सामुदायिक तथा निजी क्याम्पसका विद्यार्थी र शिक्षकहरुलाई लक्षित गरि हिलेमा युवा उद्यमशिलता विकास कार्यक्रम शुरु
धनकुटा । सामुदायिक तथा निजी क्याम्पसका विद्यार्थी र शिक्षकहरुलाई लक्षित गरि आजदेखि हिलेमा युवा उद्यमशिलता विकास कार्यक्रम शूरु भएको छ ।
जिल्लाका सामुदायिक तथा निजी क्याम्पसका विद्यार्थी र शिक्षकहरुको उद्यमशिलता सम्बन्धि प्रयोगात्मक ज्ञान, सीपको अभिवृद्धी गर्ने उद्देश्यका साथ आयोजित कार्यक्रमको धनकुटा नगरपालिका प्रमुख चिन्तन तामाङले उद्घाटन गर्नुभएको हो ।
हिले क्याम्पसको आयोजना तथा विश्वविद्यालय अनुदान आयोग सानोठिमी भक्तपुरको सहयोगमा सञ्चालित कार्यक्रमको उद्घाटनसत्रलाई सम्बोधन गर्दै नगर प्रमुख तामाङले विद्यार्थीहरुलाई उद्यम् व्यवसाय तर्फ लाग्न आग्रह गर्नुभयो ।
जीवनलाई समृद्ध वनाउने एक मात्र आधार उद्यम भएकोले समयमै आफ्नो रुची अनुसारको विषयमा शिक्षा आर्जन गरि उद्यमशिल बन्न आवश्यक रहेको उल्लेख गर्नुभयो । यदि विद्यार्थीहरुले कुनै उद्योग व्यवसाय सञ्चालन गर्न चाहे नगरमा प्रतावाना ल्याएर आउदा आवश्य सहयोग गर्ने बताउनुभयो ।
उहाँले नगरका युवाहरुले उद्यमशिल बन्न चाहे बैंकबाट ऋण उपलब्ध गराउने समेत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा व्यवस्था गरिएको जानकारी गराउनुभयो । कार्यक्रममा धनकुटा नगरपालिका १ नं वडाध्यक्ष वङदा तामाङले वडाका युवाहरुलाई सीप सिकाई उद्यमशिल बनाउन वडाले हेयर कटिङ, ड्राईभिङ लगायतका तालिम दिन नीति तथा कार्यक्रम तयार गरि बजेट समेत विनियोजन गरेको बताउनुभयो ।
आफ्नो उर्जाशिल समयलाई सदुपयोग गर्दै सीप सिकेर उद्यमशिल बन्न र आफ्नो जीवनलाई सहज बनाउन उहाँले विद्यार्थीहरुलाई सुझाव पनि दिनुभयो । त्यस्तै होटल एशोसिएशनका अध्यक्ष खगेन्द्र विष्टले समयको व्यवस्थापन गर्दै यदि विद्यार्थीहरुले होटल व्यवसाय तर्फ केही सिक्न चाहे आफुले सहयोग गर्ने उल्लेख गर्नुभयो भने हिले क्याम्पस सञ्चालन समितिका उपाध्यक्ष भुपेन्द्र कटुवालले विद्यार्थीहरुलाई समूह बनाई रुची अनुसारका सीप सिकाएर सोही अनुसारको उद्योग व्यवसाय सञ्चालन गर्दा उपलब्धि मूलक हुने धारणा राख्नुभयो ।
हिले क्याम्पस प्रमुख तारानाथ मिश्रको अध्यक्षतामा सञ्चालित कार्यक्रममा क्याम्पस सञ्चालन समितिका सदस्य लालचन गोङवा, हिले बजार व्यवस्थापन समितिका अध्यक्ष वुद्ध तितुङ,युवा व्यवसायी फुर्वा तामाङ लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन प्राध्यापक मुकुन्द प्रसाद शर्माले गर्नुभएको थियो ।
स्वागत मन्तव्य सहायक क्याम्पस प्रमुख प्रदीप फुयालले राख्नुभएको थियो । भोलि सम्म सञ्चालन हुने कार्यक्रममा टमाटर खेती, स्थानिय स्तरमा बिस्कुट उत्पादन, साना उद्योग सञ्चालनका लागि बैकको भुमीका,युवा उद्यमशिलताको आवश्यक्ता र महत्व लगायतको वारेमा प्रशिक्षण दिईने क्याम्पसले जनाएको छ ।






