एमाले जिताऔं अभियानमा जुटेका छन् मोरङका जनता

विराटनगर । नेकपा (एमाले) मोरङले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको प्रचार अभियानलाई तीब्र बनाएको छ । जिल्लास्तरमा निर्वाचन परिचालनको कामलाई परिणाममुखी बनाउन पार्टीका जिल्ला उपाध्यक्ष बाबुराम कार्कीको संयोजकत्वमा ‘जिल्ला निर्वाचन परिचालन कमिटी’ गठन गरिएको छ । पार्टी अध्यक्ष ऋषिकेश पोखरेल प्रदेश नं २ प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुनुभएकाले कार्कीसामू पार्टीका अन्य कामहरूको जिम्मेवारी पनि रहेको छ ।

क्षेत्रगतरुपमा पनि निर्वाचन प्रचार लगायतका कामलाई व्यवस्थित बनाउन जिल्लाका सबै क्षेत्रमा ‘क्षेत्रीय निर्वाचन परिचालन कमिटी’ हरू बनाएर एमालेले प्रचार अभियानलाई प्रभावकारी बनाएको छ । सत्तारुढ चारदलीय गठबन्धनसँग हुने कडा चुनावी प्रतिस्पर्धाको चुनौती सामना गर्दै जिल्लास्थित अधिकांश संघीय तथा प्रदेश निर्वाचन क्षेत्रमा सफलता हासिल गर्ने ध्येय एमालेले राखेको छ ।

विगतको विरासत कायम राख्तै एमालेले ‘मोरङ जिल्ला लालकिल्ला’ बनाउन चाहेको छ । पार्टीले अघिसारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षालाई पूरा गरी देश र जनताको जीवन पद्धतिमा सुधार ल्याउन संघ र प्रदेशहरूमा समेत नेकपा (एमाले)को नेतृत्वको सरकार बनाउन जनविश्वासलाई आधार बनाएर निर्वाचन जित्नुपर्ने मान्यताका साथ एमाले मोरङ पनि निर्वाचन अभियानमा सक्रियतापूर्वक जुटेको छ । प्रस्तुत छ, आसन्न निर्वाचनकै सन्दर्भमा आधारित भएर संयोजक कार्कीसँग गरिएको कुराकानीको सारसङ्क्षेप ।

एमाले पार्टीको मोरङ जिल्ला निर्वाचन परिचालन कमिटीको संयोजको हैसियतले निर्वाचन तयारीलाई कसरी व्यवस्थित गर्नुभएको छ ?

निर्वाचनको तयारी व्यापक रुपमा भइरहेको छ । अहिलेको प्रमुख कार्यभार प्रचार अभियानलाई प्रभावकारी बनाउने हो । मूलभूत रुपमा त्यसमै केन्द्रित भइएको छ । सिङ्गो पार्टी उम्मेदवाहरूसहित मतमाग्न जनताको घरदैलोमा पुगेका छौं । प्रचारको कामलाई चरणवद्धरुपमा सञ्चालन गर्ने सन्दर्भमा दुई चरणका काम लगभग सम्पन्न भएका छन् । तेस्रो चरणमा प्रवेश गर्दैगर्दा जनतासँग पुग्न बाँकी रहेका र छुटेका ठाउँमा पुग्नेछौं ।

एमालेप्रति जनताको प्रतिक्रिया कस्तो पाउनुभएको छ ?

एमालेप्रति मोरङका जनताको एकदमै सकारात्मक दृष्टिकोण रहेको छ, समग्रमा एमालेप्रतिको विगतदेखिको स्नेहभाव कायमै छ । त्यतिमात्र होइन, नयाँ पुस्ता पनि एमालेप्रति निक्कै आकर्षित र आशावादी रहेको हामीले महसुस गरेका छौं । जनताले एमालेसँग पनि केही गुनासा, केही आक्रोश प्रकट गरेको पनि नपाइएको होइन । त्यसलाई पार्टीको भलो चिताएर गरिएको भन्ने बुझेर स्वभाविक रुपमा लिइएको छ । यद्यपि सिङ्गो देशकै र मोरङ जिल्लाको हित प्रवद्र्धन गर्न आउँदो चुनाव एमालले नै जित्नुपर्छ भन्ने जनभावना रहेको छ । हामीले त्यो भावनाको उच्च कदर र सम्मान गर्दै अघि बढ्ने प्रतिवद्धता जाहेर गरेका छौं ।

एमालेलाई मत दिनुपर्ने आधार के हो ?

