मोरङ–६ मा निर्वाचनको अलग्गै चर्चा

मोहम्मद सदरुल/विराटनगर, १ मङ्सिर । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत मोरङको निर्वाचन क्षेत्र नं ६ धेरैको चासो र चर्चाको विषय बनेको छ ।

यो क्षेत्रमा नेपाली कांग्रेसका नेता डा शेखर कोइराला लोकतान्त्रिक–वाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्यको साझा उम्मेदवार हुनुहुन्छ भने उहाँका प्रमुख प्रतिस्पर्धीका रुपमा नेकपा (एमाले) स्थायी कमिटी सदस्य लालबाबु पण्डित हुनुहुन्छ । पूर्वमन्त्री पण्डितसँगै यसअघि विसं २०७४ को निर्वाचनमा कोइराला पराजित हुनुभएको थियो ।

शान्ति प्रक्रियादेखि राष्ट्रिय राजनीतिमा चर्चामा रहेको कोइराला परिवारको विरासतका रूपमा डा कोइरालाले आफूलाई स्थापित गराउन चाहनुहुन्छ । यसकारण पनि मोरङ निर्वाचन क्षेत्र नं ६ को चर्चा बढी देखिन्छ ।

पूर्वमन्त्री पण्डित पनि एमाले पार्टीभित्र चर्चामा रहने नेता हुनुहुन्छ । पाँच वर्षपछि अहिले उहाँ दुवै जना निर्वाचन क्षेत्रमा आमसामने देखापरेका छन् । यी दुई यस क्षेत्रका चिरपरिचित उम्मेदवारका बीचमा प्रतिस्पर्धा हुन गइरहेको छ ।

निर्वाचन नजिकिएसँगै डा कोइरालाको पक्षमा जनमत बढ्दै गएको उहाँका समर्थक एवं शुभचिन्तकहरू बताउँछन् । उता पण्डितका समर्थकहरू पनि आफ्नो अवस्था बलियो भएको बताउँछन् ।

विराटनगरको पुराना व्यक्ति तथा प्राज्ञिक वर्गले यस क्षेत्रबाट कोइरालाले विजयी भएमा विराटनगरको गुमेको साख फर्किने दाबी गर्छन् । उनीहरूले विराटनगर दोस्रो सहरबाट छैटौँ–सातौँमा पुगिसकेको अवस्थामा विराटनगरलाई पहिलेकै अवस्थामा फर्काउन कोइरालाको जित आवश्यक रहेको धारणा छ ।

विगतमा विराटनगरको एक अलग्गै पहिचान थियो । आज विराटनगरले सोचेको कुरा देशले भोलि मात्र सोच्छ भन्ने गरिएको हिजोको अवस्था आज नरहेको धेरैको भनाइ छ । राष्ट्रिय राजनीतिमा सशक्त उपस्थितिको अभावले दिनप्रतिदिन विराटनगर पछि परेको विराटनगरवासी बताउने गरेका छन् ।

आर्थिक, सामाजिक र राजनीतिकरूपमा विराटनगरलाई प्रदेशकै नमूना सहरका रूपमा विकास गर्न सक्ने एजेण्डा आफूसँग रहेको डा कोइराला बताउनुहुन्छ । नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार रहेका डा कोइरालाले पुरानो सहर विराटनगरलाई अब नयाँ ढङ्गले सोचेर कार्यक्रम ल्याउनुपर्ने खाँचो रहेको र यस्तो पुनःस्थापनाको खाका आफूसँग रहेको बताउनुहुन्छ ।

बुधबार गछियाको चुनावीसभामा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शेखर कोइरालालाई शान्ति सम्झौताका नायक भएको चर्चा गर्दै उहाँलाई विराटनगरवासीले विश्वास गरेर विजयी गराउनुपर्ने धारणा राख्नुभएको थियो ।

उता एमालेका उम्मेदवार पण्डित पनि आफूले केही नयाँ कार्यको थालनी अघिल्लो कार्यकालदेखि गरेको र आगामी दिनमा तिनलाई पूर्णता दिनुपर्ने भन्दै मतदातालाई आफूलाई पुनः एकपटक विजयी गराउन आग्रह गर्नुहुन्छ ।

विगतको भन्दा फरक शैली अपनाएर चुनावी मैदानमा उत्रेका उम्मेदवारहरू निर्वाचन आचारसंहिता पालनासहित मतदातालाई खुसी पार्न घर–घरमा पुगेका छन् । उनीहरूले मतदाता शिक्षालाई व्यवस्थित गर्न कार्यकर्तालाई निर्देशन पनि दिइरहेका छन् ।

जनसभा र आमसभाभन्दा पनि घरदैलो र कोणसभामा मात्र देखिने उम्मेदवारहरू बिहानदेखि बेलुकैसम्म भेटघाट, चुनावी रणनीति, प्रचार–प्रसार तथा कार्यकर्ता र मतदाताका गुनासो एवं माग गहनरूपमा सुनिरहेको पाइन्छ ।

यही क्षेत्रमा प्रतिनिधिसभामा मङ्गोल नेश्नल अर्गनाइजेशनका मोहनबहादुर राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका गोपाल क्षेत्री, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका दुखाराम माझी, जनमत पार्टीका बुद्धिराम माझी, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका राजु मण्डल, जनता प्रगतिशील पार्टी नेपालका प्रशान्त ठाकुर, बहुजन शक्ति पार्टीका नारायण पासवान, हाम्रो नेपाली पार्टीका टेकबहादुर अधिकारी क्षेत्री, राष्ट्रिय स्वतन्त्र पार्टीका यादवकुमार प्रधान, नागरिक उन्मुक्ति पार्टीका बलराम खवास र नेपाल मजदुर किसान पार्टीका चिरञ्जीवी खतिवडा उम्मेदवार हुनुहुन्छ । सबै उम्मेदवारले जनतालाई आ–आफ्ना पक्षमा आकर्षित गराउने पक्षमा कसरत गरिरहेका छन् ।

कूल एक लाख २६ हजार सात सय ६१ मतदाता रहेको यस क्षेत्रको प्रदेशसभा (१)मा ७८ हजार नौ सय ६४ र (२)मा ४७ हजार सात सय ९७ मतदाता रहेको प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ । यही क्षेत्रमा मतदानस्थल ३९ र मतदान केन्द्र एक सय ४१ छन् । कार्यालयका अनुसार यस क्षेत्रमा बूढीगङ्गा गाउँपालिकाका सबै वडा, विराटनगर महानगरपालिकाका वडा नं ४, ५, ६, ७, ९, ११ र १२ तथा सुन्दर हरैँचा नगरपालिकाका वडा नं २, ३, ४, ५, ६ र ७ पर्दछन् ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।