एमाले सचिव योगेश भट्टराई २०८ मतान्तरले विजयी
ताप्लेजुङ, ७ मंसिर । एमाले सचिव योगेश भट्टराई प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । ताप्लेजुङबाट उम्मेदवार बनेका उनले माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्रीलाई पराजित गरेका हुन् ।
भट्टराईले २१ हजार नौ सय ४३ र बुढाक्षेत्रीले २१ हजार सात सय ३५ मत पाएका छन् । मतगणना सकिए पनि वियजी हुने उम्मेदवारको औपचारिक घोषणा भने गरिएको छैन ।
बुढाक्षेत्रीलाई सत्ता गठबन्धनको समर्थन थियो । भट्टराई २०७४ मा पनि ताप्लेजुङबाटै निर्वाचित भएका थिए । त्यसअघि दुईवटा निर्वाचनमा उनी काठमाडौं ६ बाट पराजित भएका थिए ।
सर्लाही–१ प्रदेश (२) बाट एकीकृत समाजवादीकी लुङ्गेली विजयी
सर्लाही, ७ मङ्सिर (रासस)ः सर्लाही क्षेत्र नं १ प्रदेशसभा (२) मा नेकपा (एकीकृत समाजवादी)की बेची लङ्गेली प्रदेशसभा सदस्यमा विजयी हुनुभएको छ । उहाँले नेकपा एमालेकी शान्ति लामालाई फराकिलो मतान्तरले पराजित गर्दै दोस्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।
आज बिहान सार्वजनिक मतपरिणाअनुसार लामालाई छ हजार छ सय ९९ मतान्तरले पराजित गर्नुभएकी लुङ्गेलीले १३ हजार छ सय ७६ मत पाउनुभएको थियो । लामाले भने छ हजार नौ सय ७७ मत मात्र प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
त्यस्तै स्वतन्त्रतर्फको जेब्रा चुनाव चिह्नबाट स्वतन्त्र उम्मेदवार राजनकुमार श्रेष्ठले पनि पाँच हजार नौ सय ४५ मत ल्याउनुभयो । जिल्लाको निर्वाचन क्षेत्र नं १ को (२) बाट अघिल्लो निर्वाचनमा नेकपा एमालेबाट विजयी हुनुभएकी लङ्गेली पार्टी विभाजन भएपछि नेकपा(एकीकृत समाजवादी) पार्टीमा लाग्नुभएको थियो ।