एमालेले मोरङका सबै क्षेत्रमा स्थानीयको जनचाहना सम्बोधन गर्नसक्ने योग्य, इमान्दार, लामो राजनीतिक अनुभव हासिल गर्नुभएको व्यक्तिलाई उम्मेदवार बनाएको छ, जसले देश र जनताका लागि डटेर काम गर्न सक्नुहुनेछ । साथसाथै विगतमा गरेका र भविष्यमा गर्ने जनपक्षीय कामहरूको मूल्याङ्कन गर्दै यसपटक पनि मोरङमा उत्साहका साथ ‘एमाले जिताऔं अभियान’मा जनता जुटेका हुन् ।

एमालेले जनताका पक्षमा विगतमा के कस्ता काम ग¥यो र भविष्यमा के त्यस्तो योजना छ, जसले गर्दा एमाले नै चाहिन्छ भन्ने जनतालाई लाग्यो ?

नेकपा (एमाले) ले मनमोहन अधिकारी नेतृत्वको तत्कालीन नौ महिने सरकार र पछिल्लो समय केपी ओली नेतृत्वका दुईवटा सरकारले गरेका विकास निर्माण, सामाजिक सुरक्षा, शिक्षा, स्वास्थ्य, कृषिलगायतका क्षेत्रमा गरेका कामको दूरगामी प्रभाव कायम छ । ती कामको प्रशंसा र समीक्षा गर्दै जनताले पुनः एमालेलाई नै सत्ता सञ्चालनको अवसर दिने विचार प्रकट गरेको देखिन्छ ।

देशको समग्र विकासमा एमालेले अघि सारेका नीतिहरूप्रति पनि जनसाधारणको गहिरो चासो रहेको हामीले पाएका छौं । एमाले नेतृत्वका विगतको सरकारले अघि सारेका रचनात्मक काम अधुरै रहेको बुझेका आम नागरिकले ती अधुरा काम पूरा गर्न भावी सरकार एमाले नेतृत्वको हुनुपर्ने धारणा राखेका छन् । राष्ट्र, राष्ट्रियता, लोकतन्त्रप्रतिको एमालेको दृढ अडान, सन्तुलित परराष्ट्र नीति, सुशासन, विकासप्रतिको दूरगामी कार्ययोजनाहरूले आमजनतामा सकारात्मक प्रभाव पारेको छ । त्यसको असर मोरङका जनतामा पनि देखिन्छ ।

भविष्यका के त्यस्ता योजना छन्, जसले एमालेप्रति जनताको आकर्षण बढ्यो ?

एमालेले चुनावका सन्दर्भमा जारी गरेको राष्ट्रिय घोषणापत्र र प्रदेशस्तरीय प्रतिवद्धता पत्रले मोरङ्गी जनताको ध्यान केन्द्रित गरेको छ । त्यसबाहेक नेकपा एमालेले जिल्लास्थित विशिष्ठ प्रकृतिका आमसरोकारका समस्याहरू पहिचान गरी समाधान गर्ने अठोट जनसमक्ष गरेको छ । जसअन्तर्गत स्थानीयतामा आधारित पर्यटनको विकास, कृषि तथा भौतिक पूर्वाधारको विकास र प्रवद्र्धन, शिक्षा, स्वास्थ्य, रोजगारी, बाढी तथा नदी कटान नियन्त्रण, प्राकृतिक स्रोतसाधनको संरक्षण लगायत भ्रष्टाचार र महङ्गी नियन्त्रणका विषयमा एमालेले गरेको प्रतिवद्धताहरूप्रति जनता सकारात्मक देखिन्छन् ।

मोरङमा एमालेले कति सीट जित्ने तर्पांइहरूको अपेक्षा हो ?

यत्ति नै सीट जित्छौं भनेर पहिले नै किटान गरी भन्नुभन्दा पनि ६ संघीय र १२ प्रदेश अन्तर्गतका अधिकाँश सीट एमालेले जित्ने कुरामा चाहिँ हामी विश्वस्त छौं । जसरी हाम्रो केन्द्रीय अध्यक्ष केपी ओलीले १५० सीट जित्ने आँकलन गर्नुभएको छ, त्यो भावनाको सम्वोधन हुने गरी परिणाम दिन मोरङ सक्षम छ ।

तपाईंहरूले प्रदेश एकको सरकार बनाउने दावी पनि गर्नुभएको छ नि ! के त्यो सम्भव छ ?

सही हो, प्रदेशस्तरीय हाम्रो अध्ययनले एक नम्बर प्रदेश सरकार यसपटक पनि नेकपा (एमाले) कै नेतृत्वमा बन्ने पक्का छ । कूल ५६ निर्वाचन क्षेत्र रहेको प्रदेशका १४ वटै जिल्लाको अध्ययन रिपोर्टले हामीलाई त्यो दावी गर्ने हैसियतमा पु¥याएको छ ।

चारदलीय गठवन्धनको विरोध गर्ने तपाईंहरूले मोरङमा जनता समाजवादी पार्टीसँग चुनावी तालमेल गर्नुभएको छ । सहयात्रा कसरी चलिरहेको छ त ?

