कार्गो कुर्दै भैरहवा विमानस्थल

भैरहवा, २५ भदौ । साउनको ११ गते भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरी पहिलो पटक कार्गो सामग्री बाहिर निर्यात गरियो । काठमाडौँको हिमालेक्स टे«डर्सले नेपाली उत्पादन राइजिङ स्टार कार्गो प्रालिमार्फत बाहिर पठाएको थियो । हस्तकलाजन्य सामान जजिरा एयरबाट कुवेत ट्रान्जिट हुँदै फ्रान्स पठाइएको हो ।

त्यसयता सो विमानस्थलबाट निर्यात हुनै सकेको छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वैकल्पिक विमानस्थलका रुपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल व्यवसायीले चासो नदिँदा निर्यातका लागि सदुपयोग नसकेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रयोग गरी नेपाली उत्पादन बाहिर निर्यात भइरहे पनि भैरहवा विमानस्थल भने सुनसान छ ।

निर्यातका लागि सम्भावना रहेको विमानस्थलको समुचित प्रयोगका लागि यहाँका निजी क्षेत्रले चासो नदिएको नेपाल फ्रेट फरवर्डस एसोसिएसन (नेफा) का अध्यक्ष मनोज अधिकारी बताउनुभयो । “सधैँ काठमाडौँकै व्यवसायी आएर यहाँको विमानस्थल धान्ने हैन । यसका लागि यहीँका निजी क्षेत्र लाग्नुपर्छ”, उहाँले भन्नुभयो, “स्थानीय उत्पादनको पहिचान गरी विमानस्थलमार्फत निर्यातको तयारी गर्नु नै उत्तम हुन्छ ।”

रुपन्देही हरियो तरकारी र माछाका लागि उर्वर भूमि हो । यो विमानस्थलबाट जडीबुटी, कफी, चाउचाउ, मैदालगायत सामग्री निर्यात गर्न सकिने उहाँले बताउनुभयो । “निर्यातजन्य वस्तुको पहिचान गरी यसको उत्पादनमा जोड दिनुपर्छ, यसको सहजीकरणका लागि नेफा तयार छ”, अधिकारीले भन्नुभयो, “विमानस्थललाई पर्यटनमा मात्र नभई उत्पादनमूलक उद्योगको प्रवद्र्धनमा पनि जोडौँ ।”

तत्कालका लागि अस्थायीरुपमा दैनिक चार–पाँच सय टन सामग्री आयातनिर्यात गर्न सकिने संरचना तयार भएको छ । नजिकको विमानस्थल छाडेर अहिले पनि यस क्षेत्रका व्यवसायीले आफ्नो उत्पादन विदेश निर्यात गर्दा काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरिरहेका छन् ।

सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष भीष्म न्यौपाने यहाँबाट के पठाउने भन्ने नै अहिले स्पष्ट नरहेको बताउनुहुन्छ । भर्खर सञ्चालनमा आएकाले उद्योगी व्यवसायी अन्योलको अवस्थामा रहेको उहाँको भनाइ छ । व्यवसायीका अनुसार अहिले विभिन्न कानुनी अड्चन रहेका छन् । हरियो तरकारी भण्डारणदेखि लिएर यसका लागि चिस्यान केन्द्र तथा भन्सार जाँच बिन्दुको पनि अभाव रहेको उद्योगीको भनाइ छ ।

कार्गो ढुवानीले लुम्बिनीका कृषि उत्पादन र औद्योगिक उत्पादनलाई विदेशी बजार पाउन सहज बनाएको विमानस्थलका महाप्रबन्धक गोविन्द दाहालको भनाइ छ । उहाँले यस क्षेत्रका व्यवसायीलाई आयात/निर्यातका लागि गौतमबुद्ध विमानस्थललाई प्रयोग गर्न आग्रह गर्नुभयो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा प्रमुख टीकाराम गैरेका अनुसार भन्सार कार्यालय आयात/निर्यातका लागि पूर्णतया तयार रहेको छ । उहाँले आयात निर्यातका लागि चाहिने आवश्यक भौतिक पूर्वाधारका साथै जनशक्ति पनि रहेका कारण विमानस्थल प्रयोग गरी आयात/निर्यात गर्न कुनै बाधा नरहेको बताउनुहुन्छ । चाँडै नै विमानस्थलमा निर्माण सम्पन्न भएको कार्गो भवन पनि सञ्चालनमा आउने र यसले यस क्षेत्रको उत्पादनलाई भण्डारण गर्नेदेखि निर्यात गर्न थप सहज हुने गैरे बताउनुहुन्छ ।

जेठ २ गतेदेखि औपचारिकरुपमा सञ्चालनमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट एकमात्र एयरलाइन्स कम्पनी जजिरा एयरलाइन्सले सातामा तीन पटक कुवेत–भैरहवा–कुवेत उडान गर्दै आइरहेको छ । बढ्दो सवारी चापका कारण जजिराले यही भदौ ३१ गतेदेखि भैरहवाबाट दैनिक उडान गर्दैछ । यसका लागि जजिराले उडान अनुमतिसमेत पाइसकेको छ ।

विमानस्थलले अहिले एयरलाइन्स कम्पनीलाई विभिन्न छुट प्रदान गरेको छ । विमानस्थलमा ल्याण्डिङ, पार्किङ र नेभिगेसनमा शतप्रतिशत छुट दिइँदै आएको छ । यसैमा भदौ २ गतेदेखि विमानस्थलले ग्राउण्ड हेन्डलिङमा समेत ५० प्रतिशत छुट दिने निर्णय गरेको छ । यसले कार्गो ढुवानी काठमाडौँभन्दा भैरहवामा सस्तो बनाएको जजिराका बिक्री तथा बजार प्रबन्धक राजेन्द्र बानियाँ बताउनुहुन्छ । यताको उत्पादन काठमाडौँ पु¥याउँदा लाग्ने खर्च र एयरलाइन्सको खर्चसमेत जोड्दा त्यसको तुलनामा भैरहवाबाट आया/निर्यात गर्दा सस्तो हुने उहाँको भनाइ छ ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।