किसान खेतमा, चुनावी पर्चा घरमा

नारायण अधिकारी/चितवन, २४ कात्तिक । यतिबेला जिल्लाका किसान खेतखेतमा छन् । उनीहरु धान थन्क्याउन, खेत खनजोत गर्न र तरकारी लगाउनमा व्यस्त छन् । यही समयमा परेको निर्वाचनको किसानलाई चासो छैन । मत माग्न घरमा पुगेका उम्मेदवार पर्चा घरमा छाडेर हिँड्ने गरेका छन् । कतिपय उम्मेदवार खेतबारीमै पुग्ने गरेका छन् ।

भोट माग्न खेतमा पुगेका उम्मेदवारलाई समय नमिलाएर निर्वाचन तोकेको भन्दै कतिपयले गालीसमेत गर्ने गरेका छन् । कतिपयले समयमा मल नपाएको गुनासो उम्मेदवारलाई गर्ने गरेका छन् । चितवनको मध्य र पश्चिम क्षेत्रमा धान थन्क्याउने चटारो छ भने पूर्वी क्षेत्रमा धानपछिको बाली र तरकारी लगाउन किसान व्यस्त छन् ।

भरतपुर महानगरपालिका–१५ का चन्द्रप्रसाद अधिकारी यतिबेला खेतमा व्यस्त हुनुहुन्छ । आफूले लगाएको चार बिघा १० कठ्ठाको धान थन्क्याउने र नयाँबाली लगाउन उहाँलाई भ्याइनभ्याइ छ । अधिकारीले भन्नुभयो, “चुनावको कुरा गर्ने फुर्सद पनि छैन ।” कुन उम्मेदवारलाई भोट दिने भन्ने विषय खेतबारीमै चर्चा हुने गरेको छ ।

अर्मपर्म गरेर खेतीपाती थन्क्याउने क्रममा उम्मेदवारका बारेमा छलफल हुने गरेको भए पनि धेरै किसानले उम्मेदवार छान्न नभ्याएको अधिकारी बताउनुहुन्छ । निर्वाचनको मिति तोक्नेले किसानका लागि समय नमिलाएको उहाँको गुनासो छ । गुञ्जानगरका विष्णु ढकालले सबै खेतबारीमा भएकाले उम्मेदवारले मतदाता भेट्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “खेतखेतमा पुग्न उम्मेदवारलाई पनि गाह्रै भयो, किसानले पनि यो बेला काम नगरी हुँदैन ।”

गाउँका स्थानीय नेतासमेत किसान हुने भएकाले चुनावी प्रचारप्रसार र घरदैलो समेत प्रभावित हुने गरेको छ । यस अघिका निर्वाचनमा ठूलो सङ्ख्यामा उपस्थिति देखिने गरेको भए पनि यतिबेला कम मात्रै मानिसको उपस्थिति रहने गरेको छ । ढकालले भन्नुभयो, “यो त धान थन्क्याउने र बाली लगाउने बेला हो, किसानका लागि उपयुक्त समय होइन ।” केही अघि वा पछि गरिदिएको भए सजिलो हुने उहाँको सुझाव छ ।

माडी नगरपालिका–७ का नारायणप्रसाद काफ्ले यो खेती थन्क्याउने र लगाउने समय भएकाले निर्वाचनका बारेमा सोच्न नभ्याएको बताउनुहुन्छ । किसानहरु आफ्नै कामको माचोका कारण चुनावी कार्यक्रममा निस्किन नभ्याएको उहाँको भनाइ छ । काफ्लेले भन्नुभयो, “थान थन्क्याउन र तोरी लगाउने चटारो छ, दुई चार दिन अझै चुनावबारे सोच्ने फुर्सद छैन ।”

पूर्वी चितवनमा यतिबेला किसान तोरी र तरकारी लगाउन बढी व्यस्त छन् । भोट माग्न पुगेका उम्मेदवारलाई उनीहरुले समयमा मल नपाएको भन्दै गुनासो गर्ने गरेका छन् । आउँदो वर्षबाट मलको अभाव नहुने गरी काम गर्न उनीहरुले सुझाव दिने गरेका छन् । घरदैलो अभियानमा कतिपयले मल नपाएको भन्दै आक्रोशित हुने गरेको स्थानीय पत्रकार होमनाथ सापकोटाले जानकारी दिनुभयो ।

मतदाता घरमा नभेटिएपछि उम्मेदवारलाई पनि निकै कठिन हुने गरेको छ । केही दिनअघि भरतपुरमा पत्रकार सम्मेलनमा चितवन क्षेत्र नं ३ का उम्मेदवार डा भोजराज अधिकारीले किसान घरमा नभेटिँदा घरदैलो अभियानमा उपस्थिति सोचे जस्तो नभएको गुनासो गर्नुभएको थियो ।

उम्मेदवारलाई प्रत्यक्ष रुपमा मतदाता भेट्न नपाउँदा सन्तुष्टि नमिल्ने गरेको बताउनुभयो । कृषि ज्ञान केन्द्र भरतपुरका सूचना अधिकारी मीनबहादुर पुनले जिल्लामा यो समय धान थन्क्याउने र नयाँ बाली लगाउने बेला भएको बताउनुभयो । किसानलाई सबै समय व्यस्त हुने भए पनि यो समय बढी नै मेहनत गर्नुपर्ने समय भएको उहाँले बताउनुभयो । किसानले धान थन्क्याएपछि खेतमा जोतेर हिउँदे बाली लगाउने समय भएको उहाँको भनाइ छ ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।