हो, मोरङको ५ नं. क्षेत्रको संघीय र सोही क्षेत्र अन्तर्गतको प्रदेश ५(क) मा समाजवादीलाई र बाँकी ५ वटा क्षेत्रका सबै सीटमा एमालेलाई सघाउने सहमति बमोजिम हामी संयुक्तरुपमा प्रचार अभियानमा जुटेका छौं । घोषित सहमतिबमोजिम एक अर्कालाई विजयी बनाउने अभियानमा दुवैपक्ष प्रतिवद्ध छौं । हामीले यो मर्मलाई बुझेर मतदान गरिदिनु हुन हाम्रा कार्यकर्ता, समर्थक शुभचिन्तकलगायत हामीलाई माया गर्दै आउनुभएका र माया गर्न चाहनु हुने मतदाताहरूलाई हार्दिकतपूर्वक आह्वान अनुरोध गरेका छन् । पार्टीले गरेको निर्णय र सहमतिलाई इमान्दारितापूर्वक पालना गर्न पार्टी सदस्यहरूलाई निर्देशनात्मक अनुरोध गरेका छौं । पार्टी निर्णय उल्लङघन भएको देखिएका कतिपय व्यक्तिमाथि पार्टीले निमर्मतापूर्वक कार्वाही शुरु गरेको छ । अरु कमजोरी नहोस् भनेर अनुगमन र निगरानीको व्यवस्था पनि मिलाइएको छ । हामीले सहयात्रीबाट पनि यस्तै व्यवहारको अपेक्षा गरेका छौं ।

टिकट वितरणका बेला धेरैले असन्तुष्टी प्रकट गर्दै पार्टीबाट बाहिरिएको पनि देखियो । त्यसले चुनावी अभियानमा नकारात्मक असर पारेको छ भन्नेहरूलाई तपाईं के भन्नुहुन्छ ?

धेरै त होइन, केही साथीहरूले असन्तुष्टि प्रकट गर्नुभएको थियो । पार्टीमा लामो समयसम्म काम गरेपछि अपेक्षा÷चाहना राख्नु स्वभाविकै हो । चाहाना बाबुराम कार्कीको पनि नभएको होइन, तथापि पार्टीले गरेको निर्णय मान्नैपर्ने हुन्छ । जिम्मेवार केही साथीहरू अनायसै बाहिरिनुको असर पार्टीलाई पर्दैन भन्ने होइन । तथापि निर्वाचनलाई गम्भीर नकारात्मक असर पर्छ वा पारेको छ भन्ने कुरा सही होइन ।

प्रचारका सन्दर्भमा एमालेले कतिपय ठाउँमा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोप छ नि ?

यो गलत आरोप हो । एमालेकै सहभागितामा बनेको निर्वाचन आचारसंहिता एमालेबाट उल्लङ्घन हुने कुनै सम्भावना छैन । म केही दिनदेखि निरन्तर जिल्लाव्यापी दौडमा नै छु । जिल्ला निर्वाचन परिचालन कमिटीको काम निर्वाचनको अनुगमन र सुव्यवस्था कायम गर्ने पनि हो । त्यो भावनालाई गम्भीरतापूर्वक लिएर एमालेले आफ्नो चुनावी अभियानलाई मर्यादित र अनुशासित ढङ्गले सञ्चालन गरेको छ ।

शक्तिशाली गठवन्धनका रुपमा प्रतिद्वन्द्वीहरू एमालेका विरुद्धमा चुनावी मैदानमा छन् । उनीहरूबाट उत्पन्न चुनौतीको कसरी सामना गर्नुहुन्छ ?

लोकतन्त्रमा स्वस्थ र मर्यादित चुनावी प्रतिस्पर्धा स्वभाविक कुरा हो । त्यसैले स्वस्थ प्रतिस्पर्धा गर्न चाहन्छांै, हामी कसैप्रति असहिष्णु बन्दैनौं । मोरङमा मात्र नभएर देशव्यापीरुपमा हाम्रो मुख्य प्रतिस्पर्धा गठबन्धनसँगै हो । त्यसलाई हामी डटेर सामना गर्ने ल्याकत राख्छौं । सौहार्द्रपूर्वक आफ्ना गतिविधि तथा कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ भन्ने कुरामा हामी विश्वास गर्छांै र प्रतिद्वन्द्वीहरूसँग पनि त्यही अपेक्षा राख्छौं । जति नै शक्तिशाली भनिए पनि नेपाली काँग्रेस, माओवादी केन्द्रलगायतको गठबन्धनप्रति जनताको विश्वास र भरोसा छैन । यस गठबन्धनलाई अप्राकृतिक र अस्वभाविक ठानिएको छ । गठबन्धनका नाममा बनेको सरकारले गरेका गतिविधि र व्यवहारप्रति आमजनता सन्तुष्ट छैनन् । मोरङको हकमा पनि यो तथ्य लागू हुन्छ ।

प्रचार अभियानमा देखिएका समस्याहरू ?

