जातीय विभेदको अन्त्य आरक्षणबाट होइन ज्ञान र सीपले हुन्छ : एमाले अध्यक्ष ओली
झापा, २४ कात्तिक । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जातीय विभेदको अन्त्य आरक्षणबाट नभई ज्ञान र सीपबाट मात्र हुने बताउनुभएको छ । एमाले निकट नेपाल उत्पीडित जातीय मुक्ति समाजले आज दमकमा आयोजना गरेको प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रममा उहाँले आरक्षणले कुनै जाति समुदायको उत्थान गर्न नसक्ने बताउनुभयो । उहाँले आरक्षणले ज्ञान, सीप र क्षमतालाई निष्क्रिय बनाउँदै समुदायका पनि एउटा निश्चित व्यक्तिले मात्र अवसर पाउने बताउनुभयो ।
उहाँले भन्नुभयो, “आरक्षणले बौद्धिकता र ज्ञानमाथि अन्याय हुन्छ”, उहाँले भन्नुभयो । लामो समयदेखि उत्पीडनमा परेका जाति समुदायलाई केही समयका लागि मात्र आरक्षणको व्यवस्था गरिएकाले अब लामो समय जान नहुनेमा उहाँले जोड दिनुभयो ।
नेपालमा संविधान र कानूनमा विभेद हटेको वर्षौँ भए पनि मानिसको चेतना र व्यवहारमा हट्न अझै बाँकी रहेको उहाँको भनाइ छ । उहाँले देशमा भएको जातीय विभेदविरुद्ध सङ्गठितरूपमा एमालेले आवाज उठाउँदै आएकाले अब राज्यतहबाटै विभेद उन्मूलनको योजना अघि बढाइने बताउनुभयो ।(रासस)
दलका घोषणापत्रमा मौलिक प्रतिबद्धता नरहेको आरोप
काठमाडौँ, २४ कात्तिक (रासस) :विश्व हिन्दू महासङ्घ नेपाल राष्ट्रिय समितिले राजनीतिक दलले सार्वजनिक गरेका चुनावी घोषणापत्रमा देशको मौलिकता, दिगो विकास र समृद्धिका कुनै प्रतिबद्धता नपाइएको आरोप लगाएको छ ।
महासङ्घले आज राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलन एवं अन्तक्र्रिया कार्यक्रममा राजनीतिक दलले सनातन धर्म संस्कृतिप्रति इमान र आस्था झल्काउने विषय घोषणापत्रमा उल्लेख नगरेको गुनासो गरिएको हो ।
राष्ट्रियताको रक्षा र सनातन धर्म, संस्कृतिको संरक्षणका लागि नेपाली जनताबीच बृहत् धार्मिक एकता कायम गरेर अन्त्य गरिने प्रतिबद्धता महासङ्घले व्यक्त गरेको छ । विदेशबाट नेपालमा लागू गरिएका शिक्षा, स्वास्थ्य, अर्थ, कृषि, वन, पर्यटन, जलस्रोत र जडीबुटी आदि नीतिमा परिवर्तन गर्ने उद्घोषका साथ काम गर्ने अध्यक्ष अधिकारीले प्रतिबद्धता जनाउनुभयो ।
आगामी १५ वर्षमा ५० लाख युवायुवतीलाई स्वदेशमै रोजगारी सिर्जना गर्ने प्रतिबद्धता पनि महासङ्घले व्यक्त गरेको छ । गौशाला, गुरुकुल र वैदिक कृषिका माध्यमले रासायनिक मलबाट उत्पादित अन्नबाली अन्त्य गरिने अवधारणा पनि विज्ञप्तिमार्फत अघि सारिएको छ । माटोको गुणस्तर, पाठ्यक्रममा परिमार्जन, रासायनिक विषादिमुक्त खाद्य तथा पेय पदार्थको उत्पादनतर्फ पनि महासङ्घले जोड दिएको छ ।
संसदीय निर्वाचनमा राष्ट्रियता, सनातन हिन्दू धर्म र ॐ कार परिवारप्रति सद्भाव राख्दै आएका तथा जितेर संसद्मा पुगेपछि पनि हिन्दू राष्ट्रका पक्षमा बहस गर्ने प्रतिबद्धता जाहेर गर्ने ठूला–साना विभिन्न दलबाट उठेका र स्वतन्त्र उम्मेदवारलाई मत दिन पनि महासङ्घले मतदातामा आग्रह गरेको छ ।
कार्यक्रममा विश्व हिन्दू युवा सङ्घका अध्यक्ष ऋषिकेशजङ्ग शाहले दलहरूका विकल्प भन्ने दाबी गर्दै आएका स्वतन्त्र उम्मेदवारले पनि देशको मौलिकतालाई बिर्सेकाले मतदान गर्नुअघि गम्भीर भएर सोचविचार गर्न अनुरोध गर्नुभयो । महासङ्घले आयुर्वेद तथा वास्तुकलालगायत मौलिक विषयवस्तुको अध्यापन गराउन छुट्टै विश्वविद्यालय स्थापनाको सोचका साथ काम गरिरहेको जानकारी उहाँले दिनुभयो ।
कार्यक्रममा महासङ्घका उपसभापतिद्वय प्रवीण घिमिरे र भक्तराज भुसाल, महासचिव गणेशप्रसाद न्यौपानेलगायतले मौलिकताबिना देशको अस्तित्व खतरामा पर्ने भएकाले यसको रक्षाका लागि राजनीतिक नेतृत्वले बेलैमा ध्यान दिनुपर्नेमा जोड दिनुभएको थियो ।


