आफ्नै बाचा भुल्छन् जनप्रतिनिधि

पूर्णप्रसाद मिश्र/काठमाडौँ, (कागेश्वरी मनोहरा), २१ वैशाख (रासस)। उमेरले ८० वर्ष प्रवेश गर्नुभएका कागेश्वरी मनोहरा नगरपालिका–५ का रामजीप्रसाद कुइँकेलले यसअघि नै १० पटकभन्दा बढी मतदान गरिसक्नु भएको छ ।

पञ्चायतकालदेखि नै मतदान गर्दै आउनुभएका उहाँका अनुभवमा चुनावमा मत माग्न आउँदा गरेको बाचा अनुसार नेता कार्यकर्ताले निर्वाचित भएपछि काम गर्दैनन् । मत माग्न आउँदा जनसरोकारका सबै मुद्दा समाधान गरिदिने बाचा गर्छन् । निर्वाचित भएपछि यसलाई बिर्सन्छन् । अर्को निर्वाचनमा तिनै नेता, कार्यकर्ता उही बाचा लिएर जनताको घर दैलोमा पुग्छन् ।

पछिल्लो पटक विसं २०७४को वैशाखमा स्थानीय तह र मङ्सिरमा प्रदेश एवं सङ्घीय सांसदका लागि उहाँले मत खसाल्नुभयो । जोरपाटी–थली–साँखु सडकको नजिकैको घरमा बस्दै आउनुभएका उहाँजस्ता हजारौँ नागरिकले विगत सात वर्षदेखि धुलो र हिलो भएको सडकको सास्ती भोग्नुपरेको छ ।

विसं २०७२ मै ठेक्का भएको यो सडक पाँच वर्षअघिको निर्वाचनताका पनि यस्तै धुलाम्य र हिलाम्य थियो । अहिले पनि उस्तै छ । त्यसबेला तीनै तहको निर्वाचनमा मत माग्न आउँदा विभिन्न दलका नेता, कार्यकर्ताले आफूले जिते धुलो र हिलोको समस्या समाधान हुने प्रतिबद्धता जनाएका थिए । स्थानीयवासीका अनुसार विगत पाँच वर्षमा सो सडकको अवस्थामा सुधार भएन । सडक किनारका घरले उठाउँदै आएका मुद्दा समाधान गरिएन ।

“ चुनावप्रति अब ममा उत्साह नै छैन, मत हाल्न पनि जाऔँ कि नजाऔँ जस्तै लाग्न थालेको छ, धुलो र हिलोले बसिसक्नु छैन”, जीवनको आठ दशक पार गरिसक्नुभएका कुइँकेलले भन्नुभयो ।कागेश्वरी मनोहरा नगरपालिकाको केन्द्रसमेत रहेको थलीका मतदाताको मोह कान्ति भैरव माध्यमिक विद्यालयका नाममा रहेको ठूलो चौरको विभिन्न तहबाट भएको अतिक्रमणले पनि भङ्ग भएको छ ।

दुई दशकदेखि नै विद्यालयको जग्गा वरिपरिबाट स्थानीय सीमामा परेका जग्गाधनीले नै मिचेका थिए । नगरपालिकाको भवन त अन्तिम चरणमा पुगेको छ । खुला चौर भने मासिएको छ ।विसं २०७२ वैशाख १२ गतेको भूकम्पपछि हजारौँ मानिसले थली चौरको खुला आकाशमुनि आश्रय लिएका थिए । अन्यत्रको सार्वजनिक जग्गामा नगरपालिकाको भवन बनाउन सकिने भए पनि विद्यालयको जग्गा स्थानीय सरकारले उपयोग गर्दा विपद्मा आश्रय लिने ठाउँ नभएको स्थानीय सृजना पौडेलले सुनाउनुभयो ।

“थली चौर यहाँको सान थियो, भूकम्प, आगलागी, बाढी पहिरोजस्ता विपद्मा अब कहाँ गएर आश्रय लिने ?” स्थानीय तहका जनप्रतिनिधिलाई उहाँको प्रश्न छ ।स्थानीयवासी ३० वर्षदेखि हिँड्दै आएको बाटो बन्द भएर दुःख पाएको गुनासो गर्छन् ।

एक दशक अघिदेखि थली चौरको करिब ३०० मिटरभित्र घर बनाएर बस्दै आउनुभएका तुलसीप्रसाद चौँलागार्इँ एक वर्षदेखि बाटो नपाएको सुनाउनुहुन्छ । न्यायिक समितिमा एक वर्ष अघिदेखि उजुरी दर्ता गरे पनि न्याय नपाएको उहाँको दुःखेसो छ । न्यायिक समितिले तीन महिनामा न्याय दिनुपर्ने कानुनी व्यवस्था भए पनि पूरा भएको छैन ।स्थानीय तहमा सानातिना मुद्दा मिलाउन सक्ने गरी न्यायिक समितिको व्यवस्था गरे पनि त्यो प्रभावकारी हुन नसकेको बताइएकोछ ।

कागेश्वरीमा केन्द्रमा भन्दा बढी समस्या वडावडामा छ । नगरपालिकाको–६ मूलपानीको भित्री सडक दुई महिनादेखि ढलान एवं स्तरोन्नति रोकिएको छ । व्यक्तिले आफ्नो रुचिअनुसार सडकमा जग्गा नपार्न चाहेकाले काम रोकिएको स्थानीय पीडित विदुर सापकोटा बताउनुहुन्छ ।

आसन्न निर्वाचनका लागि नगरपालिकामा कूल ३५ हजार ४९३ मतदाता छन् । नौ वडा रहेको नगरपालिकामा नगर प्रमुखका ११, उपप्रमुखका पाँच उम्मेदवार मैदानमा छन् । वडाध्यक्ष र सदस्यसमेतको गरी कूल २०९ जना उम्मेदवारले प्रतिष्पर्धा गरिरहेको निर्वाचन अधिकृत शारदा राउतले जानकारी दिनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।