तेस्रो पटक संसद्मा प्रखररुपमा प्रस्तुत हुँदै एमाले उपमहासचिव गुरुङ

लमजुङ, १० मङ्सिर । लामो समयदेखि नेकपा (एमाले)को राजनीतिमा सक्रिय उपमहासचिव पृथ्वीसुब्बा गुरुङ सातौँ प्रयासमा तेस्रो पटक संसद् प्रवेश गर्नुहुने भएको छ । लमजुङको प्रतिनिधिसभा सदस्य निर्वाचनको गए राति सम्पन्न मत परिणामअनुसार माओवादी केन्द्रका उम्मेदवार देवप्रसाद गुरुङलाई तीन हजार एक सय ८८ मतान्तरले पछि पार्दै गुरुङ विजयी हुनुभएको हो ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख नारायणप्रसाद सापकोटाका अनुसार विजयी गुरुङले ३४ हजार नौ सय ६९ मत प्राप्त गर्नुभएको छ भने पराजित माओवादी केन्द्रका गुरुङले ३१ हजार सात सय ८१ मत प्राप्त गर्नुभएको छ । कूल एक लाख ३३ हजार पाँच सय ५९ मतदाता रहेकामा ८० हजार एक सय ९२ मत खसेको थियो । विसं २०७४ मा एमाले र नेकपा (माओावदी केन्द्र)बीच तालमेल थियो । उक्त निर्वाचनमा पृथ्वीसुब्बा लमजुङ प्रदेशसभा (२) बाट उम्मेदवार तथा देवप्रसाद प्रतिनिधिसभा सदस्यका उम्मेदवार बन्दै विजयी हुनुभएको थियो । पृथ्वीसुब्बा गण्डकी प्रदेशको मुख्यमन्त्री बन्न सफल हुनुभयो भने, देवप्रसाद सांसद बन्नुभयो ।

विसं २०७४ को निर्वाचनमा एक अर्काको सहयोगी बनेर दुवैजना कांग्रेसविरुद्ध उभिनुभएको थियो । यस पटक भने, माओवादी केन्द्र कांग्रेसलगायत गठबन्धनसँग मिलेर एमालेविरुद्ध नै प्रतिस्पर्धामा उत्रिएको थियो । जिल्लामा यी दुई कम्युनिष्ट नेताबीच पहिलो पटक प्रतिस्पर्धा भएको हो । पृथ्वीसुब्बा २०६४ सालमा लमजुङ क्षेत्र नं २ बाट कांग्रेसका दिलबहादुर घर्तीलाई छ हजार बढी मतान्तरले हराउँदै विजयी हुनुभएको थियो ।

तत्कालीन गिलुङ गाविस–८, टक्सार हाल क्व्होलासोथर गाउँपालिका–९ गिलुङमा २०१४ सालमा गङ्गाप्रसाद र चिनी गुरुङको सन्तानका रुपमा पृथ्वीसुब्बा जन्मिनुभएको हो । उहाँको राजनीतिक यात्रा २०२७ सालमा इशानेश्वर प्रमोद हाईस्कुल, भोर्लेटारबाट सुरु भएको हो । उहाँ त्यो बेला अनेरास्ववियुका तर्फबाट स्ववियु सचिवमा निवार्चित हुनुभयो ।

विज्ञान विषयमा स्नातक तह उत्तिर्ण गर्नुभएका गुरुङ सुरुमा शिक्षण पेसामा आबद्ध हुनुभयो । विसं २०४० मा उहाँ नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको जिल्ला अध्यक्षमा निवार्चित हुनुभएको थियो । एमालेको दसँै महाधिवेशनबाट गुरुङ उपमहासचिवमा निर्वाचित हुनुभएको हो । त्यसअघि उहाँ पार्टीको सचिव हुनुहुन्थ्यो ।

गुरुङ २०४८, २०५१, २०५६ र २०७० सालमा सम्पन्न निर्वाचनमा पराजित हुनुभएको थियो । विसं २०६४ मा गुरुङ नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हुनुभयो । गुरुङ २०४३ सालमा पञ्चायती व्यवस्थामा तत्कालीन नेकपा मालेका तर्फबाट जनपक्षीय उम्मेदवारका रूपमा निर्वाचनमा होमिनुभएको थियो । उहाँ कारागारबाटै उम्मेदवार बन्नुभएको थियो । तर उहाँ पराजित हुनुभयो । गुरुङले आदिवासी जनजाति महासङ्घको नेतृत्वसमेत गरिसक्नुभएको छ ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।