हतुवागढीको अध्यक्षमा एमाले विजयी
भोजपुर, २ जेठ । भोजपुरको हतुवागढी गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) का प्रेमकुमार राई विजयी हुनुभएको छ । राईले चार हजार ४२ मत प्राप्त गर्नुभयो भने उहाँका निटकतम प्रतिद्वन्द्वी गजेन्द्र कार्कीले तीन हजार ३५३ मत पाउनुभयो ।
गाउँपालिकामा उपाध्यक्ष पदमा भने माओवादी केन्द्रकी सुनिता किराँती तीन हजार ७०८ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी एमालेकी कमला राईले तीन हजार ७११ मत प्राप्त गर्नुभयो ।
महालक्ष्मी नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमालेको अग्रता
काठमाडौँ, २ जेठ (रासस)ःललितपुर जिल्लाको महालक्ष्मी नगरपालिकामा प्रमुख र उपप्रमुख दुबैमा नेकपा (एमाले) का उम्मेदवारको अग्रता रहेको छ । हालसम्म प्राप्त मतपरिणामअनुसार नगर प्रमुखमा नेकपा एमालेका हरिगोविन्द श्रेष्ठले एक हजार ७१ मत पाउनुभएको छ ।
उहाँका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका शिव कट्टेलले एक हजार दुई मत ल्याउनुभएको छ । उपप्रमुखमा नेकपा एमालेकी बीना सुवेदी केसीले एक हजार २७३ मत ल्याएर अग्रता कायम गर्नुभएको छ भने उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली कांगे्रसकी लक्ष्मी महर्जनले एक हजार ८५ मत पाउनुभएको छ ।
उक्त नगरपालिका वडा नं १ को अध्यक्षमा एमालेका छिरिङ लामा विजयी हुनुभएको छ । हाल वडा नं ९ मा मतगणना जारी रहेको छ । वडा नं १० का मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभेटिएपछि सो वडाको गणना भएको थिएन । मतगणना सुस्त भएकाले दुई दिन वितिसक्दा पनि हालसम्म एउटा वडामा मात्रै मतगणना सकिएको छ ।


