संखुवासभामा वाइसीएलका केन्द्रीय सचिव सहितका नेता एमालेमा प्रवेश
विराटनगर / संखुवासभामा नेकपा माओवादी केन्द्रको भातृ संगठन युथ फोर्स नेपाल (वाइसीएल) का केन्द्रीय सचिवसहित दर्जनौँ नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।
आइतबार माओवादी केन्द्रका प्रदेश कमिटी सदस्यसमेत रहेका वाइसीएलका केन्द्रीय सचिव पृथक पाठकसहित माओवादीका जिल्ला र नगर कमिटीका नेता कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका हुन् ।
एमालेले मादीमा आयोजना गरेको चुनावी कार्यक्रममा उनीहरु एमाले प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्नेहरुमा माओवदीका जिल्ला सदस्य ग्याल्जेन शेर्पा, वाइसीएल जिल्ला सदस्य दिपेश खवास, मादी नगर कमिटी सदस्य शनक बहादुर विक, दावा लामा, प्रेम तामाङ, पासाङ शेर्पा र पासाङ ल्यामु शेर्पालगायतका नेता रहेका छन् ।
उनीहरुलाई नेकपा एमाले स्थायी कमिटी सदस्य तथा संखुवासभाका प्रतिनिधिसभा सदस्यका उम्मेदवार राजेन्द्र गौतम प्रदेश ‘ख’ का उम्मेदवार विदुर लिंथेप लगायतका नेताले प्रवेश गराएका हुन् ।
माओवादी परित्याग गरी एमालेमा प्रवेश गरेपछि पृथक पाठकले देशको हित र जनताको जीवनस्तर उठाउन एमालले मात्र काम गर्न सक्ने बताए । देशको विकास र समृद्धिका लागि एमालेको सरकार आवश्यक रहेको पाठकले बताए ।
पछिल्लो समय नेकपा एमालेको चुनावी अभियानमा संखुवासभामा नेपाली कांग्रेस र माओवादी परित्याग गरी एमाले प्रवेश गर्नेको संख्या बढ्दो रहेको एमालले बताएको छ ।


