दलित बस्तीमा भोट तान्ने होडबाजी

सन्तोष महतारा/रेसुङ्गा (गुल्मी), २७ कात्तिक । गुल्मीको धुर्कोट गाउँपालिका–७ वाग्लाकी डल्ली विक उमेरले ७१ वर्ष पुग्नुभयो । उहाँ प्रत्येक निर्वाचनमा मतदाताका रूपमा साक्षी हुनुहुन्छ । निर्वाचनका समयमा आफ्नो बस्तीमा लाग्ने भोजभतेरको अनुभव उहाँसँग छ । वाग्लाको दलित बस्तीमा लाग्ने भोजभतेर कुनै मेलापर्व र उत्सव नभई निर्वाचनका लागि भोट तान्नका लागि भएको हो ।

भोट तान्ने होडबाजीले चामलको बोरा बाँड्ने र भोजभतेर गर्ने गरेको स्थानीयवासी डल्ली बिकले बताउनुभयो । “निर्वाचनका समयमा भोट तान्न हाम्रो बस्तीमा भोजभतेर लाग्छ अनि टाठाबाठाले चामलको बोरा पनि घर लैजान्छन्”, उहाँले भन्नुभयो, “हामी एक्लै भएकाहरूलाई त्यो पनि दिँदैनन् ।” उहाँका अनुसार यस बस्तीमा कसले नगद बढी दिने वा भोजभतेर लगाएर भोट भनेर पार्टीको होडबाजी चल्ने गर्दछ ।

वाग्लाको सोही बस्तीका ४९ वर्षीय टेकबहादुर सुनार पनि स्थानीय नेता तथा कार्यकर्ताहरूले आफूहरू माथि दमन गरेको बताउनुहुन्छ । आफ्नो बस्तीलाई तल्लो वर्गका रूपमा हेरेर कुनै विकासे योजना नभई सामान्य नगद र जिन्सी बोकेर छिर्ने गरेको उहाँले गुनासो गर्नुभयो । “अघिल्लो निर्वाचनमा प्रतिघर एक बोराका दरले चामल बाँडेर नेताहरू चुनाव जितेपछि फर्किएनन्”, उहाँले भन्नुभयो, “हाम्रो बस्तीमा रहेको गरिबी, अशिक्षा र अभावलाई माथिल्लो वर्गका केही व्यक्तिले फाइदा उठाइरहेका छन् ।” उहाँले राजनीतिक दलको दमनमा आफूहरू रहेको बताउनुभयो ।

सोही बस्तीका ६४ वर्षीय एकल महिला झुवी विक घरमा आफूमात्र हुनुहुन्छ । छोराबुहारी रोजगारीका लागि भारत गएपछि उहाँ एक्लै बस्न बाध्य हुनुभयो । उहाँको एकलपनलाई राजनीतिक दलले फाइदाका रूपमा लिएको झुवी विकले गुनासो गर्नुभयो । “यहाँ त सधैँ निर्वाचनमा नगद र चामल बाँडेर भोट तान्ने गर्छन्”, उहाँले भन्नुभयो, “मलाई त एकल भनेर नगद र चामल केही दिएनन् ।” छिमेकीलाई भनेर भोट हाल्न लगाउने तर अरुलाई दिने सामग्री आफूलाई नदिने गरेको उहाँको गुनासो छ । सोही बस्तीका सावित्रा विकले पनि राजनीतिक दलले कुनै विकासको योजना ल्याउने नभई भोट तान्नेतर्फ केन्द्रित भएको आरोप लगाउनुभयो ।

वाग्लाको यस बस्तीमा एक सय ५० दलित घरधुरीमा झण्डै छ सय मतदाता छन् । आगामी मङ्सिर ४ गते हुने आम निर्वाचनका लागि मतदान गर्न एक साता मात्र बाँकी भए पनि कुनै दल वा दलका नेता तथा कार्यकर्ता घरदैलोमा नआएको स्थानीयहरू बताउँछन् । राजनीतिक दलहरू वाग्लाको दलित बस्तीमा कसले बढी प्रभाव पार्न सक्छ भन्ने होडबाजीमा हुन्छन् । स्थानीयवासीका अनुसार मतदानको दुई÷तीन दिनअघि मात्र यस बस्तीमा स्थानीय नेता कार्यकर्ता प्रवेशका लागि प्रतिस्पर्धा गर्दछन् ।

पाँच सय मिटर सडक पनि बनेन

वाग्लाको सोही बस्तीका अगुवा स्थानीयवासी गणेश विकले आफ्नो बस्तीमा पाँच सय मिटर बाटो पनि नबन्दा निकै सास्ती खेप्नु परेको बताउनुभयो । चुनावको मुखमा आश्वासन दिने अनि भोट भोजभतेरमै तान्ने त्यसपछि बेवास्ता गर्ने गरेको उहाँले बताउनुभएको छ ।

विसं २०५६ मा ट्र्याक खोले पनि बस्तीबीचको पाँच सय मिटर सडक हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे हुने समस्याले आफूहरूलाई सास्ती पुगेको उहाँको गुनासो छ । “घर नजिकै सडक छ, हिउँदमा धुलो र बर्खामा हिलो चुल्होमै पुग्छ”, उहाँले भन्नुभयो, “पटकपटक समस्या राखे पनि कुनै राजनीतिक पार्टीकाले हाम्रो समस्या बुझेनन् ।” उहाँका अनुसार बस्तीबीचको सडकमा ढल व्यवस्थापन गरेर ग्राभेल मात्रै गरे पनि आधा समस्या समाधान हुन्छ ।

जिल्लाको सदरमुकाम तम्घासस्थित रेसुङ्गा बहुमुखी क्याम्पसका राजनीतिशास्त्र तथा समाजशास्त्रका प्राध्यापक गुणनिधि शर्माले दलित बस्तीमा रहेको गरिबी, अशिक्षा र अभावमाथि माथिल्लो वर्गले वर्षौंदेखि दमन गर्दै आएको बताउनुभयो । “दलित बस्तीमा सामान्य जीविकोपार्जनका लागि पनि निकै समस्या छ”, शर्माले भन्नुभयो, “राजनीतिक दल वा दलका नेता तथा कार्यकर्ताले असचेत नागरिक माथि थिचोमिचो गरिरहेका छन् ।” दलित परिवारमा रहेको अन्धविश्वास, परम्परावादी सोच र आर्थिक अवस्था कमजोरका कारण उनीहरूमाथि राजनीतिक दलले भोट तान्ने होडबाजी गरेको उहाँले बताउनुभयो ।

भोट खरिद बिक्रीको अन्त्यका लागि सर्वप्रथम राजनीतिक दलमा सुधार आउनुपर्ने शर्माले बताउनुहुन्छ । दलित बस्तीमा सुधार आउन शिक्षा, स्वास्थ्य, रोजगारी र अन्य विकासमा आमूल परिर्वतन आउनुपर्ने भएकाले राजनीतिक दलले भोटका रुपमा मात्र नहेरी उनीहरुका समस्याप्रति पनि गम्भीर हुन जरुरी रहेको उहाँको भनाइ छ । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।