देशलाई अन्तर्राष्ट्रिय पदक दिलाउने मन छ : स्वर्णपदक विजेता नेपाल आर्मीका खेलाडी कुमाल

कृष्ण दवाडी/कास्की, २ कात्तिक । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा मङ्गलबार पोखरा रङ्गशालामा नेपाल आर्मीका खेलाडी सोमबहादुर कुमालले चार सय मिटर दौडमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जित्नुभयो ।

गण्डकी प्रदेशको गोरखाका उहाँ दश वर्षदेखि आर्मीमा आबद्ध हुनुहुन्छ । यसैले विभागीय टोलीबाट प्रतियोगिता खेल्नुभयो । उहाँले ३२ वर्ष पूरानो कीर्तिमान तोड्दै आफ्नो नाममा लेखाउन सफल हुँदा मैदानमा जति खुसी हुनुहुन्थ्यो, यसरी ठूला प्रतियोगिता अब कहिले खेल्न पाइन्छ भन्ने चिन्तासँगै उहाँमा थियो ।

आफ्नो कीर्तिमानीले दिएको खुसीसँगै प्रतियोगिता नभएर स्तर खस्किने हो कि भन्ने चिन्ता लाग्ने उहाँले बताउनुभयो । पोखरामा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुनु खेलाडीका लागि ठूलो अवसर भएको जनाउँदै उहाँले निरन्तर प्रतियोगिता हुनुपर्नेमा जोड दिनुभयो । नवौँका लागि चार वर्ष प्रतीक्षा गरेको बताउँदै उहाँले राष्ट्रिय खेलकुद नियमित गर्न आग्रह गर्नुभयो । उहाँको लक्ष्य अब राष्ट्रिय प्रतियोगिताबाट माथि उठेर दक्षिण एशियाली र एशियाली प्रतियोगितासम्म पुग्ने र देशलाई पदक दिलाउने छ ।

उहाँले भन्नुभयो, “देशमा प्रतियोगिता नियमित हुनुपर्दछ नत्र हाम्रो स्तर खस्किन्छ । नियमित खेल भयो भने साउथ एशियन र एशियन लेभलसम्म पुग्न सक्छौँ । यसका लागि देश लाग्नुपर्नेमा खेलाडी व्यक्ति मात्र लागि पर्दा हामी माथिल्लो स्तरमा पुग्न सकेका छैनौँ ।” उहाँले सन् २०१८ मा इन्डोनेसियामा भएको ‘एसियन गेम्स’मा आठ सय मिटरको राष्ट्रिय कीर्तिमान बनाउनुभएको थियो । अन्तर्राष्ट्रिय प्रतियोगिता खेले पनि पदक ल्याउन सक्नुभएको छैन । सोमको अनुभवमा नेपालीसँग खेल्न विदेशी पनि डराएका हुन्छन् तर नेपालको खेल वातावरण नभएकाले उनीहरु हावी हुने गरेको कुमालले बताउनुभयो । “हाम्रोमा नियमित खेल्ने वातावरण छैन, ट्याकमा दुई÷तीन वर्षसम्म खेल नहुँदा कमजोर भएर बस्नुपर्ने बाध्यता छ । ट्रयाक हाम्रा लागि भगवान् हो, यही भनेर कुरेर बसेका छौँ हामी । राम्रो खेल देखाउन प्रतियोगिता नियमित आयोजना हुनुप¥यो ।” उहाँले भन्नुभयो ।

नेपाल प्रहरीको महिला क्रिकेट टोलीले नवौँ राष्ट्रिय खेलकुदको आफ्नो ‘डेब्यु’मै ऐतिहासिक स्वर्ण पदक जित्यो । अर्को विभागीय टोली सशस्त्र प्रहरीबल लाई पोखरा रङ्गशालामा पराजित गरेर पुलिसले स्वर्ण जित्दा टोलीका खेलाडीमा खुसीको सीमा थिएन । पुलिस टोलीको कप्तानी गर्नुभएका नेपाली राष्ट्रिय टोलीका समेत कप्तान रुविना क्षेत्रीले महिला क्रिकेटमा व्यावसायिकताको खाँचो रहेको बताउनुभयो । यसअघिका प्रतियोगितामा प्रदेशबाट खेल्दै आउनुभएका उहाँ यसपटक विभागीय टोलीबाट खेल्नुभयो । विभागबाट खेल्दा खेलाडीलाई सम्मान मिल्ने गरेको उहाँको अनुभव छ ।

उहाँले भन्नुभयो, “विभागमा खेलाडीमा जागीरको सुरक्षा र सुविधा हुन्छ । प्रदेशबाट सुविधा नपाएपछि खेलाडी विभागमा जाने हुन् । प्रदेशमै आवश्यक सुविधा दिने हो भने खेलाडीको पनि भविष्यको सुरक्षा हुन्छ, खेलले पनि व्यावसायिकता पाउँछ ।” उहाँको अनुभवमा विभागीय टोलीमा खेलाडीको सुरक्षा र संरक्षण भए पनि व्यावसायिक खेलको चुनौती भने रहन्छ । उहाँले नेपाली महिला क्रिकेटको विकासका लागि खेलाडीलाई खेलिरहने वातावरण र आधार निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

खेलकुदका सरकारी निकायदेखि विभिन्न कर्पोरेट क्षेत्रले पनि महिला क्रिकेटमा लगानी गरेर प्रतियोगिता सञ्चालन गर्न सकेको खण्डमा राम्रो व्यावसायिकताको विकास हुने उहाँको विश्वास छ । उहाँले भन्नुभयो, “खेलाडीलाई क्रिकेटमा लागिरहने आधार बनाउनु चुनौतीपूर्ण छ । म्याच धेरै हुनुपर्दछ । पुरुषको इपिएललगायतका प्रतियोगिता हुँदा केटीहरुको पनि हुुनुप¥योँ । राखेप, क्यानलगायत अन्य कर्पोरेट सेक्टरले पनि यसबारेमा पनि अब सोच्नुपर्दछ ।”

नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका नियमित सदस्य अप्सरी बेगम खेल प्रदर्शनका लागि प्रतियोगिताको कमी भएको बताउनुभयो । राष्ट्रिय खेलकुदबाट उत्कृष्ट क्षमताका खेलाडी निस्किरहेकाले उनीहरुलाई राम्रो म्याच एक्पोचर दिनसके खेलको विकास राम्रो हुने उहाँको सुझाव थियो । उहाँले भन्नुभयो, “अहिले म्याचको कमी छ । हामीले धेरै प्रतियोगिता खेल्न पायौँ भने हाम्रो स्तर वृद्धि हुन्छ ।”

पुलिसको टोलीमा रहेर स्वर्ण जितेपछि उहाँ उत्साहित हुनुहुन्छ । “पुलिस टिम बनेर महिला क्रिकेटमा पहिलो सहभागितामै स्वर्ण जित्दा खुसी भएका छौँ । यस टिमले पछि समेत राम्रो खेल्नेछ ।” उहाँको विश्वास छ । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