खोटाङमा चाहिएको समयमा एम्बुलेन्स उपलब्ध नहुँदा सास्ती

खोटाङ, २७ माघ (रासस) :छ वर्षअघि खोटाङ सेवा समाज बेलायतले जिल्लाका लागि सात एम्बुलेन्स एकसाथ उपलब्ध गरायो । खोटाङमा जन्मिएर रोजगारीको सिलसिलामा बेलायतमा बासोबास गर्दै आएकाहरुले स्थापना गरेको समाजले दुई प्राथमिक स्वास्थ्य केन्द्र र पाँच स्वास्थ्यचौकीलाई रु एक करोड १२ लाखमा खरिद गरिएका ती एम्बुलेन्स उपलब्ध गराएको हो ।

जन्तेढुङ्गा गाउँपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र चिसापानी, ऐसेलुखर्क गाउँपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्क, दिप्रुङ चुइचुम्मा गाउँपालिकाको डाँडागाउँ स्वास्थ्यचौकी, केपिलासगढी गाउँपालिकाको बाक्सिला स्वास्थ्यचौकी, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको बुइपा स्वास्थ्यचौकी, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाकै निर्मलीडाँडा स्वास्थ्यचौकी र खोटेहाङ गाउँपालिकाको सिम्पानी स्वास्थ्यचौकीलाई एम्बुलेन्स उपलब्ध गराइएको थियो । जिल्लामा भरपर्दो अस्पताल नहुँदा सामान्य रोगका बिरामीलाई उपचारका लागि अन्यत्र लैजानुपर्ने बाध्यता छ । तर चाहिएका बेला ती एम्बुलेन्स भने उपलब्ध हुँदैनन् ।

ऐसेलुखर्क, लामाखु र सिम्पानीको एम्बुलेन्स लामो समयदेखि बिग्रिएर थन्किएका छन् । एम्बुलेन्स मर्मत गरेर पुनः सञ्चालनमा ल्याउन अहिलेसम्म कसैको ध्यान गएको छैन । ऐँसेलुखर्कको ग्यारेजमा चार वर्षदेखि थन्किएको एम्बुलेन्स मर्मत खर्च बढी लाग्ने भएकाले त्यतिकै रहेको गाउँपालिका प्रमुख गीरेन्द्रबहादुर राईले जानकारी दिनुभयो । “एम्बुलेन्स मर्मत गर्न रु छ लाख बढी खर्च लाग्छ”, उहाँले भन्नुभयो ।

लामाखुको एम्बुलेन्स तीन वर्ष अगाडि सिराहाको कञ्चनपुरमा दुर्घटनामा परेपछि उतै थन्किएको एम्बुलेन्स सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष मिलनचन्द्र राईले जानकारी दिनुभयो । “उक्त एम्बुलेन्स पुनः सञ्चालनमा आउने सम्भावना कम छ”, उहाँले भन्नुभयो ।

यस्तै सिम्पानीको एम्बुलेन्स बिग्रिएर थन्किएको दुई वर्ष भएको गाउँपालिका अध्यक्ष उदिमबहादुर राईले बताउनुभयो । खर्च व्यवस्थापन गरेर बिग्रिएको एम्बुलेन्स पुनः सञ्चालनमा ल्याउन पहल भइरहेको उहाँको भनाइ छ । चिसापानी, डाँडागाउँ, बाक्सिला बजार र बुइपाको एम्बुलेन्स भने हालसम्म सञ्चालनमा छन् । तर उचित व्यवस्थापन नहुँदा बिरामीलाई आवश्यक परेका बेला भने ती उपलब्ध नहुने सेवाग्राहको आरोप छ ।

जिल्ला अस्पताल, बुइपा, ऐँसेलुखर्क, केपिलासगढी, जन्तेढुङ्गा, दिप्रङ चुइचुम्मा, बराहपोखरी र साकेला गाउँपालिकामा पनि हाल एम्बुलेन्स सञ्चालनमा छन् । बराहपोखरी, दिप्रुङ चुइचुम्मा, रावाबेँसी, ऐसेलुखर्क र साकेलाले आफ्नै पहलमा पनि एम्बुलेन्स खरिद गरेर सञ्चालनमा ल्याएका छन् ।

खोटाङ सेवा समाज बेलायतले दिएको सातबाहेक जिल्लामा अन्य नौ एम्बुलेन्स छन् तर चाहिएको समयमा उपलब्ध नभएको उपभोक्ताको गुनासो छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिक्तेल रुपाकोट मझुवागढी–५ लफ्याङका लागि उपलब्ध गराएको एम्बुलेन्स दिक्तेलस्थित रत्नपार्कमा बिग्रिएर थन्किएको छ । हलेसी तुवाचुङ नगरपालिकासित हालसम्म एम्बुलेन्स छैन । “उपलब्ध एम्बुलेन्स पनि बिग्रिएर काम नलाग्ने अवस्थामा छ”, स्थानीय चक्रबहादुर राईले भन्नुभयो ।

नेपाल रेडक्रस सोसाइटी खोटाङ शाखाको एम्बुलेन्स पनि बिग्रिएको छ । केही समय अगाडि काभ्रेको धुलिखेलमा दुर्घटनामा परेपछि हाल मर्मत भइरहेको रेडक्रस खोटाङका सभापति ज्ञानेन्द्र जोशीले बताउनुभयो । जिल्लामा रहेका एम्बुलेन्स चालु अवस्थामा राख्न सम्बन्धित पक्षलाई आग्रह गरिएको जिल्ला समन्वय समितिका प्रमुख एवं अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष सनबहादुर राईको भनाइ छ ।

“सबै ठाउँमा पर्याप्त स्वास्थ्य सेवा उपलब्ध छैन । जुनसुकै समयमा पनि समस्या आउन सक्छ”, उहाँले भन्नुभयो, “सम्भावित घटनाबाट बचाउन उपलब्ध एम्बुलेन्स चालु अवस्थामा राख्न सम्बन्धित पक्षलाई आग्रह गरेको छु ।” जिल्लाका अधिकांश सडक कालोपत्र नगरिएकाले एम्बुलेन्स सञ्चालनमा समस्या आएको उहाँको भनाइ छ । भएका एम्बुलेन्स पनि उचित व्यवस्थापन नहुँदा चाहिएको समयमा उपलब्ध हुन मुस्किल हुने गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।