जुनसुकै भूमिका निर्वाह गर्न हामी तयार छौँ : उपाध्यक्ष नेम्वाङ

काठमाडौँ, १२ मङ्सिर । नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङले निर्वाचनको परिणामले लोकतन्त्रको सुन्दर र स्वस्थ्य प्रतिस्पर्धाको राजनीति अघि बढ्ने सन्देश दिएको बताउनुभएको छ ।

इलामबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भई काठमाडाँै आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रासससगँ कुराकानी गर्दै उहाँले निर्वाचनले दलहरू मिलेर देश र जनताकाहितमा काम गर्न प्रष्ट सन्देश दिएको उल्लेख गर्नुभयो ।

संविधानसभा अध्यक्ष नेम्वाङले भन्नुभयो, “जनताले सुनाएको निष्कर्षबाट निषेधको राजनीति पराजित भएको छ, जनताका अगाडि धेरै विषय र प्रश्न थिए । निर्वाचनले दिएको निष्कर्षले जनताको विजय भएको छ ।” लोकतन्त्रमा विश्वास गर्ने शक्ति जनादेशअनुसार चल्नुपर्नेमा जोड दिँदै पूर्वसभामुख नेम्वाङले जनताले दलहरू मिलेर देश र जनताको हितमा काम गर्न दिएको निष्कर्ष अनुरुप आफ्नो दल अघि बढ्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “मलाई विश्वास छ, हामी मिलेर अघि बढ्दा मात्रै देश ठीक दिशातर्फ अघि बढछ ।” अहिलेको सफल निर्वाचनले संविधान कार्यान्वयन गर्न राम्रो वातावरण प्रदान गरेको बताउँदै नेता नेम्वाङले भन्नुभयो, “संविधान र नयाँ जनादेशको सन्देशअनुरुप जुनसुकै भूमिका निर्वाह गर्न हामी तयार छौँ ।” मिश्रित निर्वाचन प्रणालीबाट आएको परिणामले कुनै अस्थिरता ननिम्त्याउने स्पष्ट पार्दै पूर्वसभामुख नेम्वाङले राष्ट्र र जनहितलाई केन्द्रमा अघि बढ्न सबै राजनीतिक दललाई सुझाव दिनुभयो ।(रासस)

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि तयार
–सिबी अधिकारी, काठमाडौँ, १२ मङ्सिर (रासस) :
राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको पोखरा क्षेत्रीय/अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि तयार भएको छ । पोखरा विमानस्थल सञ्चालनयोग्य भएसँगै मुलुकमा अन्तर्राष्ट्रिय विमानस्थलको सङ्ख्या तीन पुगेको छ ।

विमानस्थलमा एकसाता लामो यान्त्रिक परीक्षण उडान ‘क्यालिब्रेसन फ्लाइट’ सफलतापूर्वक सम्पन्न भएसँगै अन्तर्राष्ट्रिय उडानका लागि तयार भएको नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान) का प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिनुभयो । “पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यान्त्रिक उडान सफलताका साथ सम्पन्न भइसकेको छ”, उहाँले भन्नुभयो, “यान्त्रिक उडानको प्रतिवेदन १५ दिनभित्र आएपछि सार्वजनिक गरिनेछ ।”

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७१ वर्षपछि मुलुकभित्र दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको थियो । त्यसको छ महिनापछि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनयोग्य भएको हो । एरोथाई कम्पनीको जहाजले यही मङ्सिर ५ देखि ११ सम्म यान्त्रिक उडान गरेको थियो । यान्त्रिक उडान विमानस्थलमा जडान भएका सञ्चार उपकरणले काम गरे÷नगरेको परीक्षणका लागि गरिन्छ । यान्त्रिक उडानमार्फत पोखरा विमानस्थलमा रहेका एयर ट्राफिक कन्ट्रोलर, टावर, धावनमार्ग र विमानस्थलमा जडान भएका सञ्चार उपकरण परीक्षण गरिएको क्यानले जनाएको छ । यान्त्रिक परीक्षण सफल भएपछि मात्रै व्यावसायिक उडान सञ्चालन गरिने अन्तराष्ट्रिय अभ्यास छ ।

