कांग्रेस खाेटाङमा एकले अर्कालाई कारबाही सिफारिसकाे शृंखला

खोटाङ, ११ साउन । खोटाङमा कांग्रेस नेताबीच दुईवटा अनुशासन समितिमार्फत एक अर्काबिरुद्ध कारबाही सिफारिस गर्ने शृंखला सुरु भएपछि अनुशासन समिति पुनर्गठन गरिएको छ ।

कांग्रेस जिल्ला कार्यसमितिको नवौं बैठकले जिल्ला सचिव ज्ञानेन्द्र जोशी र पूर्वसभापति नरेश श्रेष्ठ संयोजकत्वको छुट्टाछुट्टै अनुशासन समितिको सट्टा नरेश श्रेष्ठकै संयोजकत्वमा तीन सदस्यीय अनुशासन समिति पुनर्गठन गरिएको हो ।

नवगठित अनुशासन समितिको सदस्यमा वीरकाजी राई र सिजन राई रहेको कांग्रेस सचिव समिर राईले बताए । स्थानीय तहको निर्वाचन परिणामलाई लिएर कांग्रेसका नेताबीचमा आफू अनुकूलका अनुशासन समितिमार्फत एकले अर्कालाई कारबाही गर्ने शृंखला सुरु भएपछि अनुशासन समिति पुनर्गठन गरिएको हो ।

स्थानीय तहको निर्वाचनमा आधिकारिक उम्मेदवार हराउन भूमिका खेलेको आरोपसहितको उजुरीका आधारमा अनुशासन समितिका संयोजक रहेका सचिव जोशीले २६ असारमा प्रदेश १ का महामन्त्री भूपेन्द्र राई, दिप्रुङ चुइचुम्मा गाउँपालिका सभापति अमृत गिरीसहित २४ जनालाई कारबाही गर्न सिफारिस गरेका थिए । पछि पुन: २८ असारमा पाँच गाउँपालिका सभापति र एक पालिका उपसभापतिले भ्रामक प्रचार गरी आरोप लगाएको भन्दै सभापति विष्णुकुमार राई र सचिव जोशीलाई नै कारबाहीका लागि श्रेष्ठ संयोजकत्वको अनुशासन समितिसमक्ष सिफारिस गरेका थिए ।

प्रदेश महामन्त्री राईलगायतमाथि कारबाहीको डण्डा चलाइएपछि कांग्रेस दिप्रुङ चुइचुम्मा गाउँपालिका सभापति गिरी, खोटेहाङ गाउँपालिका सभापति प्रेमकुमार थापा, बराहपोखरी गाउँपालिका सभापति खिलाराज राई, जन्तेढुंगा गाउँपालिका सभापति बाजिन्द्र विष्ट, केपिलासगढी गाउँपालिका सभापति होमबहादुर राई र ऐसेलुखर्क गाउँपालिका उपसभापति धनकाजी राई (सुरेन्द्र)ले उल्टै आफ्नै पार्टीलाई हराउन गतिविधि गरेको दावीसहित जिल्ला सभापति राई र सचिव जोशीलाई कारबाहीका लागि अनुशासन समितिसमक्ष सिफारिस गरेका थिए ।

गुटगत हिसाबले एकले अर्कालाई कारबाहीका लागि सिफारिस गर्ने तहमा ओर्लिएको अवस्थामा जिल्ला कार्यसमितिको बैठकले अनुशासन समिति पुनर्गठन गरेको हो । स्थानीय तहको निर्वाचनमा घात-अन्तर्घात भएका विषयमा परेको उजुरीउपर भने पुनर्गठित समितिले छानविन सुरु गरिसकेको सचिव राईले बताए ।

बागी उठेका बिष्णुराजको ‘कमव्याक’

खोटाङमा २०७० को संविधानसभा सदस्य निर्वाचनमा बागी उम्मेदवारी दिएका कारण पाँच वर्षका लागि पार्टीबाट निष्कासित भएका कांग्रेस नेता विष्णुराज राई जिल्ला कार्यसमिति सदस्य मनोनयन भएका छन् । संविधानसभा सदस्य निर्वाचनमा कांग्रेसका अधिकारिक उम्मेदवार विष्णुकुमार राईबिरुद्ध बागी उम्मेदवार दिएका कारण पाँच वर्षसम्म साधारण सदस्यसमेत नरहने गरी निष्कासनमा परेका विष्णुराज जिल्ला कार्यसमिति सदस्य मनोनयन भएका हुन् ।

विष्णुकुमारले कांग्रेस जिल्ला सभापतिको हैसियतले विष्णुराजलाई जिल्ला सदस्य मनोनयन गरेका हुन् । सभापति राईले पठाएको मनोनयपत्रमा ‘कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा १२ उपधारा ५ (ख) को २ ले व्यवस्था गरेअनुसार जिल्ला कार्य समिति सदस्य मनोनयन गरिएको’ उल्लेख छ ।

दिप्रुङ चुइचुम्मा गाउँपालिका-७ टेम्माका विष्णुराज कांग्रेसका क्षेत्रीय सभापति थिए । आधिकारिक उम्मेदवारविरुद्ध बागी उठेपछि विष्णुराजसहित प्रस्तावक टेम्माका देउबहादुर राई दिनेश र समर्थक निरेश राईलाई २०७० पुसमा साधारण सदस्यसमेत नरहने गरी पाँच वर्षका लागि निष्कासन गरिएको थियो । पाँच वर्षे कारबाही स्वतः फुकुवा भएपछि विष्णुराजले पुन: पार्टीको क्रियाशील सदस्यता लिएको कांग्रेस खोटाङका उपसभापति इवन राई बताउँछन् ।

गत मंसिरमा सम्पन्न कांग्रेस खोटाङको सातौं जिल्ला अधिवेशनमा उनी क्षेत्रीय प्रतिनिधिका रूपमा सहभागी बनेका थिए । पाँच वर्षे कारबाहीपछि राजनीतिमा भएको उनको ‘कमव्याक’लाई चासोका साथ हेरिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।