समस्या त हरेक विषयमा, हरेक क्षेत्रमा हुन्छन् र हुनुपनि पर्छ । जहाँ समस्या, त्यहाँ त्यक्तिकै सम्भावना पनि हुन्छ । चुनाव प्रचार प्रसारको सन्दर्भमा सामनै गर्न नसकिने प्रकृतिका समस्या छैनन् । कतिपय ठाउँमा एमालेविरुद्ध विपक्षीहरूले छरेका भ्रम र अनर्गल आरोपलाई चिर्नुपर्ने अवस्थाको सामना गरिँदैछ । अन्य केही आन्तरिक व्यवस्थापनमा भएका कमिकमजोरीका कारण उत्पन्न समस्याहरू, जो समाधान भइरहेका छन् । एउटा जीवन्त पार्टी सञ्चालनमा समस्याहरू रही रहन्छन् । यसपटकको चुनाव एमालेका लागि अभियानमात्र होइन, एउटा महाअभियान हो । महाअभियानमा सरिक हुँदैगर्दा सहजतामात्र हुन्छ भन्ठान्नु भूल हुनेछ । आएका समस्याहरूको डटेर मुकाविला गरिदैछ र गरिनेछ ।

निर्वाचन परिचालनका सन्दर्भमा स्थानीय प्रशासन, निर्वाचन आयोग तथा सुरक्षा निकायहरूलाई केही सुझाव ?

आयोग तथा सुरक्षा निकायका बैठकहरूमा सहभागी भएर छलफल गर्ने, सुझाव राख्ने तथा वस्तुगत अवस्था बुझ्ने काम हामीबाट पनि भएको छ । हालसम्म ती निकायहरूप्रति एमालेले गुनासो गर्नुपर्ने ठानेको छैन । निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित हुनसकोस्, मतदाताले निर्वाचनमा निर्भिकतापूवर्क भाग लिनसक्ने परिस्थिति बनोस्÷बनाइयोस् भन्ने कामनासहित ती निकायहरूसँग आवश्यक सहकार्य गर्न एमाले तयार छ भन्न चाहान्छु ।

पार्टी परिचालनको अवस्था कस्तो छ ?

पार्टीका कतिपय केन्द्रीय तथा प्रदेश र सम्पूर्ण जिल्लास्तरका नेताज्यूहरु पनि निर्वाचनको काममा डटेर लाग्नुभएको छ । पालिकादेखि टोलस्तरको पार्टी सञ्जाल निर्वाचनमा केन्द्रित छ । जनवर्गीय संगठनहरु आ–आफ्नो ठाउँबाट सक्रियरुपमा क्रियाशील छ । प्रचार सामग्रीको वितरण प्रणालीलाई व्यवस्थित गरिएको छ । जो जुन ठाउँ र भूमिकामा छौं, त्यहीँबाट निर्वाचनका कामलाई प्रभावकारी बनाउन पार्टी लागेको छ ।

तपाईंहरूको चुनावसँग सम्बन्धित भावी योजना के छ ?

चुनाव नजिकिँदैछ । प्रचार अभियान सञ्चालन गर्ने समय साँघुरिदै गर्दा समयभित्रै प्रचारको कामलाई सम्पन्न गर्ने योजनामा छौं । त्यसका लागि गठित क्षेत्रीय निर्वाचन परिचालन कमिटीहरूले काम गरिरहेका छन् । केही समस्या वा कमिकमजोरी छन् भने समन्वयका माध्मले त्यहाँ पनि करेक्सन गर्नेछौं । औपचारिक प्रचार अभियान सम्पन्न भइसकेपछि उत्पन्न हुने मत संरक्षणको चुनौतीलाई सामना गर्नेतर्फ हामी केन्द्रित हुनुपर्नेछ । त्यसपछि मतदातालाई निर्भिकतापूर्वक मतदान केन्द्रमा पु¥याएर सफलतापूर्वक मतदानमा सहभागी गराउने कुरामा पनि हाम्रो सक्रियता रहनेछ । सही ढङ्गले मतदान हुन नसक्ता धेरै नै मत बदर हुने गरेको अवस्था छ । त्यसलाई न्यून गर्न मतदाता शिक्षा र सचेतनाका कार्यक्रममा पनि हामी केन्द्रित भइरहेछौं ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।