झापा ४ : ठूला दलका पुरानै अनुहारसहित १८ प्रतिस्पर्धी

सन्तोष शर्मा/बनियानी, ३० कात्तिक । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नम्बर चारमा ठूला पाँच दलका दुई पुरानै अनुहार दोहोरिएका छन् । नेपाली कांग्रेस, नेकपा (माओवादी) केन्द्र र नेकपा (एकीकृत समाजवादी) सहितको वामलोकतान्त्रिक गठबन्धनका तर्फबाट देउवान थेवे र नेकपा (एमाले)–राष्ट्रिय प्रजातन्त्र पार्टीको तालमेलबाट लालप्रसाद सांवा (एलपी) हुनुहन्छ ।

विसं २०७४ को संसदीय चुनावमा पनि बलियो प्रतिस्पर्धीका रुपमा थेवे र साँवा नै हुनुहुन्थ्यो । सो चुनावमा साँवाले ४३ हजार पाँच सय १५ मत ल्याएर विजयी हुनुभएको थियो भने थेवेले २६ हजार आठ सय २२ मत ल्याउनुभएको थियो ।

पाँच दलका यी दुई उम्मेदवारसहित यहाँ प्रतिनिधिसभामा १८ उम्मेदवार चुनावी मैदानमा छन् । त्यस्तै, प्रदेशसभा १ र २ मा २२ जना उम्मेदवार छन् ।

प्रतिनिधिसभामा नेपाली कांग्रेस बिपीका तर्फबाट दुर्गाप्रसाद घिमिरे, मङ्गोल नेशनल अर्गनाइजेशनका तर्फबाट दिलीप धिमाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका तर्फबाट ग्यासुदिन मियाँ, राष्ट्रिय जनमुक्ति पार्टीका तर्फबाट मनकुमार ताम्बादेन (लिम्बू), हाम्रो नेपाली पार्टीका तर्फबाट युक्तप्रसाद भेटवाल, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका तर्फबाट लाहानसिं तुम्बापो, नेपाल मजदूर किसान पार्टीका तर्फबाट विक्रम काँसिछवा, जनमत पार्टीका तर्फबाट सत्यनारायण राजवंशी, जनता समाजवादी पार्टी नेपालका तर्फबाट हर्कराज राई र राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट शुम्भुप्रसाद ढकाल चुनावी मैदानमा हुनुहुन्छ ।

त्यस्तै, स्वतन्त्रहरुमा खुश्बु ओली, लक्ष्मीनारायण खनाल, पूर्णकुमार लिम्बू (फेजुङ), कमलबहादुर पौडेल, किरण श्रेष्ठ, नन्दराज राई लगायत हुनुहुन्छ । यतिबेला उम्मेदवारहरु आ–आफ्ना प्रतिबद्धताका साथ जनताको घरदैलोमा मत माग्न व्यस्त हुनुहुन्छ । सँगै जनताका समस्या सुन्ने, बुझ्ने र पूरा गर्ने आश्वानस दिने काममा सबै उम्मेवार एकाग्र भएका छन् ।

झापा ४ मा आफूले सुरु गरेका अधुरा काम पूरा गर्न आफ्नो उम्मेदवारी रहेको उम्मेदवार साँवा बताउनुहुन्छ । संसदीय यात्रा सुरु गरेको एक–डेढवर्षमै कोरोना भाइरसको महामारीले काम गर्न नपाएको उहाँको भनाइ छ । “मैले सुरु गरेका योजना अधुरै छन्”, उहाँले भन्नुभयो, “त्यसलाई पूरा गर्न मैले उम्मेदवारी दिएको हुँ ।” चुनावी घरदैलोको क्रममा आफूले घोषणा गरेका काम ग्यारेन्टीका साथ गर्ने दृष्टिकोण र भिजन राखेको उहाँको भनाइ छ । यहाँको प्रमुख समस्या नदी कटानबाट पीडित बनेको नागरिकलाई सुरक्षित गर्नुरहेको साँवाले बताउनुभयो ।

