प्राप्त उपलब्धिहरुको रक्षाका लागि गठबन्धनलाई जिताउनैपर्छ : प्रधानमन्त्री देउवा

जनकपुरधाम, ५ कात्तिक । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्राप्त उपलब्धिहरुको रक्षाका लागि पाँच दलिय गठबन्धनलाई जिताउनुपर्ने बताउनुभएको छ ।

पाँच दलीय गठबन्धनद्वारा आज मधेस प्रदेशको राजधानी जनकपुरधाममा आयोजित प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले गणतन्त्रको रक्षा र संविधानको पूर्ण कार्यान्वयनका लागि गठबन्धन गरिएकाले जिताउनुपर्ने बताउनुभयो । लोकतन्त्र र गणतन्त्रलाई स्थायित्व गराउन र प्राप्त उपलब्धिहरुको रक्षा गर्न पाँच दलबीच गठबन्धन भएको उल्लेख गर्नुहुँदै उहाँले सत्तारुढ गठबन्धनका दललाई एक अर्का दलको चुनाव चिह्नमा मतदान गर्न कुनै अप्ठ्यारो नमान्न आग्रह गर्नुभयो ।

“एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन गर्न हुने, हामीले किन गर्न नहुने ?” प्रश्न गर्नुहुँदै प्रधानमन्त्री देउवाले भन्नुभयो, “मुलुकलाई बचाएर लोकतन्त्र, सङ्घीय गणतन्त्रलाई स्थायी बनाउन सबै नेता तथा कार्यकर्ताले घरघरमा गएर सबैसँग भोट हाल्न लगाएर गठबन्धनलाई जिताउन आवश्यक छ ।”
“देश बचाउनु छ, सँगसँगै गठबन्धन पनि जोगाउनु छ”, प्रधानमन्त्री देउवाले भन्नुभयो, “संविधानको रक्षा, समावेशी, सङ्घीयता, गणतन्त्रको रक्षा र संविधान जोगाउनका लागि गठबन्धन गर्नु अहिलेको आवश्यकता हो ।” गठबन्धनको सरकार बनेपछि धेरै अवसर सिर्जना हुने र ती ठाउँमा अहिले अवसर नपाएकाको माग सम्बोधन गरिने उहाँको भनाइ थियो । आसन्न निर्वाचनपछि गठबन्धन दलको सरकार बन्ने विश्वास व्यक्त गर्नुहुँदै प्रधानमन्त्री देउवाले विकास र परिवर्तनका निम्ति पाँच दलीय गठबन्धनका उम्मेदवारलाई विजयी गराउनुपर्ने बताउनुभयो ।

भेलालाई सम्बोधन गर्नुहुँदै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको निर्वाचन सामान्य प्रक्रिया भए पनि यो खास उद्देश्यका लागि भएकाले गठबन्धनलाई जिताउनुको विकल्प नरहेको बताउनुभयो । विशेष परिस्थितिमा आन्दोलनको बीचबाट जन्मेको गठबन्धनले संविधान र लोकतन्त्रको रक्षा गर्ने उल्लेख गर्नुहुँदै अध्यक्ष दाहालले बृहत् शान्ति सम्झौताबाट नै मुलुकमा युगान्तकारी परिवर्तन आएको र यही परिवर्तनलाई निमोठ्न खोज्ने प्रवृतिका विरुद्धमा गठबन्धन बनेको धारणा राख्नुभयो ।

अध्यक्ष दाहालले शान्ति सम्झौताको निरन्तरता कै रुपमा गठबन्धन अगाडि बढेको उल्लेख गर्दै उहाँले आसन्न निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउन कार्यकर्ता एवं नेताहरुलाई निर्देशन समेत दिनुभयो । “सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुबीच कुनै समस्या छैन”, उहाँले भन्नुभयो, “हामी यो देखाउन चाहन्छौँ कि गठबन्धनका हामी नेताहरु एक ढिक्का छौँ, हाम्रो बीचमा अहिले कुनै दरार छैन ।”

नेकपा (एकीकृत समाजवादी पार्टी)का अध्यक्ष माधवकुमार नेपालले गलत प्रवृत्ति र व्यक्तिको हातबाट नेतृत्व खोस्न पाँच दलीय गठबन्धन बनेको बताउनुभयो । एमाले र जनता समाजवादी पार्टी (जसपा) बीचको गठबन्धनलाई अपवित्र गठबन्धनको संज्ञा दिनुहुँदै उहाँले मुलुकलाई सङ्कटबाट जोगाउन र संविधानको रक्षाका लागि पनि गठबन्धनलाई जिताउनुपर्ने बताउनुभयो ।

विसं २००७ देखि नै देश बचाउन कम्युनिष्ट र लोकतन्त्रवादी दलबीच तालमेल हुँदै आएको प्रसङ्ग उल्लेख गर्नुहुँदै अध्यक्ष नेपालले भन्नुभयो, “गठबन्धनको एकता र ऐक्यबद्धता नै हाम्रो सङ्कल्प हो ।” राजनीति सही मार्गमा गए मात्र समाजका समस्या समाधान हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानको रक्षा र लोकतान्त्रिक पद्धतिलाई बलियो बनाउन गठबन्धन निर्माण भएको बताउनुभयो । उहाँले नेपाली जनतालाई बलियो बनाउन र अर्थतन्त्रलाई सुदृढ तुल्याउन गठबन्धनका उम्मेदवार जित्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता शरदसिंह भण्डारीले मधेसी, दलित, मुस्लिम, अल्पसङ्ख्यक, आदिवासी, जनजाति, पिछडिएका वर्गलगायत आमनेपालीलाई सुखी बनाउने लक्ष्य पूरा गर्न आफूहरुले गठबन्धन गरेको जिकिर गर्नुहुँदै गठबन्धनको पक्षमा मतदान गर्न सबैलाई आग्रह गर्नुभयो । उहाँले मधेस मुद्दा सम्बोधन र नागरिकता समस्या समाधानका लागि तथा देशलाई अग्रगामी निकासका लागि गठबन्धन गरिएकाले सबैले गठबन्धनलाई जिताउने गरी अघि बढ्न नेता कार्यकर्तालाई निर्देशन दिनुभयो । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।