजवादी)बाट ओमीराज राई, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कल्पना राई, स्वतन्त्रबाट विश्वराज राई र सुरेश राईको उम्मेदवारी दर्ता भएको जनाइएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।