यता, शिक्षा, स्वास्थ्य, सञ्चार, रोजगार पर्यटन लगायतका ३५ बुँदे प्रतिबद्धता पत्रसहित मतदाताको घरदैलोमा पुगिरहनुभएका उम्मेदवार थेवे भन्नुहुन्छ, “म पदमा रहे पनि नरहे पनि यो क्षेत्रको समस्या समाधानमा योगदान गरेको छु ।” स्थानीय समस्या समाधानमा जहिले पनि अघि रहेकाले मतदाताको यस पटकको आशा र भरोसा आफूमाथि रहेको उहाँको दाबी छ । “यहाँको स्थानीय विकास निर्माणमा म प्रत्यक्ष संलग्न भएको छु”, उहाँले भन्नुभयो, “धेरै काम गरेको छु, अझै गर्नु छ ।”

उता, हाम्रो नेपाल पार्टीसँग सहकार्य गरेर चुनावी चिह्न ‘लौरो’ लिएर मैदानमा उत्रिनुभएका पुराना वामपन्थी नेता युक्त भेटुवालले पुराना दल र पुराना नेताबाट मुलुकको विकास र समृद्धि सम्भव नभएकाले आफू चुनावी मैदानमा उत्रिएको बताउनुहुन्छ । झापा ४ मा गर्नैपर्ने विभिन्न १७ वटा बुँदामा कार्ययोजना बनाएर चुनावी अभियानमा भेटुवाल सक्रिय हुनुहुन्छ । उहाँको प्रतिबद्धता पत्रमा राष्ट्रिय आवश्यकता, जैविक अधिकार, आर्थिक संरचना, शासकीयस्वरुप, शिक्षा प्रणाली, कृषि, स्वास्थ्य सेवा, रोजगारका विषय समेटिएको छ ।

यस्तै, स्वतन्त्र उम्मेदवार खुश्बु ओली पनि यतिबेला झापा ४ मा मतदाताको घरदैलोमा हुनुहुन्छ । राप्रपाबाट झापा ४ मा उम्मेदवार सिफारिस भई चुनावी अभियान थाल्नुभएकी उहाँ एमाले–राप्रपा तालमेलपछि पछि हट्न पार्टीबाट निर्देशन भए पनि उम्मेदवारी दिँदै क्रस खुकुरी चुनाव चिन्ह लिएर स्वतन्त्र उम्मेदवार बन्नुभएको छ ।“यस क्षेत्रले विकास पाउन सकेको छैन”, उहाँले भन्नुभयो, “झापा जिल्लामै दुर्गम क्षेत्रको रुपमा चिनिएको यो क्षेत्रको परिवर्तनका लागि मैले उम्मेदवारी दिएकी हुँ ।” नदी कटान, धनीपूर्जा, बेरोजगारी, नागरिकतालगायतका धेरै समस्याले यो क्षेत्र आक्रान्त बनेकाले सोको समाधानका लागि आफू उम्मेदवार बनेको उहाँले बताउनुभयो । मुख्यतः गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यमा थेवे, प्रदेश १ मा झलकसिंह दर्लामी र प्रदेश २ मा एकराज उप्रेती हुनुहुन्छ । एमाले–राप्रपा तालमेलबाट प्रतिनिधिसभा सदस्यमा साँवा, प्रदेश १ मा राधाकृष्ण खनाल र प्रदेश २ मा भक्ति सिटौला हुनुहुन्छ ।

क्षेत्र नं ४ मा पुरुषतर्फ ६२ हजार २२, महिला ६१ हजार एक सय एक र अन्य एक गरी एक लाख २३ हजार एक सय २४ मतदाता रहेको र ६३ मतदानस्थल र एक सय ४९ मतदान केन्द्र रहेका छन् ।

झापा ४ मा शिवसताक्षी नगरपालिका, झापा गाउँपालिका, कनकाई नगरपालिका–१, २, ३, ४, ५, ६ र ७ नम्बर वडा, गौरादहको वडा नम्बर ९ र गौरीगञ्जको १ र २ नं. वडा पर्छ । गत स्थानीय तह निर्वाचनको मत परिणाम अनुसार यो क्षेत्रमा २८ मध्ये एमाले १५ वटा वडा, कांग्रेस ११, माओवादी केन्द्र एक र स्वतन्त्र उम्मेदवारले एक वटा जितेको छ । स्थानीय तह निर्वाचनमा यहाँ एमालेका वडाध्यक्षका उम्मेदवारले ३१ हजार दुई सय ७३, कांग्रेस–माओवादीसहितको गठबन्धन दलका वडाध्यक्षका उम्मेदवारले ३२ हजार आठ सय ९२, राप्रपाका वडाध्यक्षका उम्मेदवारले चार हजार पाँच सय ५६ मत पाएका थिए । -(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।