उदयपुरमा चुनाव प्रचारप्रसार गाउँ केन्द्रित

उदयपुर, ३० कात्तिक । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उदयपुरका अधिकांश राजनीतिक दल, तिनका कार्यकर्ता र उम्मेदवार गाउँ तथा वडा केन्द्रित चुनावी प्रचारप्रसारमा छन् ।

चुनावी प्रचार–प्रसारका क्रममा दलका उम्मेदवार अन्तिम समय आइपुग्दा गाउँ तथा नगरका प्रत्यक वडा–वडामा केन्द्रित भएका छन् । उदयपुरको निर्वाचन क्षेत्र नं १ मा सत्ता गठबन्धनबाट प्रतिनिधिसभाका सदस्यका उम्मेदवार एवं परराष्ट्रमन्त्री डा नारायण खड्का र प्रदेशसभा (१) का सत्ता गठबन्धनका उम्मेदवार राजन किराँतीले मङ्गलबार बेलका नगरपालिकाका वडा नं १, ३, ६, ७ र ८ मा चुनावी सभा तथा घरदैलो कार्यक्रम सम्पन्न गर्नुभएको चुनाव प्रचार–प्रसार समितिका सदस्य कुमार राईले बताउनुभयो ।

निर्वाचन क्षेत्र नं १ प्रदेशसभा (२) का उम्मेदवारसहितको सत्ता गठबन्धनको टोलीले मङ्गलबार त्रियुगा नगपालिकाको वडा नं १, ५, ३, ४ र ७ मा चुनावी कोणसभा र घरदैलो कार्यक्रम सम्पन्न गरेको निर्वाचन क्षेत्र नं १ प्रचार–प्रसार समितिका सदस्य तथा माओवादी केन्द्रका जिल्ला सचिव किरण राईले बताउनुभयो ।

नेकपा (एमाले)बाट निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार मञ्जुकुमारी चौधरीसहित प्रदेश (२) का उम्मेदवार ईश्वरमणि राउत तथा प्रदेश (१) का कुशलबाबु बस्नेतसहितको टोलीले चौदण्डीगढी नगरपालिकाका अधिकांश वडामा घरदैलो कार्यक्रम गरिरहेको एमालेका जिल्ला अध्यक्ष परमेश्वर घिमिरेले बताउनुभयो ।

निर्वाचन क्षेत्र नं २ मा पनि सत्ता गठबन्धनका प्रतिनिधिसभा सदस्यका उम्मेदवार जगन्नाथ खतिवडा अहिले पहाडी क्षेत्रको ताप्ली, उदयपुरगढी र रौतामाई गाउँपालिकाका प्रत्येक वडामा घरदैलो कार्यक्रममा व्यस्त रहनुभएको निर्वाचन क्षेत्र नं २ का चनाव प्रचार–प्रसार समितिका सदस्य तथा माओवादी केन्द्रका नेता मोहन खत्री बताउनुहुन्छ ।

यसपटकको निर्वाचनमा चुनावी प्रचार–प्रसारका क्रममा जिल्लाको मुख्य सदरमुकाम गाईघाटसहित कटारी, चौदण्डीको बेल्टार तथा बेलकाको रामपुर गरगाछी बजारमा कुनै बृहत् चुनावी सभा सञ्चालन नभएको जिल्लाका राजनीतिक दलका नेता र उम्मेदवार बताउँछन् । कांग्रेस उदयपुरका कार्यवाहक सभापति भीमचन्द्र राईका अनुसार विगतका निर्वाचनमा राजनीतिक दलले जिल्ला सदरमुकाम र अन्य नगरका मुख्य सहरमा बृहत् चुनावीसभा र ¥याली सञ्चालन गर्ने गरेको भए पनि यसपटकको निर्वाचनमा अधिकांश राजनीतिक दल गाउँ र वडा केन्द्रित तथा घर–घर गई भोट माग्ने कार्य भइरहेको छ ।

उदयपुरमा प्रतिनिधिसभातर्फ दुई निर्वाचन क्षेत्र र प्रदेशसभामा चार निर्वाचन क्षेत्र छन् । प्रतिनिधिसभा सदस्यका लागि क्षेत्र नं १ मा १५ र २ मा १२ उम्मेदवार चुनावी मैदानमा रहेको जिल्ला निर्वाचन कार्यालय उदयपुरका प्रमुख खेमराज कोइरालाले बताउनुभयो । यस्तै क्षेत्र नं १ प्रदेशसभा (१) मा ११ र (२) मा १२ उम्मेदवार चुनावी मैदानमा हुनुहुन्छ । यस्तै क्षेत्र नं २ मा प्रदेशसभा (१) मा छ र (२) मा पाँच उम्मेदवार चुनावी मैदानमा हुनुहुन्छ ।

कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी, राप्रपा, जनमुक्ति पार्टी, मङ्गोल अर्गनाइजेशन, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी तथा १० स्वतन्त्र उम्मेदवारले चुनावमा सहभागिता जनाएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा दुई लाख २८ हजार सात सय ५६ मतदाता छन् । क्षेत्र नं १ मा एक लाख २५ हजार चार सय ३२ तथा क्षेत्र नं २ मा ९३ हजार सात सय ८९ मतदाता छन् ।

विसं २०७४ को चुनावमा क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा कांग्रेसका डा नारयण खड्का र क्षेत्र नं २ मा माओवादी केन्द्रका सुरेशकुमार राई विजयी हुनुभएको थियो । क्षेत्र नं १ प्रदेशसभा (१)बाट एमालेका विमल कार्की र (२) बाट कांग्रेसका हिमाल कार्की विजयी हुनुभएको थियो । क्षेत्र नं २ प्रदेशसभा (१)बाट एमालेकी कला घले र (२) बाट माओवादी केन्द्रको नारायण बुर्जा मगर विजयी हुनुभएको थियो ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।