क्यानले आगामी पुस १७ देखि पोखरा विमानस्थलमा व्यावसायिक उडान सञ्चालन गर्ने घोषणा गरिसकेको छ । प्राधिकरणकको राष्ट्रिय गौरवका आयोजना निर्देशक बाबुराम पौडेलले यान्त्रिक परीक्षणको प्रतिवेदन क्यानले स्वीकृत गरेपछि एरोनोटिकल इन्फर्मेसन पब्लिकेसन (एआइटी) मा प्रकाशन गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “प्रतिवेदनका आधारमा अन्तर्राष्ट्रिय विमान कम्पनीहरुमा विमानस्थल सम्पूर्ण हिसाबले उडानका लागि तयार भएको जानकारी लिन्छन् र पोखरा गन्तव्यमा उडान गर्नसक्छन् ।”

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख विक्रम गौतमले आफूहरु विमानस्थल सञ्चालनको तयारीमा लागेका र कुनै पनि किसिमका कमजोरी हुन नदिन विमानस्थल प्रतिबद्धताका साथ लागेको बताउनुभयो । हाल विमानस्थल सञ्चालनका लागि आवश्यक जनशक्तिको व्यवस्थापन भइसकेको छ । अध्यागमन, भन्सार, मेडिकल, सुरक्षा व्यवस्थालगायत सम्पूर्ण तयारी एक महिनाभित्र पूरा हुने उहाँले जानकारी दिनुभयो ।

तीन हजार नौ सय रोपनी क्षेत्रफलमा फैलिएको पोखरा विमानस्थल झण्डै २२ अर्ब लागतमा निर्माण भएको छ । विमानस्थलमा दुई हजार पाँच सय मिटर लम्बाई र ४५ मिटर चौडाइको धावनमार्ग रहेको छ । उडान सञ्चालनअघि विमानस्थलको पूर्वपट्टि पर्ने रिट्ठेपानी डाँडा कटानको पहिलो चरणअन्तर्गत १६ मिटर कटान कार्य सकिएको प्राधिकरणले जनाएको छ । धावनमार्गको ‘अप्रोच’ पर्ने भएकाले ४० मिटर डाँडा काटेर समतल बनाइनेछ । बाँकी २४ मिटर काट्न बाँकी छ ।

ठेकेदार कम्पनी उमा एण्ड गाल्भा जेभीसँग वैशाखसम्ममा डाँडा कटान गरिसक्नुपर्ने सम्झौता छ । विमामनस्थल सञ्चालनका लागि चुनौतिका रुपमा रहेको ल्यान्डफिल साइटमा मङ्सिर १८ बाट फोहर फाल्न बन्द गर्ने जानकारीसहितको पत्र पोखरा महानगरपालिकाले विमानस्थल आयोजनालाई पठाइसकेको छ । हाल विमानस्थलबाट दुई किमि टाढा रहेको ल्यान्डफिल साइट रिट्ठेपानी डाँडा कटानबाट निस्किएको माटोले पुर्ने काम भइरहेको महानागरले जनाएको छ ।

पहिलो उडान बुद्ध एयरको

नवनिर्मित पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय उडानका लागि बुद्ध एयरले आवश्यक तयारी गरिरहेको छ । यसका लागि बुद्ध एयरले क्यानसमक्ष उडान अनुमतिका लागि निवेदन दिएको छ । कम्पनीले पोखरादेखि भारतका बनारस, दिल्ली र देहरादुनमा उडान गर्ने योजना बनाएको छ । जसअन्तर्गत पोखरा विमानस्थलबाट हुने पहिलो उडानका रूपमा बुद्ध एयरले पोखरा–बनारस–पोखरा उडान गर्नेछ ।

विमानस्थलमा अन्तर्राष्ट्रिय उडान ‘सिङ्गल अप्रोच’ बाट हुनेछ । पूर्वपट्टिबाट मात्रै अन्तर्राष्ट्रिय जहाजले उडान र अवतरण गर्नेछन् । आन्तरिकतर्फ रन–वेको दुवैतर्फबाट उडान तथा अवतरण गर्न मिल्छ । विमानस्थलमा साना र ठूला गरी ११ जहाज पार्किङ गर्न सकिनेछ । आन्तरिकतर्फ दैनिक ४८ र अन्तर्राष्ट्रियतर्फ ६ वटा उडान तथा अवतरण गर्ने क्यानको तयारी छ । विमानस्थलसँग वार्षिक आठ लाख यात्रुलाई सेवा दिनसक्ने क्षमता छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।