धरानबाट जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ, साढे दुई लाख नगद बरामद
सुनसरी, ५ असोज । धरान उपमहानगरपालिका–१० स्थित हाम्रो होटलबाट जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही उपमहानगरपालिका–१६ बस्ने ३३ वर्षीय जीवन बस्नेत लगायत रहेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उक्त होटलमा जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई नगद २ लाख ५२ हजार ८ सय ३५ रूपैयाँ र ५ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
भेरीको पानीबाट लिफ्ट गरी कुदुमा सिँचाइ
हेमन्त केसी/सुर्खेत ५ , असोज । पटक-पटक चुनावी नारा बन्दै आएको जाजरकोट भेरी नगरपालिका –१३ कुदुमा लिफ्टमार्फत् सिँचाइ सुविधा पुगेपछि स्थानीयवासी खुसी भएका छन् । २ करोड ८० लाख रुपैयाको लागतमा तीन ठाउँबाट भेरी नदीको पानी तानेर कुदुमा सिँचाइ सुविधा पुर्याइएकाे हाे ।
भारी मात्रामा खेतीयोग्य जमिन भए पनि सिँचाइको अभावमा वर्षायाममा मात्र खेती गरिँदै आएको कुदुमा अब १२ महिना सिँचाइ सुविधा पुग्ने भएपछि कृषिजन्य बस्तुको उत्पादनमा वृद्धिहुने अपेक्षा लिइएको छ । खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयको आर्थिक सहयोगमा भेरी नदीको पानीलाई लिफ्टमार्फत् तानेर गाउँमा पानी पुर्याएपछि कुदुमा सिँचाइ सुविधा पुगेको कार्यालयका प्रमुख ज्वालाराज शाहीले बताए ।
२०७४ सालदेखि सुरु भएको उक्त योजना २०७९ मा आएर सफल भएको छ । ११० हेक्टरभन्दा बढी जमिनलाई सिँचाइ पुग्ने लक्ष्य राखिएको कार्यालय प्रमुख शाहीको बताए । ९० लाखको पहिलो, १ करोडको दोस्रो र ९० लाखको तेस्रो ठाउँबाट लिफ्ट गरी पानी कुदुमा ल्याइएको छ ।
वर्षायाममा आकाशे पानीको भरमा मकै लगाउँदै आएका कुदुवासी अब हिउँदे सिजनमा समेत खेतपाती गर्न पाउने भएपछि खुसी भएको स्थानीयवासी जगत बस्नेतले बताए । ११० हेक्टर जमिनमा भेरीको पानीबाट प्रयाप्त सिँचाइ पुर्याउन सकिएमा कुदुवासीलाई मात्र नभएर जाजरकोटवासीलाई समेत खाद्यान्न उत्पादन गर्न सकिने विश्वास लिइएको छ ।
यहाँ सिँचाइ सुविधा नहुँदा दैनिक जनप्रतिनिधिहरुको आलोचना भइरहेको थियो । खानेपानी लागि समेत कुदुमा काम जारी रहेको छ । जिल्लाको सबै भन्दा ठुलो फाँटको रुपमा कुदुलाई लिइन्छ । छिन्चु जाजरकोट डोल्पा र मध्यपहाडी लोकमार्गको बीचमा रहेको यहाँ मानवीय क्रियाकलाप समेत बढ्न थालेका छन् । सहरीकरणको अभ्याससमेत तीव्र रुपमा विकास हुन थालेको छ ।
छिमेकी रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा नयाँ सहर निर्माण कार्य जारी रहँदा भेरी नदीको अर्को किनारमा रहेको कुदुमा समेत त्यसको प्रभाव परेको छ । जाजरकोट सदरमुकामबाट १२ किलोमिटर पर्ने कुदु राष्ट्रिय दुईवटा सडकसँग जोडिएको छ । पानीको दु:ख हुन्छ भन्दै छोरी र बुहारीसमेत लिन र ल्याउन धौ-धौ पर्ने यहाँका स्थानीयासीलाई अब पानी पाइने ठाउँको परिचय बनाउन सफल भएकोमा खुसी लागेको कुदुका प्रविण बटालाले बताए । कुदुमा पिउने पानीको लागिसमेत करोडौँको लागतमा नयाँ योजना निर्माण कार्य जारी रहेको छ ।


