सुरुङ्गा नगरपालिकाको प्रमुखमा कांग्रेस विजयी
सप्तरी, ५ जेठ । सप्तरीको सुरुङ्गा नगरपालिकाको नगरप्रमुखमा नेपाली कांग्रेसका गीता कुमारी चौधरी निर्वाचित भएकी हुन्। उनले ७ हजार २ सय ९२ मत प्राप्त गरी निर्वाचित भएकी हुन्।
उनको निकटतम प्रतिद्वन्द्वी नेपाल नेकपा ( एकीकृत समाजवादी) का रामनारायण चौधरीले ४ हजार २ सय ७० मत प्राप्त गरे। यसअघि जिल्लाको कुनै पनि स्थानीय तहमा महिला नगरप्रमुखमा निर्वाचित भएका थिएनन् ।
तयस्तै, उपप्रमुखमा नेपाली कांग्रेसकै रूद्र बहादुर कार्की विजय भएका छन्। उनले ६ हजार २ सय ७५ मत प्राप्त गरेका छन् । उनका निकटत प्रतिद्वन्द्वी नेकपा ( एकीकृत समाजवादी) का सुनिता कुमारी मुखियाले ३ हजार ९ सय ९८ मत प्राप्त गरिन्।
ताप्लेजुङमा चार स्थानीय तहमा कांग्रेस विजयी
फुङ्लिङ, ५ जेठ (रासस) :ताप्लेजुङको नौवटै स्थानीय तहको मतगणना सम्पन्न भएको छ । नेपाली कांग्रेस सर्वाधिक चार स्थानीय तहमा विजयी भएको छ । नेकपा (एमाले)ले तीन र नेकपा (माओवादी केन्द्र)ले दुई स्थानीय तहमा जित हासिल गरेको छ ।
प्राप्त मत परिणामअनुसार फुङ्लिङ नगरपालिका तथा मिक्वाखोला, मेरिङदेन र सिरिजङ्गा गाउँपालिकामा काँग्रेस विजयी भएको छ । यस्तै आठराई त्रिवेणी, सिदिङवा र पाथीभरा याङवरक गाउँपालिकामा एमाले र फक्ताङलुङ र मैवाखोला गाउँपालिकामा माओवादी केन्द विजयी भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
त्यस्तै उपाध्यक्षमा काँग्रेसले फक्ताङलुङ र मैवाखोलामा जित हासिल गरेको छ । एमालेले फुङ्लिङ नगरपालिकामा उपप्रमुख तथा आठराई त्रिवेणी र पाथीभरा याङवरक गाउँपालिकामा उपाध्यक्षमा निर्वाचित भएको छ । यस्तै मिक्वाखोला, सिदिङवा र सिरिजङ्गामा माओवादी केन्द्रले उपाध्यक्षमा जितेको छ । मेरिङदेनमा एकीकृत समाजवादी उपाध्यक्षमा विजयी भएको छ ।
नौ स्थानीय तहको ६१ वडामध्ये ३० वडामा एमाले, १५ वडामा कांग्रेस, १० वडामा माओवादी केन्द्र, दुईमा एकीकृत समाजवादी र एउटामा सङ्घीय लिम्बूवान मञ्च विजयी भएको छ । त्यस्तै ४ वडामा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् ।


